द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने
WFTW Body: 

उजाडस्थानमा दोस्रो परीक्षामा, शैतानले येशूलाई भन्यो, "यदि तपाईं परमेश्वरको पुत्र हुनुहुन्छ भने किन तपाईं मन्दिरको टुप्पोबाट तल हाम फाल्नुहुन्न र परमेश्वरको प्रतिज्ञाको दाबी गर्नुहुन्न ?" (मत्ती ४ः६) उसले भजन संग्रह ९१ पनि उद्धृत गर्यो, "उहाँले आफ्ना स्वर्गदूतहरुलाई तिम्रो निम्ति आज्ञा दिनुहुनेछ; तिनीहरुले तिमीलाई आफ्ना हातहरुले थाम्नेछन्, नत्रता तिम्रा खुट्टा ढुंगामा ठोकिनेछ ।"

मत्ती ४ः७ मा, येशूले जवाफ दिनुभयो, "तिमीले परमप्रभु तिमीहरुका परमेश्वरको परीक्षा नगर्नू ।" यो एकदमै महत्वपूर्ण सिद्धान्त हो । यो व्यावहारिक हिसाबले कसरी लागूहुन्छ ? यहाँ येशूलाई मन्दिरको छानाबाट हाम फाल्ने, भजनसंग्रह ९१ मा दिइएको प्रतिज्ञा दाबी गर्ने र मन्दिरको आँगनमा सुरक्षितसाथ ओर्लने कुराको प्रलोभन आएको थियो ताकि मानिसहरुले देख्न सकून् र कराउन्, "आहो, परमेश्वरको कस्तो महान मानिस ! उहाँको विश्वासलाई हेर, उहाँले त्यो प्रतिज्ञा कसरी दाबी गर्नुभयो र उहाँलाई चोट लागेन ।" अनि येशूले भन्नुभयो, "म यसरी परमेश्वरको परीक्षा लिनेछैन ।" मन्दिरको छानाबाट तल जानको लागि भर्याङ्गको व्यवस्था गरिएको छ भने, हाम फाल्नु पर्दैन । येशूको इन्कारको अर्थ यो हो कि हामी परमेश्वरले प्रदान गर्नुभएको माध्यम प्रयोग गर्न सक्छौं र उहाँलाई कुनै शानदार तरिकाले हाम्रो लागि केही गर्न बिन्ती गरेर उहाँलाई कुनै प्रलोभनमा पार्न सक्दैनौं ।

उदाहरणको लागि, प्रेरित ८ः३९ मा, हामी एउटा घटनाको बारेमा पढ्छौं जहाँ फिलिपले नपुंसकलाई प्रचार गरेपछि, पवित्र आत्माले फिलिपलाई माथि उठाएर अश्दोद भनिने अर्को ठाउँमा पुर्याउनुभयो । पवित्र आत्माले उनलाई आजको हेलिकप्टरले जस्तै हवाई यात्रा बाट उद्धार गर्नुभयो । अब, यदि तपाईं एक ठाउँबाट अर्को ठाउँमा जान चाहनुहुन्छ, र तपाईंले "हे प्रभु, मेरो लागि त्यो गर्नुहोस्" भन्दै परमेश्वरलाई जाँच गर्ने प्रयास गर्नुहुन्छ भने, त्यो परमेश्वरको परीक्षा गर्नु हो । यदि परमेश्वरले बस, रेल, स्कूटर र हवाईजहाजको व्यवस्था गर्नुभएको छ भने, हामीलाई त्यसरी लैजानको लागि पवित्र आत्मालाई किन बिन्ती गर्नुपर्छ ?

