द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने चेलाहरू
WFTW Body: 

हाम्रो विश्वास अटल हुनको लागि परमेश्वरको बारेमा तीन तथ्यहरुमा सुरक्षित रुपमा आधारित हुनुपर्छ - उहाँको सिद्ध प्रेम, उहाँको पूर्ण शक्ति र उहाँको सिद्ध बुद्धि । यदि हामी उहाँको प्रेमको बारेमा विश्वस्त छौं भने, हामी उहाँको सार्वभौम शक्तिको बारेमा पनि उत्तिकै विश्वस्त हुनुपर्छ ।

त्यसैले येशूले हामीलाई प्रार्थनाको सुरुवातमा "स्वर्र्गमा हुनुहुने हाम्रा पिता" भनेर सम्बोधन गर्न सिकाउनुभयो ।

"हाम्रा पिता" ले हामीलाई उहाँको सिद्ध प्रेमको सम्झना गराउँछ; र "जो स्वर्गमा हुनुहुन्छ" ले हामीलाई सम्झाउँछ कि उहाँ सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ जसले पृथ्वीमा हुने सबै कुरामाथि पूर्ण सार्वभौमिकतामा शासन गर्नुहुन्छ । परमेश्वर भएर उहाँ पूर्णरुपमा बुद्धिमान पनि हुनुहुन्छ, र त्यसैले उहाँको बुद्धि अनुसार हाम्रा मार्गहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नुहुन्छ ।

"परमेश्वरको हकमा, उहाँको बाटो निर्दोष छ (उहाँको बुद्धि सिद्ध छ)...र उहँले मेरो बाटो निर्दोष बनाउनुहुन्छ । (उहाँले मेरा परिस्थितिहरुलाई पूर्णरुपमा व्यवस्थित गर्नुहुन्छ)" (भजनसंग्रह १८ः३०-३२) ।

यदि परमेश्वर प्रेम, शक्ति र बुद्धिमा सिद्ध नहुनुभएको भए, हाम्रो विश्वासको लागि पर्याप्त जग हुने थिएन । तर उहाँ तीनवटै हुनुभएकोले, हामी कहिल्यै डगमगाउनु पर्दैन ।

विश्वास भनेको मानव व्यक्तित्वको परमेश्वर माथि उहाँको सिद्ध प्रेम, उहाँको पूर्ण शक्ति र उहाँको सिद्ध बुद्धिमा भरोसा सहितको झुकाव हो ।

हामी सबैले सजिलै स्वीकार गर्नेछौं कि परमेश्वरको बुद्धि सिद्ध छ । जति स्वर्ग पृथ्वीभन्दा माथि छ त्यति नै उहाँका मार्गहरु हाम्रा भन्दा धेरै उच्च छन् ।

"किनकि मेरो विचारहरु तिमीहरुका विचार होइनन्, न त तिमीहरुका मार्गहरु मेरा मार्गहरु हुन्, परमप्रभु घोषणा गर्नुहुन्छ । जसरी आकाश पृथ्वीभन्दा उच्च छ त्यसरी नै मेरा मार्गहरु तिमीहरुका मार्गहरु भन्दा र मेरा विचारहरु तिमीहरुका विचारहरु भन्दा उच्च छन्" (यशैया ५५ः८-९) ।

त्यसैले हामी प्रायः उहाँको काम गर्ने तरिका वा उहाँको व्यवस्थापन गर्ने तरिका बुझ्न सक्दैनौं । यदि बच्चाले आफ्नो बुबाको सबै तरिका बुझ्न सक्दैन भने, हामी पनि परमेश्वरको सबै तरिका बुझ्न नसक्नु अचम्मको कुरा होइन । यद्यपि, हामी आत्मिकरुपमा बढ्दै जाँदा र ईश्वरीय स्वभावमा भाग लिँदै जाँदा, हामी परमेश्वरको तरिकाहरु अझ बढी बुझ्न थाल्नेछौं ।

