द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च चेलाहरू
WFTW Body: 

मल्किसेदेक सम्पूर्ण बाइबलमा केवल तीन पदहरुमा देखा पर्दछ र तापनि हाम्रा प्रभुलाई उहाँको नामबाट प्रधान पूजाहारी भनिन्छ (उत्पत्ति १४ः१८-२०) ! मल्किसेदेकले के गरे जुन अचम्मको थियो ? मल्किसेदेकले अब्राहामका तीन वटै आवश्यकताहरु पूरा गरे, ती आवश्यकताहरुका बारेमा केही पनि थाहा नपाइकन, किनभने परमेश्वरले उहाँलाई जे गर्न भन्नुभएको थियो त्यही गरे ।

सबैभन्दा पहिले उनले अब्राहामको लागि केही खानेकुरा लिए । मल्किसेदेक एक समझदार मानिस थिए । उहाँ ती अति-आत्मिक प्रकारका मानिसहरु मध्येको एक हुनुहुन्नथियो जो आत्मिक मानिसहरु तपस्वी हुनुपर्छ भन्ने महसुस गर्छन् । उनले अब्राहामलाई उपवास र प्रार्थना गर्न भनेनन् तर उनलाई राम्रो खाना दिए ।

धेरै वर्ष पछि, जब एलिया थकित र निराश थिए परमेश्वरले उनको लागि पनि त्यस्तै गर्नुभयो । परमेश्वरले उहाँकहाँ एउटा स्वर्गदूत पठाउनुभयो, "उत्साह" दिएर होइन तर केही पौष्टिक खानाको साथ (१ राजा १९ः५-८) !

यो हाम्रो लागि पछ्याउनको निम्ति राम्रो उदाहरण हो - वाक्क र थकित भएका केही भाइ वा वहिनीहरुको लागि खाना लग्नको लागि । जब एक विश्वासी निराश वा निरुत्साहित हुन्छ, उसलाई चाहिने केवल केहि राम्रो खाना हुनसक्छ, एक उपदेश होइन, किनकि ऊ आत्मा र प्राणमात्र होइन, तर शरीर पनि हो । हामीले त्यो विर्सनु हुँदैन !

उसलाई खाना दिएपछि, मल्किसेदेकले अब्राहामलाई आत्मिक रुपमा पनि मद्दत गरे - उहाँलाई प्रचार गरेर होइन, तर अब्राहामको विजयको लागि परमेश्वरको प्रशंसा गरेर - दुई छोटो वाक्यमा ।

तिनले भने, "स्वर्ग र पृथ्वीका सृष्टीकर्ताका अब्राम धन्यका हुन्, र तिम्रा शत्रुहरुलाई तिम्रा हातमा सुम्पनुहुने परमेश्वर धन्यका हुन्" (उत्पत्ति १४ः१९,२०) ।

मल्किसेदेकले अब्राहाम र उनका सेवकहरुलाई खुवाउन सायद दुई घण्टा लगाए, त्यसपछि १५ सेकेण्ड परमेश्वरको प्रशंसा गरे । तर मल्किसेकेदको प्रशंसाको अभिव्यक्तिमा, अब्राहामले दुईवटा कुरा बुझे ।

सबैभन्दा पहिले, अब्राहामले आफू स्वर्ग र पृथ्वीको मालिक हुनुहुने परमेश्वरको हुँ भनी महसुस गरे । यसले उसलाई सदोमका राजाका सामानहरुको लालचबाट छुटकारा दियो जुन उसले भर्खरै पुनःप्राप्त गरेको थियो । सदोमको धनसम्पत्ति विचारणीय भएको हुनुपर्छ, किनकि सदोम धेरै धनी ठाउँ थियो, यद्यपि अब्राहामले देखे कि परमेश्वरको स्वामित्वमा रहेको स्वर्ग र पृथ्वीको तुलनामा ती सबै लुटपाटको माल बेकारको फोहोर जस्तै थियो । मल्किसेदेकले अब्राहामलाई उनी कसका हुन् भनी स्पष्टरुपमा बुझ्नलाई मद्दत गरे ।

यहाँ मल्किसेदेकको बुद्घिलाई ध्यान दिनुहोस् । उनले अब्राहामलाई यसो भन्दै प्रचार गरेनन्, "परमप्रभुले मलाई भन्नुभएको छ कि तिमी लोभी छौ र म तिमीलाई चेतावनी दिन उहाँबाट एउटा वचन लिएर आएको छु" ! होइन । स्वयम् नियुक्त "अगमवक्ताहरु" देखि होसियार रहनुहोस् जसले सधैं तपाईंको लागि "परमप्रभुको वचन" छ भनी दाबी गर्छन् ! त्यस्ता "अगमवक्ताहरु" झुटा अगमवक्ताहरु हुन् । मल्किसेदेकले अब्राहामको ध्यान लूटबाट परमेश्वर तर्फ फर्कायो । र अब्राहामको नजरमा "पृथ्वीका चिजहरु अनौठो रुपमा धमिलो हुन्छन्" । मानिसहरुलाई मद्दत गर्ने तरिका यही हो ।

दोस्रो, अब्राहामले स्पष्टरुपमा देखे कि यो उहाँ र उहाँका ३१८ सेवकहरुले ती राजाहरुलाई परास्त गर्नुभएन, तर परमेश्वर नै हुनुहुन्थ्यो । त्यो अर्को प्रकाश थियो, र यसले अब्राहामलाई घमण्डबाट बचायो । फेरि मल्किसेदेकले अब्राहामको ध्यान आफ्नो विजयबाट परमेश्वर तर्फ फर्काउन सफल भए !

