याकूब ४ः२ को अन्तिम भागमा हामी पढ्छौं, "तिमीहरुसँग हुँदैन किनकि तिमीहरुले माग्दैनौ ।" परमेश्वरले ख्रीष्टियानहरुलाई धेरै कुरा दिन चाहनुहुन्छ, तर तिनीहरुले प्राप्त गरेका छैनन् किनभने तिनीहरुले माग्दैनन् । यो विशेष गरी आत्मिक आशिषहरुको बारेमा सत्य हो । लूका ११ः१३ को पदलाई लिनुहोस्, "तिमीहरुका स्वर्गीय पिताले उहाँसँग माग्नेहरुलाई कति धेरै पवित्र आत्मा दिनुहुनेछ ।" यदि हामीले हामीलाई पवित्र बनाउने पवित्र आत्माको चाहना गर्दैनौं भने, हामी कहिल्यै पनि येशूको स्तरअनुसार जीवन बिताउन सक्नेछैनौं । त्यसैले येशूले मत्ती ७ः७ मा भन्नुभयो, "माग, अनि तिमीहरुलाई दिइनेछ" ।
परमेश्वरले हामीले उहाँसँग माग्नको लागि किन पर्खनुहुन्छ ? किनभने उहाँ चाहनुहुन्छ कि हामीले उहाँले दिनुभएको कुराको कदर गरौं । हामीले नसोधीकन उहाँले दिनुभएको कुराको हामी सामान्यतया कदर गर्दैनौं । पापहरुको क्षमा, त्यो नै सबैभन्दा महत्वपूर्ण कुरा हो । के तपाईंले यो मागेर पाउनुभएको थिएन ? के तपाईंले यो नमाग्नु भएको भए पाउनुहुन्थ्यो ? यदि तपाईंले मुक्ति नमाग्नुभएको भए के तपाईंले मुक्ति पाउनुहुन्थ्यो ? पृथ्वीमा लाखौं मानिसहरु छन् जो मुक्ति पाएका छैनन् किनभने तिनीहरुले यो माग्दैनन् । तिनीहरु आफूलाई यसको आवश्यकता छ भनेर स्वीकार गर्न नम्र हुँदैनन् ।
परमेश्वरको सर्वोच्च आत्मिक आशिष प्राप्त गर्नका लागि अन्य आवश्यकताहरु के के हुन् ? सबैभन्दा पहिले, हामीमा तिनीहरुको लागि इच्छा, तृष्णा हुनुपर्छ । त्यसपछि, हामीले विश्वासमा माग्नुपर्छ । माग्ने कुराले त्यो इच्छाको बारेमा बोल्छ, र केही पदहरु मुनि मत्ती ७ः११ मा येशूले विश्वासको बारेमा बोल्नुहुन्छ । उहाँ भन्नुहुन्छ, "यदि तिमीहरु आफ्ना छोराछोरीहरुलाई असल उपहार कसरी दिने भनेर जान्दछौ भने, तिमीहरुका स्वर्गीय पिताले उहाँसँग माग्नेहरुलाई झन् कति बढी असल चीजहरु दिनुहुनेछ ।"
यदि तपाईंले माग्नुभएन भने, तपाईंले पाउनुहुनेछैन । यदि तपाईंले खोज्नुभयो भने, तपाईंले पाउनुहुनेछ । यदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने, तपाईंले यसको खोजी गर्नुपर्छ । परमेश्वरको वचनमा खजानाहरु छन् । सतहमा केही चीजहरु छन्, जुन सबैले प्राप्त गर्न सक्छन्, तर यसको गहिरो खजाना भित्र छ, र तपाईंले तिनीहरुलाई खोज्नुपर्छ । पृथ्वीको बारेमा सोच्नुहोस् । सतहमा धेरै बहमूल्य चीजहरु छन्, जस्तै आँप, नरिवल, र अन्य धेरै राम्रा फलहरु, तर यदि तपाईं साँच्चै महँगो खजानाहरु जस्तै सुन र हीरा चाहनुहुन्छ भने, तपाईंले हजारौं फिट जमिन खन्नुपर्छ । त्यसैगरी, बाइबलको सतहबाट तपाईंले केही कुराहरु पाउनुहुन्छ, जस्तै हाम्रा पापहरु कसरी क्षमा हुनसक्छ (किनकि ख्रीष्ट