येशूले मानिसहरुलाई घृणा गर्ने गलत मनोवृत्तिको बारेमा बोल्नुहुन्छ । "तिमीहरुले यसो भनेको सुनेका छौ, 'तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर" (मत्ती ५ः४३) । पुरानो नियममा इस्राएलीहरुले कनानीहरुलाई घृणा गर्थे, तिनीहरुले पलिश्तीहरुलाई घृणा गर्थे, तिनीहरुले एमोरीहरु, मोआबीहरु, आदिलाई घृणा गर्थे । तिनीहरुले तिनीहरुलाई नष्ट पार्ने मनशाय राखेका थिए । तर अब येशू भन्नुहुन्छ, "म तिमीहरुलाई भन्दछु, आफ्ना शत्रुहरुलाई प्रेम गर ।" के परमेश्वर वर्षौंको दौरानमा परिवर्तन हुनुभएको छ ? होइन । मानिससँग अब येशू ख्रीष्ट जस्तै जिउने उच्च सम्भावना छ । पुरानो नियममा उसलाई येशू जस्तै जिउनको लागि सम्भव थिएन । पवित्र आत्मा बिना परमेश्वरले चाहनुभएको तरिकाले आफ्ना शत्रुहरुलाई साँच्चै प्रेम गर्न असम्भव छ । धेरै दयालु व्यक्तिको रुपमा सम्मान पाउनको लागि तपाईं आफ्नो शत्रुहरुलाई प्रेम गर्न सक्नुहोला, तर परमेश्वरको महिमाको लागि आफ्नो शत्रुलाई प्रेम गर्नेबारे के छ ? पवित्र आत्माले भरिएको व्यक्तिले मात्र त्यो गर्न सक्छ । "त्यसैले म तिमीहरुलाई भन्छु कि आफ्ना शत्रुहरुलाई प्रेम गर र तिमीहरुलाई सताउनेहरुका लागि प्रार्थना गर ।"
याद राख्नुहोस् कि यी आज्ञाहरु हामीले संसारभरि चेला भएका प्रत्येक विश्वासीलाई सिकाउनुपर्छ । यदि मैले एउटा मण्डली निर्माण गर्नपुर्ने छ भने, मैले एउटा यस्तो मण्डली निर्माण गर्नुपर्छ जहाँ मण्डलीका हरेक व्यक्तिले आफ्ना शत्रुहरुलाई माया गर्छन् । यदि उसका दश शत्रुहरु छन् र उसले ती मध्ये नौ जनालाई माया गर्छ भने उसले त्यो आज्ञा पालन गरेको छैन । येशूले भन्नुभयो, "सबै राष्ट्रहरुमा जाओ र तिनीहरुलाई चेला बनाओ, मैले आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरुलाई सिकाओ ।" अर्को शब्दमा भन्नुपर्दा, म आफैंले पहिले त्यो अनुभव गर्नुपर्छ, र त्यसैले परमेश्वरको प्रत्येक सेवकलाई उसको जीवनको शत्रुहरुको सामना गर्न परमेश्वरले अनुमति दिनुहुन्छ - ताकि उसले तिनीहरुलाई प्रेम गर्न सिक्नसकोस् । यसरी नै उसले अरु मानिसहरुलाई आफ्ना शत्रुहरुलाई प्रेम गर्न सिकाउन सक्छ ।
त्यसैले पनि परमेश्वरको प्रत्येक साँचो सेवकले सतावटको सामना गर्नुपर्छ - किनभने तब मात्र उसले आफूलाई सताउनेहरुको लागि प्रार्थना गर्न सिक्नसक्छ, र त्यसपछि उसले अरुलाई पनि सताउनेहरुका लागि प्रार्थना गर्न सिकाउन सक्छ । त्यसैले येशू भन्नुहुन्छ, "ताकि तिमीहरु स्वर्गमा हुनुहुने तिमीहरुका पिताका छोराहरु बन्न सक ।" उहाँले हामीलाई स्वर्गमा हुनुहुने हाम्रा पितालाई हेर्न निर्देशन दिनुहुन्छ, जसले "दुष्ट र असल दुबैमाथि सूर्य उदाउनुहुन्छ र धर्मी र अधर्मी दुबैमाथि पानी बर्साउनुहुन्छ" (मत्ती ५ः४५) ।