सर्वोत्कृष्ट प्रचारक त्यो हो जसले हाम्रो ध्यान आफैंबाट र हाम्रा उपलब्धिहरुबाट परमेश्वर स्वयम्मा फर्काउन सक्छ ।

र अब हामी यो कथाको सबैभन्दा असल भागमा आउँछौं । अब्राहामलाई आशिर्वाद दिए पछि मल्किसेदेक गायब भए । हामीले उहाँको बारेमा बाइबलमा फेरि कहिल्यै पढ्दैनौं । उहाँको नाम एक प्रकारको ख्रीष्टको रुपमा मात्र देखिन्छ ।

मल्किसेदेकले त्यो विहान आफ्नो पालमा प्रार्थना गरिरहेको हुनुपर्छ, जब परमेश्वरले उहाँसँग बोल्नुभयो र उहाँलाई के गर्ने भन्नुभयो । उनले अब्राहामलाई चिन्दैनथिए, तर परमेश्वरलाई चिन्थे । र त्यो पर्याप्त थियो । के गर्ने भनेर परमेश्वरले उहाँलाई भन्नुभयो र उहाँलाई धेरैको निम्ति आशिष बनाउनुभयो ।

मल्किसेदेकको दर्जामा हामी पूजाहारीहरु कस्तो सेवामा बोलाइएका छौं ! हामीले मानिसहरुलाई शारिरीक र आत्मिक रुपमा आशिर्वाद दिनुपर्छ - र त्यसपछि हामीलाई धन्यवाद दिनु अघि नै गायब हुनुपर्छ !

के तपाईं मानिसहरुले आफूलाई परमेश्वरको महान् व्यक्ति हो भनी ठानून भन्ने चाहनुहुन्छ वा तपाईंसँग महान् परमेश्वर हुनुहुन्छ भनी तिनीहरुले जानून् भन्ने चाहनुहुन्छ । त्यहाँ धर्मकर्मको सेवा र आत्मिक सेवा बीचको भिन्नता छ । त्यहाँ हारुनको पूजाहारीगिरी र मल्किसेदेकको पूजाहारीगिरी बिचको भिन्नता छ । हारुन निरन्तर मानिसहरुको सामु देखा परे र तिनीहरुबाट सम्मान पाए । मल्किसेदेकले मानिसहरुको सेवा गरे र गायब भए !

यसरी नै येशूले उहाँको पार्थिव दिनहरुमा सेवा गर्नुभयो । उहाँ जीवनको लडाइँमा परेका मानिसहरुको आत्मिक र शारिरीक खाँचोहरु पूरागर्न घुम्नुभयो । उहाँले कोही उहाँको चंगाईको विज्ञापन भइदेओस् भनी कहिल्यै चाहनुभएन । उहाँ कहिल्यै चंगाईकर्ताको रुपमा चिनिन चाहनुभएन । उहाँ कहिल्यै राजा बन्न चाहनुभएन । उहाँ अरुहरुको सेवा गर्न र तिनीहरुको लागि आफ्नो जीवन दिन आउनुभयो । उहाँ चर्चित हुन चाहनुभएन । उहाँको पुनरुत्थान पश्चात, उहाँ परमेश्वर पुत्र हुनुहुन्थ्यो भनी प्रमाणित गर्नलाई हेरोद, वा पिलातस, वा अन्नास, वा कैयाफा सामु देखा पर्न पनि चाहनुभएन । उहाँ आफ्नो पुनरुत्थान पछि फरिसीहरु वा सदुकीहरु मध्येको एक जनाकहाँ पनि देखापर्नु भएन, किनकि उहाँले आफैंलाई तिनीहरुको अगाडि उचित सिद्घ गर्न चाहनुभएन । उहाँलाई थाहा थियो कि मानिसहरुको विचार फोहोरको टोकरीको लागि मात्र उपयुक्त हुन्छ !

सोच्नुहोस् कि यदि हामीले मल्किसेदेक जस्तै जीवन बिताउन थाल्यौं, परमेश्वरको कुरा सुनेर र हरेक दिन हामीले के गर्नुपर्छ भनेर उहाँबाट जान्न खोज्यौं भने के हुन्छ ? यो हामी मध्ये जो कोही पनि यस पृथ्वीमा बाँच्नसक्ने सबैभन्दा उपयोगी तरिका हुनेछ ।

के हामी पनि त्यस्तो जीवन बोलाइएका होइनौं जहाँ हामीसँग सम्पर्कमा आउनेहरुलाई शारिरीक र आत्मिक रुपमा आशिष मिल्दछ ? मल्किसेदेकको दर्जा बमोजिम हामी सबै पूजाहारी हुन बोलाइएका छौं ।