WFTW Body: 

जन्मनुहुनेमा येशू एक मात्र व्यक्ति हुनुहुन्थ्यो जसले आफू जन्मिने परिवारको छनोट गर्ने अवसर पाएका थिए । हामी कसैसँग त्यो विकल्प थिएन ।

येशूले कुन परिवार रोज्नुभयो ? नासरथ भन्ने ठाउँबाट एक अज्ञात सिकर्मीको परिवार, जसको शहरका मानिसहरुले भने, "के त्यहाँबाट केही असल आउन सक्छ ?" (यूहन्ना १ः४६) । योसेफ र मरियम यति गरीब थिए कि तिनीहरुले परमेश्वरलाई होमबलिको रुपमा एउटा थुमा पनि चढाउन सकेनन् (लुका २ः२२-२४ लाई लेवी १२ः८ सँग दाँज्नुहोस्) ।

यसबाहेक, जन्मनेहरुमा येशू एक मात्र व्यक्ति हुनुहुन्थ्यो जसले आफू कहाँ जन्मिने भनेर छनौट गर्न सक्थे । आफ्नो जन्मस्थान निर्धारण गर्ने अवसर पाएर, उहाँले कुन ठाउँ रोज्नुभयो ? गाईवस्तुको एउटा गोठको डुँड !

थप ध्यान दिनुहोस्, येशूले आफ्नो लागि छान्नुभएको परिवारको पिँढी । मत्ती १ः३-६ मा उल्लेख गरिएको परिवारको वंशावलीमा चार जना महिलाको नाम । पहिलो, तमारले आफ्नो ससुरा यहूदा सँग व्यभिचार गरेर छोरा जन्माए । दोस्रो, राहाब, यरीहोकी प्रसिद्घ वेश्या थिइन् । तेस्रो, रुथ, मोआबको सन्तान थिइन्, जो लोतले आफ्नी छोरीसँग व्यभिचार गरेको कारणले जन्मेकी थिइन् । चौथो, उरियाहकी पत्नी बतशेवा थिइन्, जससँग दाउदले व्यभिचार गरे ।

येशूले किन लाजमर्दो परिवारको वंशलाई छान्नुभयो ? ताकि उहाँले आफैंलाई आदमको पतित जातिसँग पूर्णरुपमा परीचित राख्न सक्नुभएको होस् । त्यहाँ हामीले उहाँको नम्रता देख्दछौं । उहाँले परिवार वा वंशावलीको घमण्डको लागि कुनै चाहना गर्नुभएन ।

येशूले आफैलाई पूर्णतया मानिससँग परीचित गराउनुभयो । उहाँले जात, परिवार, जीवनमा पद आदिको भेदभाव नगरी सबै मानवजातिको अनिवार्य समानतामा विश्वास गर्नुभयो र सामाजिक तहमा सबैभन्दा तल्लो र नीच तहमा एक हुनुभयो । उहाँ सबैको सेवक हुन सकियोस् भनेर सबै भन्दा तल आउनुभयो । अरुको मुनि आफैलाई राख्ने व्यक्तिले मात्र तिनीहरुलाई उठाउन सक्छ । अनि यसरी नै येशू आउनुभयो ।

पवित्रआत्माले हाम्रो मनको नविकरण मार्फत हामीलाई परिवर्तन गर्नुहुन्छ (रोमी १२ः२) । हाम्रो सोंचमा साँचो ख्रीष्टको जस्तै नम्रताको वीउ छरिएको छ । यो हाम्रो कार्य वा अरुको अगाडि गर्ने हाम्रो व्यवहारले होइन, तर हाम्रा विचारहरु द्वारा(जब हामी एक्लै हुन्छौं), हाम्रा आफ्नै बारेमा विचारहरु र हामीले आफैंलाई अरुसँग कसरी दाँज्छौं, भन्ने कुराले नै हामी ख्रीष्टको समानतामा यो क्षेत्रमा कसरी परिवर्तन हुँदैछौं भनेर पत्ता लगाउन सक्छौं ।

यो तब मात्र हुन्छ जब हामी आफ्नै विचारमा साँच्चै सानो हुन्छौं, कि हामीले साँच्चै "अरुलाई हामी भन्दा धेरै महत्वपूर्ण मान्न सक्छौं" (फिलिप्पी २ः३), र आफूलाई "सबै सन्तहरुमध्ये सबैभन्दा सानो" ठान्न सक्छौं (एफिसी ३ः८) ।

येशूले सधैं आफूलाई एक मानिसको रुपमा उहाँको पिताको अगाडि केही नभएको ठान्नुभयो । त्यसकारण, पिताको महिमा उहाँद्वारा सम्पूर्ण पूर्णतामा प्रकट भएको थियो ।

तीस वर्षसम्म, येशू पालनपोषण गर्ने असिद्घ बुबा र आमामा समर्पित हुनुभयो, किनकि उहाँको पिताको इच्छा यही थियो । उहाँ जोसेफ र मरियम भन्दा धेरै जानकार हुनुहुन्थ्यो, र तिनीहरुका विपरीत पापरहित हुनुहुन्थ्यो । तैपनि उहाँ तिनीहरुमा समर्पित हुनुभयो ।

मानिसलाई आफूभन्दा बौद्घिक वा आत्मिक तवरले कमजोर भएकाहरुको अधीनमा बस्न सजिलो छैन । तर साँचो नम्रतामा यहाँ कुनै समस्या छैन, जसले आफैलाई परमेश्वरको नजरमा केही पनि ठान्दैन, उसलाई परमेश्वरले आफूमाथि नियुक्त गरेको कसैको अधीनमा बस्न कुनै कठिनाइ हुँदैन ।

येशूले एकदमै प्रभावहिन पेशा रोज्नुभयो - सिकर्मीको । र जब उहाँ आफ्नो सार्वजनिक सेवकाईमा प्रवेश गर्नुभयो, उहाँसँग उहाँको नामको कुनै उपसर्ग वा प्रत्यय थिएन । उहाँ "पाष्टर येशू" हुनुहुन्नथियो । "रेभरेण्ड डाक्टर येशू" भन्दा उहाँ धेरै कम हुनुहुन्थ्यो । उहाँले सेवा गर्न आउनुभएका साधारण मानिसहरुभन्दा उहाँलाई उच्चपार्ने कुनै पार्थिव पद वा उपाधि कहिल्यै खोज्नुभएन न चाहनु नै भयो ।

किनभने येशूले पिताको अगाडि शून्यताको यो स्थिति छान्नुभयो । उहाँले आफ्नो जीवनको लागि पिताले आदेश दिनुभएको कुनै पनि कुरामा खुशीसाथ समर्पण गर्न सक्नुहुन्थ्यो, र पिताका सबै आज्ञाहरु हृदयदेखि पालन गर्नसक्नुहुन्थ्यो ।

उहाँले मृत्युको विन्दूसम्मै आज्ञाकारी भएर आफैलाई नम्र बनाउनुभयो (फिलिप्पी २ः८) ।

परमेश्वर प्रतिको यस्तो पूर्ण आज्ञाकारिता साँचो नम्रताको स्पष्ट चिन्ह हो । यो भन्दा स्पष्ट परिक्षण अरु छैन ।

जसको सुन्ने कान छ, त्यसले सुनोस् ।