WFTW Body: 

येशूले हामीलाई सिकाउनुभयो कि हाम्रो भित्री मनुष्यत्वबाट पवित्र आत्मा बग्ने जीवनतर्फको पहिलो कदम भनेको पश्चाताप गर्नु वा फर्कनु हो (मत्ती ४ः१७) । पृथ्वीका चीजहरुको खोजी गर्ने कामहरुबाट मात्र होइन, तर सबैभन्दा बढी, पापबाट फर्कनु । पवित्र आत्मा प्राप्त गर्नु अघि हामीले पाप माथि विजय प्राप्त गर्नु पर्दैन । पाप माथि विजय प्राप्त गराउनको लागि हामीलाई सहयोग गर्न पवित्र आत्मा हामी भित्र आउनुहुन्छ । हामी घोडाको अगाडि गाडा राख्दैनौं । घोडा गाडाको अगाडि हुनुपर्छ । म पाप त्यागेर "प्रभु मलाई पवित्र आत्मा दिनुहोस्" भनी भन्न सक्दिन । बरु म भन्छु, "प्रभु, पाप माथि विजय प्राप्त गर्न मलाई पवित्र आत्मा चाहिन्छ ।" तर म मेरो मनमा पापबाट फर्कन सक्छु; यसको अर्थ मेरो मनोवृत्ति यो हो कि म साँच्चै सबै पाप त्याग्न चाहन्छु ।

परमेश्वरले तपाईंसँग केवल यति नै माग्दै हुनुहुन्छ । के परमेश्वरलाई अनादर गर्ने हरेक कुरा म त्याग्न चाहन्छु भन्ने मनोवृत्ति तपाईंमा छ ? तिनीहरुलाई वास्तविकरुपमै पार गर्नको लागि तपाईंलाई केही वर्ष लाग्नसक्छ, तर त्यसले केही फरक पार्दैन । तपाईंको मनोवृत्ति सधैं पश्चातापको होस् भन्ने कुरा सुनिश्चित गर्नुहोस्, जहाँ तपाईं आफ्नो पुरानो जीवनशैलीबाट फर्कनुहुन्छ । पश्चाताप र ख्रीष्टमा विश्वास मार्फत हामी ख्रीष्टियान दौडको सुरुवाती रेखामा पुग्छौं । हिब्रू १२ः१-२ ले भन्छ कि ख्रीष्टियान जीवन दौड जस्तै हो, र यदि मैले पश्चाताप गरेको छु भने मात्र म सुरुवाती रेखामा आउन सक्छु । पश्चाताप र पापबाट फर्कने त्यो सन्देशको अभाव आज ख्रीष्टियानजगतमा छ ।

पश्चातापको बारेमा तपाईंले कतिवटा सुसमाचारिय सन्देशहरु सुन्नुभएको छ ? पश्चातापको बारेमा कतिवटा गीतहरु सुन्नुहुन्छ ? कुनै पनि भजनसंग्रह हेर्नुहोस् र पश्चातापका कतिवटा गीतहरु छन् हेर्नुहोस् - मुश्किलले कुनै । विश्वासको बारेमा धेरै गीतहरु तपाईंले पाउनुहुनेछ । उदाहरणका लागि, एउटा प्रसिद्ध गीत छ जसले भन्छ, 'परमेश्वरको महिमा होस्, उहाँले महान् कामहरु गर्नुभएको छ' । त्यो गीतको एउटा पंक्तिमा भनिएको छ, "सबैभन्दा घिनलाग्दो अपराधी जसले साँच्चै विश्वास गर्छ, त्यो क्षण येशूबाट क्षमा प्राप्त गर्छ ।" म यसमा असहमत छु । मानौं एक जना मानिस बैठकमा उपस्थित छ - एक पूर्णरुपमा दुःखी पापी - जसलाई सुसमाचारको बारेमा केही पनि थाहा छैन । अनि ऊ त्यहाँ आउँछ र त्यो गीत सुन्छ - "सबैभन्दा नीच अपराधी जसले साँच्चै विश्वास गर्छ, त्यो क्षण येशूबाट क्षमा प्राप्त हुन्छ ।" उसले भन्छ, "हो, म सबैभन्दा घिनलाग्दो अपराधी हुँ," र उसले त्यो स्वीकार गर्छ र भन्छ, "मैले गर्नुपर्ने भनेको यति मात्र हो, केवल येशूमा विश्वास गर्नु । म उहाँमा विश्वास गर्छु, उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ मेरो पापहरुको लागि मर्नुभयो ।" के उसलाई क्षमा मिल्छ ? यदि उसले पश्चाताप गरेको छैन भने हुँदैन । क्षमा पाएको सबैभन्दा घिनलाग्दो अपराधी त्यो हो जसले पश्चाताप गर्छ र विश्वास गर्छ । धेरै मानिसहरुले भन्नेछन्, "'साँच्चै विश्वास गर्नु' को अर्थ यही हो" । तर त्यो एउटा धर्मशास्त्रीय व्याख्या हो जुन एक अपरिवर्तित, परमेश्वर विनाको पापीलाई थाहा हुँदैन । उसले पश्चाताप गर्नुपर्छ भनेर उसलाई भन्नु आवश्यक छ । पेन्तिकोसको दिनमा प्रेरित पत्रुसले यही कुरा स्पष्ट पारेः पश्चाताप । अनि पावलले सबै जगहमा यही प्रचार गरे । उसले दुईथोक प्रचार गरे - "परमेश्वरतर्फको पश्चाताप र हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास" (प्रेरित २०ः२१) ।