तिनीहरुको लागि मर्नुभयो) । तर यदि तपाईं धर्मशास्त्रका गहिरा सत्यहरुः आत्माले भरिएको जीवन कसरी बिताउने, परमेश्वरको स्वभावमा कसरी भाग लिने, सबै पापलाई कसरी जित्ने, क्रोध, तितोपना, क्षमा नगर्ने, डाह गर्ने, यौन वासनालाई कसरी जित्ने भनेर पत्ता लगाउन चाहनुहुन्छ भने, तपाईंले गहिरो गरी खन्नुपर्छ । यदि कुनै व्यक्तिले गहिरोगरी खन्दैन भने, परमेश्वरले देख्नुहुन्छ कि ऊ वास्तवमा इच्छुक छैन । "माग, र यो तिमीलाई दिइनेछ । आफ्नो सम्पूर्ण हृदयले खोज, र तिमीले पाउनेछौ ।"
एउटा प्रतिज्ञाको रुपमा हामीले यो यर्मिया २६ः१३ मा पाउँछौं, "जब तिमीले आफ्नो सम्पूर्ण हृदयले मलाई खोज्छौ, तिमीले मलाई भेट्टाउनेछौ ।" यदि कुनै व्यक्तिले परमेश्वर र उहाँमा भएको धन फेला पारेको छैन भने, म अलिकति पनि नहिचकिचाइकन भन्न सक्छु कि यस व्यक्तिले आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई खोजेको छैन । उसले आधा हृदयले खोजेको छ, र धर्मशास्त्रमा आधा हृदय भएको व्यक्तिको लागि कुनै प्रतिज्ञा छैन । तीन चौथाई हृदय भएको व्यक्तिको लागि पनि कुनै प्रतिज्ञा छैन, तर पूर्ण हृदय भएको व्यक्तिको लागि ठूला प्रतिज्ञाहरु छन् । तपाईं यति नजिक हुन सक्नुहुन्छ; तपाईंले आफ्नो ९०% परमेश्वरलाई दिन सक्नुहुन्छ र पनि उहाँलाई १०% मात्र दिने व्यक्तिले पाउने भन्दा बढी पाउनुहुनेछैन । तर जसै तपाईंले परमेश्वरलाई १००% दिनुहुन्छ, तपाईंले सबै कुरा पाउनुहुन्छ । यदि तपाईंले ९०% दिनुहुन्छ भने, तपाईं १०% दिने व्यक्तिको श्रेणीमा हुनुहुन्छ । यही कुरा ख्रीष्टियानहरुले महसुस गर्दैनन् । आफ्नो १०% हृदयले उहाँलाई खोज्नुहोस्, र तपाईंले उहाँलाई भेट्टाउनुहुने छैन । आफ्नो ९०% हृदयले उहाँलाई खोज्नुहोस्, र तपाईंले उहाँलाई भेट्टाउनुहुने छैन । आफ्नो सम्पूर्ण हृदयले परमेश्वरलाई खोज्नुहोस्, र तपाईंले उहाँलाई पाउनुहुनेछ ।
खोज, अनि तिमीहरुले भेट्टाउनेछौ । ढकढक्याऊ, अनि तिमीहरुको लागि ढोका खोलिनेछ । यी प्रतिज्ञाहरु हुन् । परमेश्वरले कहिल्यै आफ्ना प्रतिज्ञाहरु तोड्नुहुन्न । "प्रत्येक व्यक्ति जसले माग्छ उसले पाउँछ ।" तपाईंले किन पाउनुभएको छैन ? तपाईं स्पष्ट रुपमा परमेश्वरले चाहनुभएको तरिकाले मागिरहनुभएको छैन । "खोज्ने हरेकले भेट्टाउँछ ।" हुनसक्छ तपाईंले परमेश्वरले चाहनुभएको तरिकाले खोजिरहनु भएको छैन । "ढकढक्याउने हरेकको लागि ढोका खोलिनेछ ।" हुनसक्छ तपाईंले पर्याप्त ढकढक्याउनु भएको छैन ।
परमेश्वरसँग नमागेको कारणले गर्दा ख्रीष्टियानहरुले लाखौं कुराहरु गुमाएका छन् । याकूब ४ः२ को अन्त्यमा रहेको यो सानो वाक्य सम्झनुहोस्, "तिमीहरुले नमागेको कारणले गर्दा परमेश्वरले चाहनुभएको कुरा तिमीहरुसँग छैन ।"