सबै मानिसहरु र परिस्थितिहरुमा परमेश्वरको पूर्ण सार्वभौमिकता, एउटा यस्तो विषय हो जसको बारेमा धेरै विश्वासीहरु शंकामा रहन्छन्् । तिनीहरुले यसलाई ओठले स्वीकार गर्न सक्छन्, तर तिनीहरु दैनिक जीवनको परिस्थितिमा यसले "काम गर्छ" भनी विश्वास गर्दैनन् । तैपनि धर्मशास्त्रहरु परमेश्वरले आफ्ना मानिसहरुको तर्फबाट कसरी सार्वभौमिक रुपमा काम गर्नुभयो भन्ने उदाहरणहरुले भरिएका छन् - र प्रायः सबैभन्दा असम्भव तरिकाहरुमा ।

परमेश्वरले आफ्ना जनहरुको तर्फबाट काम गर्ने स्पष्ट तरिकाहरुसँग हामी मध्ये धेरै जना परिचित छौं - जस्तै मिश्र देशबाट इस्राएलीहरुको छुटकारा, आदि । तर शैतानले परमेश्वरका जनहरुलाई आक्रमण गर्दा परमेश्वरले कुन ठूला चमत्कारहरुद्वारा शैतानको त्यो युक्तिलाई उल्टाउनुभयो भनेर हामीले प्रायः छुटाएका छौं ।

योसेफको घटना उत्कृष्ट हो । याकूबको त्यो एघारौं छोरालाई तीस वर्षको उमेरमा मिश्रको दोस्रो शासक बनाउने योजना परमेश्वरको थियो ।

योसेफ परमेश्वरको भय मान्ने केटा थिए र त्यसैले शैतानले उनलाई घृणा गथ्र्यो । अनि शैतानले उनका ठूला दाजुहरुलाई उनलाई हटाउन उक्सायो । तर परमेश्वरले योसेफको ज्यान तिनीहरुले नलिने कुराको सुनिश्चित गर्नुभयो । यद्यपि, तिनीहरुले उनलाई केही इश्माएली व्यापारीहरुलाई बेच्न सफल भए । तर तपाईंलाई के लाग्छ ती व्यापारीहरुले योसेफलाई कहाँ लगे ? अवश्य पनि मिश्र ! त्यो परमेश्वरको योजनाको पहिलो चरणको पूर्णता थियो ।

मिश्रमा, योसेफले पोतिफरलाई किनेका थिए । यो पनि परमेश्वरले नै व्यवस्था गर्नुभएको थियो । पोतिफरकी पत्नी एक दुष्ट महिला थिइन् । योसेफ प्रति मोहित भएर उनले उनलाई बारम्बार लोभ्याउने प्रयास गरिन् । अन्ततः जब उनले सफल हुन नसक्ने कुरा थाहा पाइन्, उनले योसेफलाई झुटो आरोप लगाइन् र उनलाई जेलमा हालिन् । तर तपाईंलाई के लाग्छ योसेफले जेलमा कसलाई भेटे ? फारोको दाखमद्यको कचौरा बोक्नेलाई । परमेश्वरले फारोको कचौरा बोक्नेलाई पनि एकै समयमा जेलमा हाल्ने व्यवस्था गर्नुभएको थियो ताकि योसेफले उनलाई भेट्न सकून् । त्यो परमेश्वरको योजनाको दोस्रो चरण थियो ।

परमेश्वरको तेस्रो कदम भनेको फारोको दाखमद्यको कचौरा बोक्ने मानिसलाई दुई वर्षसम्म योसेफलाई बिर्सन दिनु थियो । "दाखमद्यको कचौरा बोक्ने मुख्य मानिसले योसेफलाई सम्झेन, तर उसलाई बिर्सियो । पूरा दुई वर्षको समयमा यस्तो भयो कि फारोले सपना देख्यो....त्यसपछि दाखमद्यको कचौरा बोक्ने मुख्य मानिसले फारोसँग कुरा गर्यो..." (उत्पत्ति ४०ः२३, उत्पत्ति ४१ः१-९) ।

परमेश्वरको समय तालिका अनुसार त्यो योसेफलाई जेलबाट मुक्त पार्ने समय थियो ।

भजन संग्रह १०५ः१९-२० ले भन्छ, "उहाँको वचन पूरा नभएसम्म, परमप्रभुको वचनले उनको परीक्षा गर्यो । त्यसपछि राजाले पठाए र मुक्त गरेर स्वतन्त्र पारे ।"

