द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च चेलाहरू
WFTW Body: 

आज धेरै क्षेत्रहरु छन् जहाँ ख्रीष्टियानहरु पुरानो करारमा रहेर बाँचिरहेका छन्; उनीहरुलाई थाहा छैन कि नयाँ करार पेन्टिकोस्टको दिनमा स्थापित भएको थियो । यो लगभग भारतका मानिसहरुलाई हामी १९४७ मा स्वतन्त्र भएको कुरा थाहा नभएको जस्तो हो । कोही यसबारे अनभिज्ञ रहने कुरा कल्पना गर्न सक्नुहुन्छ ? ख्रीष्टियानहरुका लागि अझै पनि पुरानो करार अन्तर्गत रहेर बाँच्न उत्तिकै हाँस्यास्पद छ ।

धेरैजसो ख्रीष्टियानहरु धेरै क्षेत्रहरुमा पुरानो करारमा रहेर जीवन जिइरहेका हुन्छन् । पुरानो करारमा, तपाईंले आफ्ना पापहरु मात्र क्षमा पाउन सक्नुहुन्थ्यो (भजनसंग्रह १०३); नयाँ करारमा, रोमी ६ः१४ ले भन्छ कि पापले तपाईंमाथि शासन गर्नेछैन । जब मानिसहरुसँग केवल पापहरुको क्षमा हुन्छ, र पापमाथि कुनै विजय हुँदैन, तिनीहरु पुरानो करारमा बाँचिरहेका हुन्छन् । पुरानो करारमा एउटा भीड एउटै शरीरको रुपमा सँगै काम गर्न सक्दैनथ्यो । जब आजको मण्डली त्यस्तै हुन्छ, जब यो एउटै शरीरको रुपमा काम गर्न सक्दैन, त्यसले वास्तवमा एउटा पुरानो करारको मण्डली मात्र हो भनेर प्रमाणित गर्छ । जब दशांशलाई जोड दिइन्छ, त्यो पनि पुरानो करार हो ।

हामीले आज ख्रीष्टियानजगतमा दशांश दिने कुरामा जोड दिने कुरा पूर्णतया पुरानो करार हो, त्यसैले हामीले नयाँ नियमको दिने सिद्धान्तहरु बुझ्नु आवश्यक छ । नयाँ नियममा १०% तिर्नुपर्छ भनेर कुनै पनि व्यवस्था छैन । पुरानो नियममा दशांश दिनुपर्ने आज्ञा दिइएको कुरा मलाकीको पुस्तकमा अन्तिम चोटी उल्लेख गरिएको छ । जब येशूले मत्ती २३ मा यसको उल्लेख गर्नुभयो, उहाँ फरिसीहरु र यहूदीहरुसँग कुरा गर्दै हुनुहुन्थ्यो जो अझै पनि पुरानो करारमा बाँचिरहेका थिए । नयाँ करार पेन्टिकोस्टको दिनमा स्थापित भएको थियो, र त्यसपछि, ख्रीष्टियानहरुलाई दशांश तिर्ने एउटा पनि आज्ञा छैन । दशांशको कुनै सन्दर्भ छैन ।

हिब्रूको पुस्तकमा अब्राहामले मल्कीसेदेकलाई १०% दिएको कुरा अस्पष्ट रुपमा उल्लेख गरिएको छ, तर अब्राहामले पालना गरिरहेको त्यो कुरा व्यवस्था थिएन । उनले आफूले मन लागेको दिन सक्थे । यो १०% नै भयो, तर अब्राहामले व्यवस्था पालना गरिरहेका थिएनन्, र यदि उनले त्यो नगरेको भए उनले पाप गर्ने थिएनन् ।

नयाँ करारमा, दिने सिद्धान्तहरु गोप्य हुनुपर्छ (मत्ती ६ः१-४), खुशीसाथ (२ कोरिन्थी ९ः७), र तपाईंले कमाएको कुराको अनुपातमा (१ कोरिन्थी १६ः२) । तपाईंले कति दिनुपर्छ भन्ने बारेमा कुनै कानून छैन । परमेश्वरले तपाईंलाई समृद्धी दिनुभए अनुरुप तपाईंले दिन सक्नुहुन्छ । यदि तपाईंसँग धेरै छ, र तपाईंसँग प्रशस्त मात्रामा बाँकी छ भने, तपाईं धेरै दिन सक्नुहुन्छ; र तपाईंसँग प्रशस्त मात्रामा नहुँदा तपाईंले दिनु पर्दैन । त्यो ठीक छ, किनकि परमेश्वर एक अर्बपति हुनुहुन्छ र उहाँ चाहनुहुन्न कि उहाँका कुनै पनि गरिब सन्तानले उहाँलाई दिएर दुःख भोगून् ।

