WFTW Body: 

प्रेरित पावलले एक पटक भनेका थिए, "व्यवस्थाको धार्मिकता अनुसार म निर्दोष भेट्टाइएको थिएँ ।" जब उनले प्रेरित २३ः१ मा प्रधान पूजाहारीको अगाडि गवाही दिए, "म आजको दिनसम्म परमेश्वरको सामु पूर्णरुपमा असल विवेकका साथ बाँचेको छु," उसको भनाइको अर्थ के थियो ? उनले भन्दै थिए कि उनी सबै आज्ञाहरु पालना गरिरहेका थिए । उनले कुन आज्ञाहरु पालना गर्दै थिए ? केवल पहिलो नौ आज्ञाहरु, किनकि उनी रोमी ७ः७-८ भन्नलाई पर्याप्त इमानदार थिए, अनि जसै उनी दशौं आज्ञामा आइपुगे, जसले भन्यो, "तिमीले लोभ गर्नु हुँदैन, तिमीले कामवासना गर्नु हुँदैन," उनले "सबै प्रकारका लोभहरु भेट्टाए ।" उनले आफू भित्र रहेका हरेक प्रकारका लोभहरु - पैसाको लोभ, अरु मानिसहरुका पत्नीहरु र छोरी प्रतिको कामवासना, सम्मानको लोभ, र हरेक प्रकारको लोभ - पत्ता लगाए, र महसुस गरे कि उनी यो आज्ञा पालन गर्न सक्दैनन् ।

जब प्रेरित पावल आफ्नो हृदयमा पवित्र आत्माले भरिए (जसरी पवित्र आत्माले पेन्तिकोसको दिनमा मानिसहरुलाई भर्नुभयो), उनले रोमी ८ः२ मा भनेका छन्, "पवित्र आत्माको व्यवस्था - जुन दश आज्ञा होइन - तर ख्रीष्ट येशूमा जीवनको व्यवस्था हो, ले मलाई क्रोध, वासना, र अरु सबै कुरामा फसाउन लगाउने पापको व्यवस्थाबाट मुक्त गरायो," र उनी पद ४ मा भन्छन्, "व्यवस्थाको धार्मिक आवश्यकता - जुन "तिमीले कामवासना गर्नु हुँदैन" हो - अब हामी भित्र पूरा भएको छ किनभने हामी शरीर अनुसार चल्दैनौं, तर हामी पवित्र आत्माको अगुवाइ अनुसार चल्छौं ।" पुरानो करार अन्तर्गत यो असम्भव थियो ।

जब येशूले मत्ती ५ मा यी पापहरु माथि विजय प्राप्त गर्ने बारेमा कुरा गर्नुभयो, उहाँ पवित्र आत्माको शक्ति बिना मानिसले गर्न असम्भव हुने कुराको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो । यदि तपाईंले मत्ती ५, ६ र ७ पढ्नुभयो भने, तपाईंले यी तीन अध्यायहरुको अन्त्यमा सबैभन्दा महत्वपूर्ण प्रश्नको उत्तर दिइएको पाउनुहुनेछ । त्यो के हो ? "प्रभु, मैले यो जीवन कसरी बिताउनु ?" त्यो कुरा मत्ती ५, ६ र ७ मा पनि उल्लेख गरिएको छैन । डाँडाको उपदेशले हामीलाई नयाँ करारको ख्रीष्टियान, नयाँ जन्मेको ख्रीष्टियानबाट परमेश्वरले अपेक्षा गर्नुभएको जीवनको स्तर दखाउँछ, तर त्यहाँ कसरी पुग्ने भन्ने कुरा सम्पूर्ण उपदेशमा उल्लेख गरिएको छैन ।

