WFTW Body: 
ख्रीष्टले लूका १०:४२मा मार्थालाई कस्तो छक्कलाग्दो कुरा भन्नुभएको छ, “तर एउटै कुराको खाँचो छ...!” हाम्रो जिवनमा राम्रो कुरा गर्ने हो भने त्यहाँ धेरै कुरा छन्, तर वास्तवमा हामीले केहि कुराहरुलाई मात्र बढि आवश्यक मानिरहेका हुन्छौ। तर येशूले यसलाई निश्चित तुल्याउनुभएको छ कि सबैभन्दा माथि एउटा मात्र कुरा थियो। त्यो कुरा के थियो त? येशू र उहाँका चेलाहरु भरखरै बेथानिमा आइपुग्नुभएको थियो। र मार्थाले उहाँहरुलाई देख्ने बित्तिकै उनले उहाँहरु सबैलाई खुसीसाथ आफ्नो घरमा स्वागत गरिन्, उहाँहरुलाई बसाइन् र सिधै भान्साघरमा केहि खानाको व्यवस्था गर्नको निम्ति हतार गरेर गइन्। यसै बीचमा येशुले त्यहाँ उपस्थितहरुको सामु प्रचार गर्न शुरु गर्नुभयो। र मार्थाले यो थाहा पाइन् कि उनकी बहिनी मरियम त्यहाँ आएर उनलाई मदत गर्नुको सट्टा त्यहाँ बसेर ख्रीष्टको वचन सुनिरहेको थिइन्, उनि रिसाएर भान्साघरबाट बाहिर आइन्, र सायद येशूतिर फर्किएर यसरी विन्ती गरिन् होला: “प्रभु म तपाईहरु सबैको निम्ति खाना पकाउन परिश्रम गर्दैँछु, र मेरी बहिनी यहाँ केहि नगरी बसेकी छिन्। उसलाई उठ्न र मलाई मदत गर्न भनिदिनुहोस न!” तर अचम्मको कुरा यो हो कि परमेश्वरले मार्थाको कुरालाई इन्कार गर्नुभयो। मरियममा होइन, तर खास उनिमा त्रुटि थियो। हामी यो कुरालाई विचार गरौँ, मार्थामा कुनै पापपूर्ण कुरा भएको कारणले उनलाई यसरी देखाइएको होइन। उनले येशूलाई आनन्दसाथ घरमा स्वागत गरेकी थिइन्। उनले भान्सामा गरेको काम पनि आफ्नो लागि थिएन, तर ख्रीष्ट र उहाँका चेलाहरुको लागि थियो। यो आजको विश्वासीको चित्रण हो, जसले प्रभुलाई आफ्नो हृदय दिनुभएको छ र जसले प्रभु र अरुको निम्ति कुनै स्वार्थ बिना सेवा गर्ने भाव राख्नुहुन्छ। तर उनको यस जोशको वावजुद पनि उनले ख्रीष्टबाट हप्की पाइन्। हामीले यो आफै सोध्न सक्छौ कि यहाँ के भन्न खोजिएको कुरा हो? उनको के गल्ति थियो? र जवाफ पक्कै पनि येशूको त्यो चारवटा शब्दहरुमा छ: “एउटै कुराको खाँचो छ।” मार्थाले उनको सेवाकाईको निमती हप्की पाइनन्, तर पहिलो कुरालाई पहिलो स्थान नदिएको कारणले पाइन्। प्रभुले भन्नुभयो कि मरियमले असल भाग चुनेकी छ। त्यो के थियो? उनि केवल ख्रीष्टको पाउनिर बसेकी थिइन् र उहाँको वचन सुनिरहेकी थिइन्। अरु केहि पनि होइन। तर त्यो असल भाग थियो। त्यो कुरा अरु कुराहरुभन्दा बढि खाँचो हो। हाम्रो जिवनमा सुन्ने ठाउँहरु कतिवटा छन्? हामी ख्रीष्टको पाउमा कति समय बिताउछौ? हामी कति समय परमेश्वरको वचन पढ्न र त्यहाँ परमेश्वरले मेरो लागि के भन्न खोजिरहनुभएको रहेछ भनि मनन् गरी बिताउछौ? सायद धेरै होइन होला। हाम्रो जिवनमा अरु कुराले यति समय लिन्छ कि हामी आफैले मार्थाले गरेकै गलतिमा आफूलाई दोषी ठहराउछौँ। तपाईलाई व्यस्त राख्ने ठाउँ सांसारीक नभई, ख्रीष्टियन