जसै हामीले भविष्यलाई हेर्छौं, हामी यसलाई बितेका सबै वर्षहरु भन्दा धेरै राम्रो होस् भन्ने चाहन्छौं । तर हामीले परमेश्वरका प्रतिज्ञाहरु दाबी गर्यौं भने मात्र यो राम्रो हुनेछ । हामीले विश्वास गरेको कुरा हामीले आफ्नो मुखले स्वीकार गर्नुपर्छ, तर हाम्रो स्वीकारोक्ति परमेश्वरका प्रतिज्ञाहरुमा आधारित हुनुपर्छ (रोमी १०ः८,९ हेर्नुहोस्) ।
जब परमेश्वरले अब्राहामलाई प्रतिज्ञा दिनुभयो – एउटा प्रतिज्ञा जुन पूरा हुन असम्भव देखिन्थ्यो (मानवीय रुपमा भन्नुपर्दा), अब्राहामले के गरे ? “विश्वासमा कमजोर नभइकन उनले आफ्नो शरीर, जुन लगभग सय वर्षको उमेरमा मरेको जस्तै थियो, र साराको कोख पनि मरेको अवस्थामा थियो; तैपनि, परमेश्वरको प्रतिज्ञाको सम्बन्धमा, उनी अविश्वासमा डगमगाएनन् तर विश्वासमा बलियो हुँदै गए, परमेश्वरलाई महिमा दिँदै, परमेश्वरले जे प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा गर्न पनि सक्षम हुनुहुन्छ भन्ने कुरामा पूर्णरुपमा विश्वस्त थिए ।” (रोमी ४ः१९–२१) ।
त्यसैले परमेश्वरले प्रतिज्ञा गर्नुभएको कुरामा विश्वास गर्दै, हामी निम्न आठ स्वीकारोक्ति जनाऔं । यो कुरा आफैंलाई र शैतानलाई बारम्बार आफ्नो हृदयबाट भन्नुहोस्ः
१. परमेश्वर पिताले मलाई येशूलाई जस्तै प्रेम गर्नुहुन्छ
– त्यसैले म सधैं आनन्दित रहनेछु (यूहन्ना १७ः२३) ।
२. परमेश्वरले मेरा सबै पापहरु क्षमा गर्नुभएको छ
– त्यसैले म कहिल्यै पनि दोषी भावना लिएर बाँच्ने छैन (१ यूहन्ना १ः९; हिब्रू ८ः१२) ।
३. परमेश्वरले मलाई उहाँको पवित्र आत्माले भर्नुहुनेछ
– त्यसैले म हरेक कामको लागि बलियो हुनेछु (लूका ११ः१३) ।
४. परमेश्वरले मेरा सबै सिमाहरु तोकिदिनुभएको छ
– त्यसैले म सधैं सन्तुष्ट रहनेछु (प्रेरित १७ः२६; हिब्रू १३ः५) ।
५. परमेश्वरका आज्ञाहरु सबै मेरा भलाइका लागि हुन्
– त्यसैले म परमेश्वरका सबै आज्ञाहरु पालन गर्न चाहन्छु (१ यूहन्ना ५ः३; व्यवस्था १०ः१३) ।
६. मलाई असर गर्ने सबै मानिसहरु र घटनाहरुलाई परमेश्वरले नियन्त्रण गर्नुहुन्छ
– त्यसैले म सधैं धन्यवाद दिनेछु (रोमी ८ः२८) ।
७. येशूले शैतानलाई पराजित गर्नुभयो र मलाई उसको शक्तिबाट मुक्त गर्नुभयो
– त्यसैले म कहिल्यै डराउने छैन (हिबू्र २ः१४,१५; हिब्रू १३ः६) ।
८. परमेश्वरले मलाई आशिष बनाउन चाहनुहुन्छ
– त्यसैले म अरुको लागि आशिष बन्नेछु (उत्पत्ति १२ः२; गलाती ३ः१४) ।
“विश्वास बिना परमेश्वरलाई खुशी पार्न असम्भव छ” (हिब्रू ११ः६) ।