त्यसो भए हामीले के गर्ने भनेर कसरी थाहा पाउने ? मलाई विश्वास छ कि ख्रीष्टले हाम्रो हृदयमा यस जीवनको लागि इच्छा जगाउनलाई मात्र डाँडाको उपदेश घोषणा गर्नुभएको थियो, र यदि कुनै व्यक्तिलाई यस जीवनको लागि तृष्णा छ भने, उसले परमेश्वर कहाँ गएर भन्नेछ, "प्रभु, समाधान के हो ?" अनि प्रभुले भन्नुहुनेछ, "तिमी पवित्र आत्माले भरिनु आवश्यक छ । तिमी भित्री मानिसमा बलियो हुनु आवश्यक छ ।"

महान प्रेरित पावल व्यवस्था अनुसार एकदमै धर्मी मानिस थिए, तर पवित्र आत्माले नभरिउन्जेल र परमेश्वरको आत्माले उनलाई मुक्त नगरेसम्म उनले पनि यो चाहनालाई जित्न सकेनन् । यो येशूले अन्धा मानिसको आँखा खोल्नु जस्तै होः अन्धा मानिस आफैंले ती आँखा खोल्न सक्दैनथ्यो ।

पवित्र आत्माको शक्तिद्वारा मात्र यो सम्भव छ । वास्तवमा, यदि हामी पवित्र आत्माले भरियौं भने मात्र हामी डाँडाको उपदेशमा येशूले भन्नुभएको सबै कुरा अनुरुप जीवन बिताउन सक्छौं ।

"आत्माको पूर्णता" को नाममा आज फैलिएका सस्ता नक्कलहरुको बारेमा मैले कुरा गरिरहेको छैन । यदि तपाईंले अनुभव गर्नुभएको आत्माको पूर्णताले तपाईंलाई हल्लाएको, भूईँमा लडाएको, हँसाएको र तपाईंले अन्य भाषा बोल्नुभएको दाबी गर्नुहुन्छ, तर तपाईं क्रोध र यौन वासना जस्ता पापहरुबाट पराजित हुनुभएको छ भने, यदि तपाईंले अझै पनि आफ्नी पत्नी वा आफ्नो पति माथि चर्को आवाज गर्नुहुन्छ भने, तपाईं पवित्र आत्माले भरिनुभएको छैन । कसैले तपाईंलाई धोका नदेओस् । धेरै मानिसहरु धोकामा परेका छन् । पवित्र आत्माले हामीलाई नयाँ भाषा दिनुहुन्छ, अज्ञात भाषामा बोल्ने क्षमता मात्र होइन, तर हाम्रो भाषालाई नियन्त्रण गर्न पनि । आइतबार बिहान मण्डलीमा अज्ञात भाषामा बोल्नु र आइतबार दिउँसो आफ्नी श्रीमतीलाई आमाको भाषामा कराउनुको कुनै औचित्य छैन । त्यो पवित्र आत्माको पूर्णता होइन ।

पवित्र आत्माको पूर्णताले हामीलाई हाम्रा जिब्रोहरुमाथि नियन्त्रण दिन्छ । आत्माको फल आत्म-नियन्त्रण हो, र उहाँले हामीलाई हाम्रा जिब्रोहरुमाथि दिनको २४ घण्टा, हप्ताको सातै दिन नियन्त्रण दिनुहुन्छ । यदि यो यस्तो छैन भने, तपाईंले परमेश्वरलाई पवित्र आत्माको वास्तविक पूर्णता दिनको लागि बिन्ती गर्नुपर्छ । आत्माका वरदानहरुको लागि परमेश्वरलाई धन्यवाद दिनुहोस्, तर परमेश्वरसँग आत्माको वास्तविक पूर्णताको लागि प्रार्थना गर्नुहोस्, जुन पवित्र आत्माका वरदानहरु मात्र प्राप्त गर्नुभन्दा माथिको कुरा हो । त्यो नै विजय हासिल गर्ने एक मात्र तरिका हो । अर्को कुनै उपाय छैन ।