दुई किसानहरुको बारेमा सोच्नुहोस्, एक जना नास्तिक छन् र अर्को परमेश्वरको भयमा हिँड्ने किसान । तिनीहरुको खेतहरु एकअर्काका छेऊमा छन्, र एक जना मानिस नियमित रुपमा प्रार्थना गर्छन् जबकि अर्को मानिस सोच्छन् कि परमेश्वर छैन र यो सबै तुच्छ हो । तैपनि परमेश्वरले उनीहरु दुबैको लागि र उनीहरुको खेतबारीमा सूर्य उदाउनुहुन्छ । परमेश्वरले उनीहरुको खेतबारीमा समान रुपमा वर्षा गराउनुहुन्छ ताकि उनीहरुले राम्रो बाली र रुखहरुमा राम्रो फल पाउन सकोस् । के तपाईंले देख्नुहुन्छ कि परमेश्वर कति असल हुनुहुन्छ ! उहाँले नास्तिक र परमेश्वरको भयमा हिँड्ने किसानमाथि समान रुपमा वर्षा गराउनुहुन्छ, र उहाँले हामीलाई त्यस्तै हुन भन्नुहुन्छ । परमेश्वर जस्तै बन - तपाईंलाई राम्रो गर्ने व्यक्तिलाई र तपाईंलाई नराम्रो गर्ने व्यक्तिलाई पनि उत्तिकै असल गर्ने । पवित्र आत्माको शक्तिबिना यो सबै असम्भव छ - त्यसैले हामी पुरानो नियममा यस्ता आज्ञाहरु पढ्दैनौं ।
येशूले अगाडि भन्नुभयो, यदि हामीले हामीलाई प्रेम गर्नेहरुलाई मात्र प्रेम गर्छौं भने, त्यसमा कुनै विशेष कुरा हुँदैन, किनकि कर उठाउनेहरु, र हत्याराहरु जस्ता दुष्ट पापी मानिसहरु, र झुटा धर्म र समूहका मानिसहरुले पनि त्यसो गर्छन् । त्यसैले यदि तपाईंले आफ्ना साथीहरु वा भाइहरुलाई मात्र अभिवादन गर्नुहुन्छ भने, तपाईं मूर्तिपूजकहरु भन्दा असल हुनुहुन्न (मत्ती ५ः४७) ।
के तपाईं तपाईंलाई अभिवादन गर्न नचाहने कसैलाई अभिवादन गर्न कहिल्यै विशेष पहल गर्नु भएको छ ? मैले धेरै पटक त्यसो गरेको छु । प्रभुको सेवकको रुपमा, मैले सत्य - परमेश्वरको वचनको सत्यता घोषणा गरेका कारणले धेरै मानिसहरु मसँग रिसाएका छन् । जसरी मानिसहरु यी बीसौं सताब्दीहरुमा येशू, पावल र परमेश्वरका अन्य धेरै सेवकहरुसँग रिसाएका थिए, त्यसरी नै धेरैले मलाई बाटोमा पार गरे पनि स्वागत गर्दैनन् । कहिलेकाहिँ बाटो पार गरेर उनीहरुलाई म अभिवादन गर्न जान्छु किनभने बाइबलले भन्छ कि तपाईंको अभिवादन मन नपराउने व्यक्तिहरुलाई तपाईंसँग तिनीहरुको बिरुद्धमा केही छैन भनी देखाउनको लागि अभिवादन गर ।
तिम्रा कति साथीहरु छन् भनी कसैले मलाई एकचोटी सोध्यो । मैले भने, संसारमा जति मानिसहरु छन् त्यति नै मेरा साथीहरु छन्, र यो संख्या दिनदिनै बढ्दै गइरहेको छ । यदि संसारमा सात अर्ब मानिसहरु छन् भने, मेरो विचारमा, तिनीहरु सबै मेरा साथीहरु हुन् । मेरा कोही शत्रुहरु छैनन्; मैले सबैलाई प्रेम गर्छु । तिनीहरुले मलाई आफ्नो शत्रु मान्न सक्लान्, तर मैले तिनीहरुलाई आफ्नो शत्रु मान्दिन । जसले मलाई हानि पुर्याएका छन्, मलाई सताएका छन्, म तिनीहरुको लागि प्रार्थना गर्न चाहन्छु । जसले मलाई सरापेका छन्, म तिनीहरुलाई आशिर्वाद दिन चाहन्छु । "तिमीलाई सराप्नेहरुलाई आशिर्वाद देऊ" (मत्ती ५ः४४) । के तपाईं त्यसो गर्नुहुन्छ ?
तपाईंलाई थाहा छ कि कुनै पनि श्रापले तपाईंलाई कहिल्यै हानि गर्न सक्दैन । यो असम्भव छ किनकि हामी परमेश्वरको आशिषमा छौं । ख्रीष्टले क्रुशमा हरेक श्राप लिनुभयो र अब हामी परमेश्वरको आशिर्वादमा छौं, त्यसैले मलाई सराप्ने कुनै पनि व्यक्तिले मलाई कुनै पनि तवरले हानि गर्ने छैन । उसलाई त्यो थाहा छैन र म जवाफमा, "परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस्" भन्दै आशिर्वाद दिनसक्छु । म संसारका हरेक मानिसतिर फर्केर भन्नसक्छु, "परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस् ।" म हरेक व्यक्तिको लागि साँच्चै यही चाहन्छु । परमेश्वरले उसलाई आशिर्वाद दिनुहुन्छ कि दिनुहुन्न भन्ने कुरा उसको मनोवृत्तिमा निर्भर गर्दछ, आदि, तर म पक्कै पनि चाहन्छु कि परमेश्वरले उसलाई आशिर्वाद दिनुहुनेछ ।