WFTW Body: 

बाइबलले हामीलाई सबै कुराको लागि, सबै परिस्थितिमा र सबै मानिसहरुको लागि धन्यबाद दिन भन्छ ।

“हाम्रा प्रभु येशूको नाउँमा सबै कुराको लागि सधैं परमेश्वर, अर्थात् पितालाई धन्यवाद दिंदै गर” (एफिसी ५ः२०) ।

“सबै कुरामा धन्यावाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरुका निम्ति परमेश्वरको इच्छा यही हो” (१ थेसेलोनिकी ५ः१८) ।

“सर्वप्रथम म सबै मानिसहरुको लागि धन्यवाद चढाउन आग्रह गर्दछु” (१ तिमोथी २ः१) ।

हामीले यो अर्थपूर्ण रुपमा गर्न सक्छौं, जब हामीले परमेश्वरको पूर्ण सार्वभौमिकता देख्छौं ।

परमेश्वरले येशूलाई गर्नुभए जस्तै हाम्रो पनि वास्ता गर्नुहुन्छ । येशूलाई मद्दत गर्ने अनुग्रह, उहाँलाई जित्न सक्षम बनाउने पवित्र आत्माको शक्ति, अब हामीलाई पनि उपलब्ध छ ।

यहूदाले येशूलाई धोका दियो, पत्रुसले उहाँलाई इन्कार गरे, उहाँका चेलाहरुले उहाँलाई त्यागे, भीड उहाँको विरुद्धमा खडा भयो, उहाँलाई अन्यायपूर्ण रुपमा मुद्दा चलाइयो, झुटो आरोप लगाइयो र क्रुसमा टाँग्नको लागि लगियो । तैपनि कलवरीको बाटोमा, उहाँले भीडतिर फर्केर भन्नसक्नुभयो, “मेरो लागि नरोओ, तर आफ्नो लागि र आफ्ना छोराछोरीको लागि रोओ” (लूका २३ः२८) ।

उहाँमा आत्मग्लानिको कुनै अंश पनि थिएन ।

उहाँलाई थाहा थियो कि उहाँले पिउँदै गर्नुभएको कचौरा उहाँको पिताले पठाउनुभएको हो । त्यो कचौरा ल्याउने दूत केवल यहूदा इस्करियोत थिए । त्यसैले उहाँले यहूदालाई प्रेमले हेर्न र “मित्र” भनेर बोलाउन सक्नुभयो । परमेश्वरको पूर्ण सार्वभौमिकतामा विश्वास नभएसम्म तपाईं त्यसो गर्न सक्नुहुन्न ।

येशूले पिलातसलाई भन्नुभयो, “माथिबाट नदिइएको भए, म माथि तिम्रो कुनै अधिकार हुने थिएन” (यूहन्ना १९ः११) ।

यही आश्वासनले येशूलाई यस संसारमा राजाको रुपमा सम्मानका साथ हिँड्न सक्षम तुल्यायो । उहाँ त्यही आत्मिक मर्यादाका साथ बाँच्नुभयो र त्यही आत्मिक मर्यादाका साथ मर्नुभयो ।

अब हामी “येशूले हिँड्नुभएझैं हिँड्न” बोलाइएका छौं । जसरी उहाँले पिलातसको अगाडि “असल स्वीकारोक्तिको गवाही” दिनुभयो, हामीले पनि अविश्वासी पुस्ताको अगाडि हाम्रो स्वीकारोक्ति दिनुपर्छ ।

पावलले १ तिमोथी ६ः१३–१४ मा तिमोथीलाई भन्छन्, “सबै कुरालाई जीवन दिनुहुने परमेश्वर, र ख्रीष्ट येशूको सामु, जसले पन्तियस पिलातसको सामु असल स्वीकारोक्तिको गवाही दिनुभयो, म तिमीलाई आज्ञा दिन्छु, कि हाम्रा प्रभु येशू ख्रीष्ट देखा नपरुन्जेल सम्म तिमीले यो आज्ञा दागरहित र कलंक बिना पालन गर ।”

हामीले पहिले देखि देखिसकेका छौं, परमेश्वरले परम भलाईको निम्ति कामगर्दै हुनुहुन्छ, त्यो हामीलाई उहाँको स्वभाव र पवित्रतामा सहभागी गराउनु नै हो । उहाँको अद्भुत सार्वभौमिकतामा, हाम्रो बाटो पार गर्ने सबैलाई उहाँले आफ्नो उद्देश्य पूरा गर्नलाई प्रयोग गर्नुहुन्छ । त्यसैले हामी सबै मानिसहरुको निम्ति धन्यवाद दिन सक्छौं ।

किन परमेश्वरले त्यो अप्ठ्यारो छिमेकी, सताउने नातेदार र त्यो अत्याचारी हाकिमलाई तपाईंलाई निरन्तर सताउने अनुमति दिनुहुन्छ ? उहाँले तिनीहरुलाई सजिलै अन्यत्र हटाउन सक्नुहुन्छ वा तिनीहरुको जीवन पनि लिन सक्नुहुन्छ, र यसरी तपाईंको लागि जीवनलाई सहज बनाउन सक्नुहुन्छ । तर उहाँले त्यस्तो कुनै काम गर्नुहुन्न । किन ? किनभने उहाँले तपाईंलाई पवित्र बनाउनको लागि तिनीहरुलाई प्रयोग गर्न चाहनुहुन्छ । उहाँले तपाईं मार्फत तिनीहरुलाई बचाउन पनि चाहनुहुन्छ ।