याकूबले भन्छन् कि हरेक जनावरलाई मानिसले नियन्त्रणमा राखेको छ, तर जिब्रोलाई कसैले पनि नियन्त्रण गर्न सक्दैन (याकूब ३ः७-८) । पवित्र आत्माले मात्र नियन्त्रण गर्न सक्नुहुन्छ । यदि तपाईं पवित्र आत्माले भरिनुभयो भने, उहाँले तपाईंलाई आफ्नो जिब्रो र आँखामाथि नियन्त्रण दिनुहुनेछ । मत्ती ५ः२१-३२ मा पापको सम्बन्धमा येशूले मानव शरीरका यी दुई भागहरुको बारेमा बताउनुभएको थियो । जिब्रोले पाप गर्नु र आँखाले पाप गर्नु । दुबै धेरै, धेरै महत्वपूर्ण छन् ।

पवित्र आत्माको पूर्णताको बारेमा कुनै पनि सस्तो नक्कलसँग कहिल्यै सन्तुष्ट नरहनुहोस् । यदि यसले तपाईंलाई आफ्नो जिब्रोमाथि नियन्त्रण र आँखामाथि नियन्त्रण दिँदैन भने, परमेश्वरको सामु जानुहोस् र भन्नुहोस्, "प्रभु, मसँग सस्तो नक्कली छ । म तपाईंसँग इमानदार हुन चाहन्छु । म मानिसहरुलाई विश्वास दिलाउँदैछु कि म पवित्र आत्माले भरिएको छु, र त्यो कुनै मूल्यको छैन । म पवित्र आत्माको वास्तविक पूर्णता छुटाउन चाहन्न ।"

जब म जवान ख्रीष्टियान थिएँ, म यी दुबै क्षेत्रमा पराजित थिएँ । पवित्र आत्माको पूर्णताको खोजी गर्दा, मानिसहरुले मलाई विभिन्न सभामा पठाए, तर त्यहाँ मैले जे देखें त्यसबाट म धेरै निराश भएँ । मैले धेरै कोलाहल सुनेँ र मैले भने, "प्रभु, म यो खोजिरहेको होइन । मैले पापमाथि विजय प्राप्त गर्ने शक्ति खोजिरहेको छु । दश वर्ष लागे पनि, म वास्तविक कुरा चाहन्छु । म पत्रुस, याकूब र यूहन्नाले पेन्तिकोसको दिनमा पाएको कुरा चाहन्छु, आज संसारभरि फैलिएको सस्तो झुट होइन ।"

शैतान चाहन्छ कि मानिसहरु केही नक्कली कुराहरुबाट सन्तुष्ट होऊन् । यदि तपाईं सुन, हीरा, वा मुद्रा नोटहरु पनि किन्न जाँदै हुनुहुन्छ भने, नक्कली नोटहरु नपरोस् भनेर तपाईं कति सावधान रहनुहुनेछ ? यदि तपाईंलाई थाहा छ कि धेरै नक्कली मुद्राहरु घुमिरहेका छन्, तपाईं आफैंले उठाउनुभएको पाँच सय रुपैयाँको नोट हेर्न सावधान हुनुहुनेछ । हाम्रो अनन्त गन्तव्यसँग सम्बन्धित कुराको बारेमा हामी झन कति धेरै होसियार हुनुपर्छः पवित्र आत्माको वास्तविक पूर्णता !

नक्कलीसँग सन्तुष्ट नरहनुहोस् । यदि तपाईं नक्कली सुन, हीरा र मुद्रा नोटहरुसँग सन्तुष्ट हुनुहुन्न भने, आत्माको पूर्णताको क्षेत्रमा नक्कलीसँग तपाईं कति धेरै असन्तुष्ट हुनुपर्छ । यो परीक्षा होः के परमेश्वरको आत्माले तपाईंलाई पाप र मृत्युको व्यवस्थाबाट मुक्त गर्नुभएको छ (रोमी ८ः२) ? त्यही नै परीक्षा हो ।