सेवाकाईहरु पनि हुन सक्छ। हामी सङ्गति, प्रार्थना वा आराधना वा गवाहिमा क्रियाशील भएपनि, हामीले परमेश्वरले हामीलाई मार्थालाई झै हप्काउनु भएको पाउन सक्छौ। मरियम ख्रीष्टको पाउमा बसेको सत्यता कम्तिमा पनि तिन वटा छन् : १. बस्नु – हिँड्नु, कुँद्नु, वा उभिनुभन्दा पनि – मुख्य गरि विश्रामको चित्रण हो। यसले यो सिकाउछ कि परमेश्वर हामीसँग बोल्नुअघि हाम्रो हृदय विश्राममा हुनुपर्छ र हाम्रो मन स्थिर हुनुपर्छ। अस्विकार्य पाप सबभन्दा ठूलो बाधा हुन्छ, र यस संसारका कामधन्दाहरु भनें पछि आउँछन्। हाम्रो विवेक अशुध्द हुँदा र हाम्रो मन चिन्ता र डरमा भएको हुँदा, हामी कसरी परमेश्वरको “शान्त, सानो आवाजलाई” सुन्ने आशा राख्न सक्छौ? भजनसंग्रह ४६:१० ले बताउछ कि हामी शान्त भयौ भने मात्र हामीले परमेश्वरलाई जान्न सक्छौ। २. मानिसको खुट्टामा बस्नु नम्रताको चित्रण पनि हो। मरियम ख्रिष्टको बराबरिको कुर्सीमा पनि बसेकी थिइनन्, तर उनि कम तहमा बसेकी थिइन। परमेश्वर कहिल्यै पनि घमण्डी व्यक्तिसँग बोल्नुहुन्न। तर उहाँ आफ्नो सामुन्ने बालक जसरी भएर आउनेसँग सधैँ बोल्न र आफ्नो अनुग्रह प्रकट गर्न तयार हुनुहुन्छ (मत्ती ११:२५)। ३. मरियम बसेको जसरी बस्नु एउटा समर्पन्ताको चित्रण हो। यो एउटा चेलाको आफ्नो मालिकको सामुन्ने हुँदा हुने व्यवहार हो। हाम्रो समर्पन्ता परमेश्वरको वचनमा हुने आज्ञाकारिताद्वारा प्रकट हुन्छ। परमेश्वरले आफ्नो वचन हाम्रो जिज्ञासा वा हामीलाई जानकारी गराउन दिनुभएको होइन। उहाँको वचन उहाँको हृदयको इच्छा हो। उहाँ हामीसँग यसकारणले बोल्नुहुन्छ कि हामी त्यसलाई पालन गर्न सकौँ। उहाँले यो कुरा यूहन्ना ७:१७ मा प्रष्ट पारिदिनुभएको छ कि यदि हामी परमेश्वरको इच्छा पालन गर्ने चाह गर्छौ भने हामीले त्यस इच्छालाई बुझ्ने समझ प्राप्त गर्छौ। धेरै विश्वासीहरु परमेश्वरले उनिहरुसँग कुनै पनि खण्डबाट के बोल्न चाहिरहनुभएको छ, नखोजिकन महिनौँ र वर्षौँ वाइवल पढ्न बिताउनुहुन्छ। तरैपनि उहाँहरु सन्तुष्ट भएको देखिनुहुन्छ। म तपाईहरुलाई सोध्न चाहन्छु, के तपाई हरेक दिन परमेश्वरको आवाजलाई सुन्नुहुन्छ? यदि सुन्नुहुन्न भनें, यसको कारण के हो? उहाँ उनिहरुसँग बोल्नुहुन्छ जसले उहाँलाई सुन्छन्। तपाईको आत्मिक कानलाई केले रोकिरहेको छ? के यो उहाँको सामुन्ने शान्त नभएकोले हो, वा नम्रता नभएकोले हो, वा आज्ञाकारीता नभएकोले हो जुन उहाँले तपाईलाई पहिल्यै भनि सक्नुभएको छ? वा के त्यो इच्छुकता नभएको कारणले नै हो? त्यो जे पनि हुन सक्छ, परमेश्वरले त्यो एकैपल्ट र सधैको लागि ठिक पार्न सक्नुहुन्छ। शमूएलले गरेको झै प्रार्थना गर्नुहोस्, “बोल्नुहोस्; किनकि तपाईंको दासले सुन्दैछ।” तब तपाई आफ्नो बाइबल खोल्नुहोस् र परमेश्वरको चेहरालाई यत्नसाथ खोज्नुहोस्, र तपाईले पनि उहाँको आवाजलाई सुन्न सक्नुहुन्छ।