समृद्धि र चंगाईको लागि होइन, परमेश्वरको लागि पश्चाताप । पश्चाताप भनेको रोगबाट फर्केर चंगाईतिर फर्कनु होइन । म गरिबीबाट समृद्धितर्फ फर्किरहेको छैन । होइन ! त्यो झुटो सुसमाचार हो जुन आज प्रचार गरिँदैछ । यहाँ भनिएको छ कि म मेरो जीवनमा परमेश्वरको विरुद्धमा भएका सबै कुराहरुबाट परमेश्वर तर्फ पश्चाताप गर्छु र हाम्रा प्रभु येशू ख्रीष्टमा विश्वास गर्छु । थेसलोनिकीहरुलाई लेख्दा पावलले पनि यही कुरा भन्छन् । उहाँ तिनीहरुलाई भन्नुहुन्छ कि "परमेश्वरको वचन तिनीहरु कहाँ आयो र तिनीहरु परमेश्वर तिर फर्के, मूर्तिहरुबाट फर्केर जीवित परमेश्वरको सेवा गरे" (१ थेसलोनिकी १ः८-९) ।

मूर्ति भनेको के हो ? मूर्ति भनेको तपाईंको हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि चीज हो । यो तपाईंको स्वास्थ्य, तपाईंको धन, तपाईंको जागिर, तपाईंको घर, तपाईंको कार, तपाईंकी श्रीमती वा तपाईंका छोराछोरीहरु हुनसक्छ । तपाईंको हृदयमा परमेश्वरको स्थान लिने कुनै पनि कुरा हुनसक्छ । जसरी इसहाकले अब्राहामको हृदयमा परमेश्वरको स्थान लिए र परमेश्वरले अब्राहामलाई त्यो मूर्तिपूजा त्याग्न भन्नुभयो । मूर्तिहरु र परमेश्वरलाई तपाईंको हृदयमा पहिलो र सर्वोच्च हुनबाट रोक्ने सबै कुराबाट परमेश्वरतिर फर्कनु – त्यो पश्चाताप हो । परमेश्वरको राज्य र धार्मिकतालाई पहिले खोज्नुको अर्थ यही हो, यसरी नै हाम्रा सबै संसारिक आवश्यकताहरु हामीमा थपिनेछन् (मत्ती ६ः३३) । यदि तपाईंले पहिले परमेश्वरको राज्य खोज्नुहुन्छ भने, तपाईंलाई कहिल्यै पनि संसारिक आवश्यकताहरुको अभाव हुनेछैन भन्ने कुरामा तपाईं पूर्णरुपमा निश्चित हुन सक्नुहुन्छ - यदि तपाईं कहिल्यै करोडपति बन्नुभएन भने पनि, उहाँले तपाईंको संसारिक आवश्यकताहरु पूरा गर्नुहुनेछ । त्यसको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस् ।

हरेक ख्रीष्टियानले यसरी नै जिउनुपर्छ । आज ख्रीष्टियानहरुले भौतिक समृद्धि र शारिरीक चंगाईलाई परमेश्वरको आशिषको चिन्ह ठान्नु धेरै दुःखद कुरा हो । त्यो सत्य हुन सक्दैन किनभने धेरै गैर-ख्रीष्टियानहरु छन् जससँग आत्मिक ख्रीष्टियानहरु भन्दा धेरै बढी भौतिक समृद्धि र धेरै बढी शारिरीक स्वास्थ्य छ । त्यसले आफैंमा प्रमाणित गर्छ कि त्यो सुसमाचार होइन । यसबाहेक, उनीहरुसँग पापबाट त्यस्तो स्वतन्त्रता छैन जुन एक साँचो चेलासँग हुन्छ ।

येशूले पहिला घोषणा गर्नुभएको र हामीले घोषणा गरिरहनुपर्ने सन्देश पश्चाताप हो । जब येशूले भन्नुभयो, "मैले सिकाएको सबै कुरा तिनीहरुलाई गर्न सिकाओ," उहाँले के सिकाउनुभयो ? पहिलो चरण भनेको पापबाट फर्कनु, परमेश्वरतिर फर्कनु र स्वर्गको राज्यको लागि आफ्नो हृदय खोल्नु हो ताकि तपाईंको मन अब माथिका कुराहरुमा अडिएको होस्, परमेश्वरका कुराहरुमा - पवित्र आत्मामा धार्मिकता, शान्ति र आनन्द ।