योसेफ अब ३० वर्षका भइसकेका थिए । परमेश्वरको समय आइसकेको थियो । अनि त्यसैले परमेश्वरले फारोलाई एक सपना दिए । अनि परमेश्वरले दाखमद्यको कचौरा बोक्नेलाई पनि आफ्नो सपनाको व्याख्याकर्ताको रुपमा योसेफको सम्झना दिलाउनुभयो । यसरी योसेफ फारोको सामु आए र मिश्रको दोस्रो शासक बने । योसेफको जीवनका घटनाहरुको सम्बन्धमा परमेश्वरको समय यो भन्दा उत्तम हुन सक्दैन !

हामीले कहिल्यै पनि परमेश्वरले जस्तै कामकुरा मिलाउने बारेमा सोचेका थिएनौं । यदि हामीसँग योसेफको जीवनको योजना बनाउने शक्ति भएको भए, हामीले सम्भवतः मानिसहरुलाई उसलाई कुनै पनि हानि गर्नबाट रोक्ने थियौं । तर परमेश्वरले यो गर्ने तरिका असल थियो ।

मानिसहरुले हामीलाई गर्ने दुष्टता हाम्रो लागि परमेश्वरको उद्देश्य पूरा गर्नमा परिणत हुनु धेरै ठूलो चमत्कार हो ! परमेश्वर शैतानका युक्तिहरुलाई उल्टाउनमा धेरै खुशी हुनुहुन्छ, ताकि सबै कुराहरु उहाँका चुनिएकाहरुको भलाइको लागि एकसाथ काम गरुन् ।

यी घटनाहरुलाई हाम्रो परिस्थितिमा लागु गरौं ।

दुष्ट मानिसहरु प्रति, हामीसँग ईष्र्या गर्ने दाजुभाइहरु प्रति, हामीलाई झुटो आरोप लगाउने महिलाहरु प्रति, हामीलाई मद्दत गर्ने वाचा गरेर बिर्सिने साथीहरु प्रति, वा अन्यायपूर्वक जेलमा हालिँदा हाम्रो दृष्टिकोण कस्तो हुनुपर्छ ?

के हामी विश्वास गर्छौं कि परमेश्वर यी सबै मानिसहरु र तिनीहरुले गर्ने सबै कुरा - चाहे जानाजानी होस् वा संयोगवश - हाम्रो जीवनको लागि उहाँको उद्देश्य पूरा गर्नको लागि सँगै काम गराउने कुरामा प्रयोग गर्न पर्याप्त सार्वभौम हुनुहुन्छ ? यदि उहाँले योसेफको लागि त्यसो गर्नुभयो भने, के उहाँले हाम्रो लागि पनि त्यसो गर्नुहुन्न र ? उहाँले पक्कै पनि गर्न सक्नुहुन्छ र उहाँले गर्नुहुनेछ ।

तर म तपाईंलाई भन्छु कि योसेफको जीवनको लागि परमेश्वरको योजनालाई कसले बिगार्न सक्थ्यो । केवल एक व्यक्ति - र त्यो योसेफ आफैं थिए । यदि उनी पोतिफरकी पत्नीको प्रलोभनहरुमा झुकेका भए, उनलाई परमेश्वरले पक्कै पनि अलग गर्नुहुने थियो ।

ब्रम्हाण्डमा केवल एक जना व्यक्ति छ जसले तपाईंको जीवनको लागि परमेश्वरको योजनालाई बिगार्न र विफल पार्न सक्छ - र त्यो तपाईं आफैं हुनुहुन्छ । अरु कसैले यो गर्न सक्दैन । न तपाईंका साथीहरुले न त तपाईंका शत्रुहरुले । न स्वर्गदूतहरुले न त शैतानले । केवल तपाईंले मात्र । जसै हामीले यो देख्छौं यसले हामीलाई हाम्रा धेरै डरहरुबाट र हामीलाई हानि पुर्‍याउनेहरु प्रतिको गलत मनोवृतिबाट हामीलाई मुक्त पार्नेछ ।