यदि तपाईंले यी सिद्धान्तहरु बुझनुभएन भने, धेरै पास्टर र प्रचारकहरुले तपाईंको शोषण गर्नेछन् र तपाईंको आर्थिकको फाइदा उठाउनेछन् । तर यो कुरा मनमा राख्नुहोस्, जब हामी दिन्छौं हामीले गोप्य रुपमा दिनुपर्छ । तपाईंले के दिँदै हुनुहुन्छ भनेर प्रकट गर्न लगाउने कुनै पनि मण्डलीले वास्तवमा तपाईंलाई मत्ती ६ः१-४ मा उल्लेख गरिएको परमेश्वरको वचनको अवज्ञा गर्न आग्रह गरिरहेको हुन्छ । सम्भव भएसम्म हाम्रो सबै दिआई गोप्य, स्वैच्छिक र खुशीसाथ हुनुपर्छ ।

यसैकारण म व्यक्तिगत रुपमा यो विश्वास गर्दिन कि हामीले मानिसहरुको अगाडि झोला राख्नुपर्छ र मानिसहरुले खुशीसाथ नदिँदा पनि दिन बाध्य पार्नुपर्छ । उनीहरुलाई गोप्य रुपमा दिन सम्भव नहुन सक्छ, किनभने उनीहरुका छिमेकीहरुले उनीहरुलई दिइरहेको हेरिरहेका छन् । मलाई विश्वास छ कि यो गर्ने तरिका मण्डलीमा कतै एउटा बाकस राख्नु हो जहाँ मानिसहरु स्वेच्छाले गोप्य रुपमा खुशीसाथ र आफ्नो क्षमता अनुसार दिन्छन् । तर धेरै कम मण्डलीहरुले यो अभ्यास गर्छन् किनभने धेरैजसो ख्रीष्टियान प्रचारकहरुमा र धेरैजसो ख्रीष्टियान मण्डलीहरुमा पैसाको ठूलो मोह हुन्छ ।

याद गर्नुहोस्, मत्ती ५ः२० -- "तिमीहरुको धार्मिकता फरिसीहरुको धार्मिकताभन्दा बढी हुनुपर्छ" -- डाँडाको उपदेशको बाँकी भागको लागि लगभग शीर्षक हुनसक्छः "हामी परमेश्वरको राज्यमा प्रवेश गर्नको लागि हाम्रो धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकताभन्दा बढी हुने तरिकाहरु ।"

हामीले दिने कुराको सन्दर्भमा, येशू भन्नुहुन्छ कि हाम्रो मनोवृत्ति फरिसीहरुको भन्दा पूर्णतया फरक हुनुपर्छ, कपटीहरु जो मानिसहरुलाई उनीहरुले के दिइरहेका छन् भनेर जान्न चाहन्थे । उहाँले मानिसहरुको अगाडि आफ्नो धार्मिकताको अभ्यास गर्नदेखि सावधान रहन भन्नुभयो । त्यो आधारभूत सिद्धान्त हो । येशूले भन्नुभयो कि मानिसहरुलाई देखाउनको लागि यो नगर ।

मानिसहरुले यी कुराहरु याद गर्नबाट हामी कहिलेकाहीं बच्न सक्दैनौं, र यदि मानिसहरुले गल्तीले यी कुराहरु थाहा पाए भने, वा यदि यसबाट बच्ने कुनै उपाय छैन भने हामीले दोषी महसुस गर्नुपर्दैन, तर मानिसहरुले याद गरुन् भनेर हामी यी कुराहरु गर्दैनौं । यही नै मुख्य कुरा हो । अन्यथा स्वर्गमा हुनुहुने तपाईंको पिताबाट तपाईंलाई कुनै इनाम मिल्दैन । यस पद अनुसार, प्रभुको कामको लागि दिएका धेरै मानिसहरुले स्वर्गमा कुनै इनाम पाउने छैनन्, किनभने तिनीहरु चाहन्थे कि तिनीहरुले कति दिए भनेर अरु मानिसहरुले जान्न सकून् ।

यदि तपाईंले गोप्य रुपमा दिनुभयो भने, गोप्यरुपमा देख्नुहुने तपाईंको पिताले तपाईंलाई फिर्ता दिनुहुनेछ । त्यो एउटा अद्भुत इनाम हो जुन परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, कि यदि हामीले यहाँ उहाँको आज्ञा पालन गर्यौं भने, एक दिन, जब ख्रीष्ट फेरि आउनुहुनेछ, बलिदान र गोप्य रुपमा दिनेहरुका लागि ठूलो इनाम हुनेछ ।