WFTW Body: 

यहोशू १:१,२ ले बताउँछ, "अब परमप्रभुका दास मोशाको मृत्युपछि यस्तो भयो - मोशाका सेवक नूनका छोरा यहोशूसँग परमप्रभु यसो भन्दै बोल्नुभयो: "मेरो दास मोशा मर्यो; यसकरण अब उठ - तिमी र यी सबै मानिसहरु; यस यर्दनपारि त्यस देशमा जाऊ, जो म तिनीहरुलाई अर्थात् इस्राएलीहरुलाई दिन्छु।" परमेश्वर आफैले यहोशूलाई उठाउनुभयो र मोशा पछिको अगुवा हुनको निम्ति अभिषेक गर्नुभयो। यदि परमेश्वरले नै अगुवा नियुक्त गर्नुभएको छैन भने त्यो व्यक्तिको अगुवाई प्रभावकारी हुदैनँ। जुन ठाउँमा यहोशूले पाईला टेक्नेछन्, त्यो ठाउँ उनलाई परमेश्वरले दिनुहुनेछ भनि उहाँले आफैले बताउनुभयो (पद ३), र उनको सामु कोहि पनि खडा रहन सक्नेछैन (पद ५)। यो रोमी ६:१४ मा दिइएको वाचाको चित्रण हो, "किनकि पापले तिमीहरुमाथि राज्य गर्नेछैन; किनभने तिमीहरु व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।" कनानको भूमिलाई पहिले विशाल मानिसहरुले शासन गरेका थिए, जसलाई बाईबलमा दैत्य पनि भनिएको छ। तर तिनीहरु सबैले हारे। कुनै पनि पापले (जति नै शक्तिशाली भए ता पनि) हामीलाई जित्न सक्दैन। यो हाम्रो निम्ति परमेश्वरको चाहना हो। तर यहोशूले त्यस भूमिमा आफ्नो पाईला राख्नुपर्थ्यो र परमेश्वरको नाममा त्यसलाई कब्जा गर्नुपर्थ्यो। तब मात्र त्यो भूमि उनको हुनेथ्यो। हामीलाई पनि त्यहि नै हो। हामीले हाम्रो पैतृक - सम्पत्ति विश्वासद्वारा प्राप्त गर्नुपर्छ। यदि हामीले उहाँको प्रतिज्ञालाई पक्रि राख्दैनौ भनें, ति हाम्रो जिवनमा कहिल्यै पनि पूरा हुदैनन्।

पावलले सुसमचारमा येशूको नाममा आफ्नो अधिकार लिए, र त्यसको प्रतिफल एउटा महिमित जिवनको रुपमा आयो। उनले २ कोरिन्थी २:१४ मा बताउछन्, "परमेश्वरलाई धन्यवाद होओस्, जसले ख्रीष्टमा हामीलाई सधै विजयी बनाउनुहुन्छ।" पावलको विजयको गीत यहि थियो, "सधैभरि विजय" - र यो गीत आज तपाईको पनि हुन सक्छ। तर धेरै जसो विश्वासीहरु कहिल्यै पनि यस विजयको जिवनमा प्रवेश गर्नुहुन्न। मिश्रबाट ६००,००० इस्राएलिहरु निस्केर आएका थिए; तर तिनीहरुमध्ये केवल दुई जना - यहोशू र कालेब - कनानभित्र पसे। विश्वासीहरुमा पनि केवल (६००,००० मा २ जना) विजयको जिवनमा प्रवेश गर्न पाउछन्। यहोशू र कालेब प्रतिज्ञाको भूमिमा पसे किनकि उनिहरुमा यस प्रकारको मनोभाव थियो: " यदि परमेश्वरले हामीलाई यो भूमि कब्जा गर्न दिनुभएको छ भने, हामीले यो गर्न सक्छौ।" यो विश्वास हो। विश्वासले केवल परमेश्वरले हामीलाई दिनुभएको प्रतिज्ञालाई मात्र निसाना बनाउँछ तर कहिल्यै पनि हामीलाई आईपर्ने समस्याहरुको हिसाब राख्दैन। अरु इस्राएलीहरुले भने, "यो असम्भव छ। ति दैत्य (अथवा विशाल मानिसहरु) ठूला र शक्तिशाली छन्।" आज पनि विश्वासीहरुले यो सोच्छन् कि रिसाउनु र आफ्नो आँखाले अभिलाषा गर्ने कुराहरुलाई जित्नु असम्भव छ, किनकी ति अभिलाषाहरु यत्ति धेरै सामर्थी छन् कि त्यस्ले तिनीहरुलाई धेरै समयदेखि शासन गरिरहेका छन्। ति विश्वासीहरु आफ्नो जिवनभर हार खाएर बस्छन् र (आत्मिक रुपमा भन्दा) उजाडस्थानमा नष्ट हुनेछन्।

