मत्ती २८ः२० ले भन्छ कि चेलाहरुलाई हाम्रा प्रभुले दिनुभएको प्रत्येक आज्ञा पालन गर्न र अभ्यास गर्न सिकाइनु पर्छ । यो चेलापनको मार्ग हो । येशूले दिनु भएका केही आज्ञाहरु हेर्नको लागि केवल मत्ती अध्याय ५, ६ र ७ पढ्नुपर्छ - जुन आज्ञाहरु धेरैजसो विश्वासीहरुले पालन गर्न पनि कष्ट गर्दैनन् । चेला भनेको सिकारु र अनुयायी हो ।
आवश्यकता ती मानिसहरुको हो जो परमेश्वरको सम्पूर्ण सल्लाह घोषणा गर्ने बोलावटबाट प्रभावित भएका छन्, जो आफैं येशूले आज्ञा गर्नुभएका सबै कुराहरुप्रति आज्ञाकारी छन्, र जो अरुलाई पनि येशूका सबै आज्ञाहरु पालन गर्न सिकाउन उत्सुक छन् - र यसरी ख्रीष्टको शरीर निर्माण गर्छन् ।
येशूले भन्नुभयो कि उहाँका सबै चेलाहरु एउटै चिन्हले चिनिनेछन् - एकअर्का प्रतिको प्रेम (यूहन्ना १३ः३५) । त्यो लेखेर राख्नुहोस् । येशू ख्रीष्टका चेलाहरुलाई प्रचार वा संगीतको गुणस्तरले चिनिँदैन, न त उनीहरुले बोल्ने "अन्य भाषाले", न त उनीहरुले संगतीमा बाइबल बोकेर जाने कुराले, न त उनीहरुले आफ्नो सभामा निकाल्ने आवाजको मात्राले । तिनीहरु एकअर्का प्रतिको तिनीहरुको उत्कट प्रेमबाट चिनिन्छन् ।
मानिसहरुलाई ख्रीष्टकहाँ ल्याउने सुसमाचारीय सभाले त्यो इलाकामा एउटा मण्डली खडा गर्न नेतृत्व गर्नुपर्छ, जहाँ चेलाहरुले एकअर्कालाई प्रेम गर्छन् । तर दुःखको कुरा के छ भने धेरै ठाउँहरुमा जहाँ वर्षौंदेखि बारम्बार सुसमाचारीय सभाहरु आयोजना गरिन्छ, त्यहाँ एउटा पनि मण्डली भेट्टाउन गाह्रो छ जुन ठाउँको बारेमा यो भन्न सकिन्छ कि त्यहाँका सदस्यहरु एकअर्कासँग झगडा गर्दैनन् वा एक अर्काको विरुद्धमा निन्दा गर्दैनन्, आदि, तर एकअर्कालाई प्रेम गर्छन् ।
यदि नयाँ धर्म परिवर्तन गर्नेहरु तुरुन्तै यस्तो विजयी जीवन बिताउन असमर्थ छन् भने, कसैले यसलाई बुझ्न सक्छ । तर हाम्रो देशका मण्डलीहरुमा एल्डरहरु र ख्रीष्टियान अगुवाहरुमा पनि कलह र अपरिपक्वता देखिन्छ भने हामीले के भन्ने ?
यो सबैभन्दा स्पष्ट प्रमाण हो कि महान् आज्ञाको (मत्ती २८ः१९,२० मा उल्लेख गरिएको) दोस्रो र सबैभन्दा महत्वपूर्ण भाग - चेलापन र येशूका आज्ञाहरुको पूर्ण पालना - लाई पूर्णरुपमा बेवास्ता गरिएको छ ।
महान् आज्ञाको पहिलो भाग (मर्कूश १६ः१५) लाई मात्र प्रायः सबैतिर जोड दिइन्छ । त्यहाँ, सुसमाचार प्रचारमा जोड दिइएको छ, प्रभुद्वारा गरिएका चिन्हहरु र आश्चर्यकर्महरु द्वारा सन्देशलाई पुष्टि गरिएको छ ।
यद्यपि, मत्ती २८ः१९,२० मा चेलापनमा जोड दिइएको छ - चेलाको जीवन येशूका आज्ञाहरुको पूर्ण पालनाद्वारा प्रकट हुन्छ । धेरै ख्रीष्टियानहरुले पहिलोलाई स्वीकार गर्छन्, तर पछिल्लोलाई धेरै नै कमले स्वीकार गर्छन् । तर पछिल्लो बिनाको पहिलो आधा मानव शरीर जत्तिकै अपूर्ण र बेकार हुन्छ । तर कतिजनाले यो देखेका छन् ?
येशूको सेवकाईमा, हामी पढ्छौं कि उहाँको सुसमाचारीय, निको पार्ने सेवकाईको कारणले गर्दा ठूलो भीडले उहाँलाई पछ्याए । उहाँले सधैं फर्केर चेलापनको बारेमा तिनीहरुलाई सिकाउनुभयो (लूका १४ः२५,२६ हेर्नुहोस्) । आजका प्रचारकहरुले पनि त्यस्तै गर्थे होलान् - या त आफैंले, वा प्रेरितहरु, अगमवक्ताहरु, शिक्षकहरु र गोठालाहरुसँग मिलेर, जसले प्रचारकहरुले सुरु गरेका कामहरु पूरा गर्न सक्छन् ।
प्रचारकहरु चेलापनको सन्देश घोषणा गर्न किन हिचकिचाउँछन् ? किनकि यसले तिनीहरुका मण्डलीमा संख्या घटाउनेछ । तर उनीहरुले के बुझ्दैनन् भने उनीहरुको मण्डलीको गुणस्तर धेरै राम्रो हुनेछ !!
जब येशूले भीडलाई चेलापनको प्रचार गर्नुभयो, त्यो चाँडै नै केवल एघार जना चेलाहरुमा झरेर गयो (यूहन्ना ६ः२ लाई ६ः७० सँग दाँज्नुहोस्) । अरुले सन्देशलाई धेरै गाह्रो पाए र उहाँलाई छोडे (यूहन्ना ६ः६०, ६६ हेर्नुहोस्) । तर उहाँसँगै रहने ती एघार चेलाहरु द्वारा परमेश्वरले अन्ततः संसारमा आफ्नो उद्देश्य पूरा गर्नुभयो ।
आज पृथ्वीमा ख्रीष्टको शरीरको रुपमा, हामीले ती एघार प्रेरितहरुले पहिलो शताब्दीमा सुरु गरेको सेवकाईलाई निरन्तरता दिनुपर्छ । मानिसहरुलाई ख्रीष्टकहाँ ल्याएपछि, तिनीहरुलाई चेलापन र आज्ञाकारितातर्फ डोर्याउनुपर्छ । यसरी मात्र ख्रीष्टको शरीर निर्माण हुनेछ ।
जीवनको बाटो साँघुरो छ र त्यो भेट्टाउनेहरु थोरै मात्र छन् ।
जसको सुन्ने कान छ उसले सुनोस् ।