परमेश्वरलाई परीक्षामा पार्ने अर्को तरिका भनेको प्रतिज्ञा दाबी गर्ने प्रयास गर्नु हो ताकि म पछि गएर परमेश्वरले मेरो लागि गर्नुभएको एउटा अद्भुत कामको गवाही दिन सकूँ । उदाहरणको लागि, त्यहाँ मानिसहरु छन् जो बिरामी हुँदा भन्छन्, "पल्लो सडकमा औषधिहरु उपलब्ध भए पनि र हामीलाई सल्लाहहरु दिन डाक्टरहरु उपलब्ध भए पनि म परमेश्वरमा मेरो चंगाईको लागि भरोसा गर्नेछु । हामी ती डाक्टरहरु र ती औषधिहरु प्रयोग गर्दैनौं ।" अनि धेरै मूर्ख ख्रीष्टियानहरु छन् जो यसरी नै मरेका छन्, वा आफ्ना छोराछोरीहरुलाई मर्न दिएका छन् र आफ्ना पत्नीहरुलाई मर्न दिएका छन्, किनभने तिनीहरुले "प्रभु मेरो निको पार्ने व्यक्ति हुनुहुन्छ, त्यसैले मलाई औषधिको आवश्यकता छैन" भन्ने प्रतिज्ञा दाबी गर्ने प्रयास गर्छन् । जब परमेश्वरले मन्दिरमा भर्याङको व्यवस्था गर्नुभएको छ, उहाँ तपाईले छतबाट हाम फाल्ने र भजनसंग्रह ९१ दाबी गर्ने प्रयास गर्नुको सट्टा ती भर्याङहरु प्रयोग गर्ने अपेक्षा गर्नुहुन्छ । त्यसैगरी, जब परमेश्वरले औषधिहरु प्रदान गर्नुभएको छ, उहाँ तपाईंले ती औषधिहरु प्रयोग गर्नुभएको र प्रभुले तपाईंलाई निको पार्नुहुनेछ भन्ने प्रतिज्ञा मूर्खतापूर्ण तवरले दाबी नगरेको अपेक्षा गर्नुहुन्छ । फिलिपलाई जस्तै प्रभुले तपाईंलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान आग्रह गर्नु जत्तिकै मूर्खतापूर्ण छ ।

हामीले यो पनि सम्झनुपर्छ कि पपरमेश्वरले निश्चित मानिसहरुका लागि निश्चित काम गर्नुहुन्छ । उहाँले हरेक विश्वासीको लागि प्रत्येक चमत्कार गर्नुहुन्न हामी धर्मशास्त्र अध्ययन गर्दा धेरै होसियार हुनुपर्छ कि हामी आफ्नो लागि केही सम्मान प्राप्त गर्न केही शानदार काम गर्ने प्रयास गरिरहेका छैनौं । मानिसहरुबाट सम्मान पाउने चाहना हाम्रो शरीरमा यति गहिरो जरा गाडेको हुन्छ, तर कहिले काहिँ हामीलाई यसको बारेमा थाहा पनि हुँदैन । महान् कुराहरु मध्येकोे यो एक हो जसको विरुद्धमा येशूले आफ्ना चेलाहरुलाई लडाई गर्न सिकाउनुभएको छ । यहाँ आधारभूत परीक्षा चाहिँ सम्मान प्राप्त गर्ने, परमेश्वरको प्रतिज्ञा दाबी गर्ने र मन्दिरको आँगनमा बिनाचोट ओर्लने थियो र मानिसहरुले तपाईंको प्रशंसा गर्नेछन् ।

तर परीक्षा कम शानदार तरिकाले पनि आउन सक्छ । येशूले मत्ती ६ मा भन्नुभयो, "जब तिमी प्रार्थना गर्छौ, तब तिमीले प्रार्थना गरिरहेको सुन्ने मानिसहरुबाट सम्मान पाउने गरी प्रार्थना नगर, र उपवास बसेर सबैलाई कति दिन उपवास बसेको छ भनेर नबताऊ ।" यदि तिमीले त्यसो गर्यौ भने, यो सम्मान प्राप्त गर्नको लागि हुनेछ । उहाँले यो पनि भन्नुभयो, "जब तिमी दिन्छौ, तिमीले के दियौ भनेर कसैलाई थाहा नदेऊ ।" तैपनि धेरै ख्रीष्टियानहरुले यी आज्ञाहरु उल्लङ्घन गरेका छन्, सम्मान खोज्दै र परमेश्वरको परीक्षा गर्दै ।