परमेश्वरले यहोशूलाई यो निश्चयता दिनुभयो कि, "म तिमीसँग हुनेछु।" त्यसैले कुनै पनि मानिस यहोशूको सामु खडा हुन सक्दैनथ्यो। हामीले पापलाई कुनै शिक्षालाई पच्छ्याएर वा आफ्नो अनुभवको कारणले जित्न सक्दैनौँ। अहँ, सक्दैनौँ! हामीले पापलाई जित्न सक्ने केवल एउटा उपाय छ, र त्यो हामीसँग केवल परमेश्वरको आत्माको निरन्तर उपस्थिति हुनु हो। परमेश्वर ख्रीष्टिय समाजमा यस्तो अगुवाहरुको खोजमा हुनुहुन्छ जसलाई उहाँले सहायता गर्न सक्नुभएको होस्, किनकी तिनीहरुको हृदय शुध्द छ। परमेश्वरले यहोशूलाई भन्नुभयो: " बलिया होऊ र साहसी होऊ; किनकि तिमीले यी मानिसहरुलाई त्यो देश अधिकारको भागको रुपमा बाँड्नेछौ, जुनचाहिँ मैले तिनीहरुका पितापुर्खाहरुसित तिनीहरुलाई दिन्छु भनेर कसम खाएको थिएँ " (पद ६)। हामी पापसँग डराउनु पर्दैन। हामीले त परमेश्वरको जनहरुको बिचमा गएर उहाँहरुको शरीरमा पापमाथि विजय पाउन मदत गरनुपर्छ - त्यो शरीर जसमा पापले धेरै वर्षदेखि राज्य गरेको थियो। उहाँहरुलाई केवल विश्वासमा ल्याएर बप्तिस्मा दिनु पर्याप्त छैन - ढोकाको खाबाहरुमा रगत लेप्ने, लाल समुन्द्र पार गर्ने र बादलमा ढाकिने। यो त केवल सुरुवात हो। यो केवल आफ्नो बच्चालाई प्ले ग्रुपमा भर्ना गर्नुजस्तै हो। के हामी आफ्नो बालकलाई प्ले ग्रुप पास गरेपछि पढ्न जान रोक्छौ र? रोक्दैनौँ। तर आज ख्रीष्टिय जगतमा त्यहि भइरहेको छ।

बादलको खाबा ‍- पवित्र आत्माको बप्तिस्मा - उनिहरुलाई प्रतिज्ञाको भूमि तर्फ लानलाई अगुवाई गर्छ। उनिहरु २ वर्षमा भित्र पसिसक्नुपर्थ्यो, तर उनिहरु ४० वर्षसम्म पनि छिर्न सकेनन्, किनकी उनिहरुको अगुवाहरुमा विश्वासको कमि थियो। "विश्वास सुनाईद्वारा आउछ" (रोमी १०:१७)। यदि विश्वासीहरुलाई यि कुराहरु मण्डलीको सेवाकाईमा सिकाइदैन भने, उनिहरुले कसरी विश्वास गर्न सक्छन्? तब उनिहरुले कसरी पापमाथि विजय पाउन सक्छन्?

परमेश्वरले यहोशूलाई भन्नुभयो: "मेरो दास मोशाले तिमीलाई आज्ञा गरेको यस सम्पूर्ण व्यवस्थाअनुसार तिमीले होशियारसाथ पालन गर्न भनी केवल बलिया होऊ र खूब सहासी होऊ; यसबाट दाहिनेतिर वा देब्रेतिर नलाग! तबतिमीले जहीं गए पनि सफलता पाउनेछौ" (पद ७)। यदि परमेश्वरको वचनले "किनकि पापले तिमीहरुमाथि राज्य गर्नेछैन," भनि बताउँछ भने त्यसलाई विश्वास गर्नुहोस् र स्वीकार गर्नुहोस्। दाहिनेतिर वा देब्रेतिर नलाग्नुहोस्। यसको अर्थ यो हो कि: त्यस वाचाको नापलाई नघटाउनुहोस्। यसलाई कुनै पापहरु मात्र भन्दै नघटाउनुहोस्। त्यहि समयमा, त्यसले भन्न खोजेको भन्दा बढि अर्थ पनि नलगाउनुहोस्। यो नभन्नुहोस् कि हामी यस संसारमा ख्रीष्ट जत्ति नै शिध्द हुन सक्छौ। हामी यस संसारमा पापबिना शुध्द हुन सक्दैनौ। परमेश्वरले यो वाचा गर्नुभएको छैन। यसले केवल हामीले जुन पाप हो भनि जानेको छौ, त्यो पापमाथिको विजयको बारेमा बताएको छ, अर्को अर्थमा - जानि जानि गरिने पाप। हामी ख्रीष्ट आउनुभएपछि मात्र उहाँजस्तो हुन सक्छौ। १ यूहन्ना ३:२ यो विषयमा स्पष्ट छ। त्यसैले पवित्रशास्त्र भन्दा बाहिर नजाऔँ, र पवित्रशास्त्रले वाचा गर्नुभएको भन्दा कम पनि नबुझौँ।