द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   घर चर्च भगवानलाई चिन्ने
WFTW Body: 

"अरुको न्याय नगर वा दोषी नठहराऊ, नत्रता तिमी न्यायमा पर्नेछौ र दोषी ठहराइनेछौ । किनकि तिमीले जुन तरिकाले न्याय गर्दछौ त्यसरी नै तिम्रो न्याय गरिनेछ; र तिमीले जुन नापले नाप्नेछौ त्यही नापले तिमीलाई नापिनेछ । तिमी किन आफ्नो भाइको आँखामा भएको धूलोको कणलाई देख्दछौ, तर तिमीले आफ्नै आँखामा भएको मुढालाई देख्दैनौं ? अथवा हेर, मुढा तिम्रो आफ्नै आँखामा छ, र तिमीले कसरी आफ्नो भाइलाई भन्नसक्छौ, 'मलाई तिम्रो आँखाबाट धूलोको कण निकाल्न देऊ' ? ए कपटी, पहिला तिम्रो आँखाबाट मुढा निकाल, र त्यसपछि तिमीले आफ्नो भाइको आँखाबाट धूलोको कण निकाल्न स्पष्टसँग देख्न सक्छौ" (मत्ती ७ः१-५) ।

दुर्भाग्यवश, ख्रीष्टियानहरुको माझ मानिसहरुको न्याय गर्नु, तिनीहरुलाई तुच्छ ठान्नु, र तिनीहरुको तिरस्कार गर्नु एकदमै सामान्य अभ्यास हो । धेरैजसो समय जब तपाईंलाई तिनीहरुको बारेमा सबैकुरा थाहा हुँदैन, आफूलाई अरुभन्दा ठूलो ठान्नु सामान्य अभ्यास हो । हिब्रू ९ः२७ मा भनिएको छ, "यो तोकिएको छ कि मानिस एक पटक मर्नुपर्छ र त्यसपछि न्याय आउँछ ।" त्यसोभए यस ब्रम्हाण्डको सृष्टिकर्ता, सर्वशक्तिमान परमेश्वरले मानिसहरुको न्याय कहिले गर्नुहुन्छ ? यस पद अनुसार, "एकपटक मर्नुपर्छ र त्यसपछि न्याय आउँछ ।" त्यसैले परमेश्वरले मृत्यु पश्चातमात्र मानिसहरुको न्याय गर्नुहुन्छ ।

तपाईंले मानिसहरुको न्याय कहिले गर्नुहुन्छ ? तपाईंले मानिसहरुको मृत्यु हुनुभन्दा धेरै पहिले नै न्याय गर्नुहुन्छ । परमेश्वरले किन एक व्यक्तिको न्याय गर्नु अघि मृत्यु नहोउन्जेल पर्खनुहुन्छ ? ऊ दुष्ट व्यक्ति हुनसक्छ, तर परमेश्वर भन्नुहुन्छ, "मसँग उसको लागि आशा छ । सायद ऊ परिवर्तन हुनेछ," त्यसैले परमेश्वरले पर्खनुहुन्छ । यदि परमेश्वरले क्रुसमा मर्दै गरेको चोरलाई न्याय गर्नुभएको भए के हुन्थ्यो होला, सोच्नुहोस्, जो मर्नुभन्दा पहिले स्वर्गमा गएको थियो । यदि परमेश्वरले उसको मृत्यु हुनुभन्दा केही मिनेट भन्दा अगाडि वा केही घण्टा अगाडि पनि उसको न्याय गर्नुभएको भए, विचार गर्नुहोस् । त्यो भयानक हुने थियो । ऊ अन्ततः स्वर्ग जान योग्य थियो, तर उसको न्याय गरिन्थ्यो र नरकको सजाय सुनाइन्थ्यो । परमेश्वरले उसको मृत्यु नभएसम्म पर्खनुभयो, र त्यसपछि उसलाई स्वर्गमा लैजानुभयो । यसले यही देखाउँछ कि परमेश्वरले कुनै व्यक्तिको मृत्यु नभएसम्म पर्खनुहुन्छ र उसलाई न्याय गर्नुहुन्छ । मानिस अधीर हुन्छ र मानिसको मृत्यु हुनुभन्दा धेरै अघि नै उसको न्याय गर्दछ । यो मानिसको मूर्खता हो । उसलाई सबै तथ्यहरु थाहा छैन । उसलाई कुनै व्यक्तिको निजी, आन्तरिक जीवनको ९९% कुरा थाहा छैन । उसलाई थाहा छैन कि त्यो व्यक्तिले कति संघर्ष गरेको छ वा प्रार्थना गरेको छ, तर उसले त्यसको न्याय गर्छ । कुनै पनि गम्भीर उच्च अदालतमा न्यायधीशले यति थोरै प्रमाणको साथ कहिल्यै न्याय गर्दैनन् । यदि कुनै न्यायधीशलाई मुद्दाको १% मात्रै थाहा छ भने, उसले भन्नेछ, "सुन्नुहोस्, मलाई फैसला सुनाउनु अघि थप प्रमाण चाहिन्छ । त्यतिन्जेलसम्म, म फैसला स्थगित गर्नेछु ।" हरेक ख्रीष्टियानले पनि यही भन्नुपर्छ ।

जब हामीले कुनै व्यक्तिको न्याय गर्छौं, हामी वास्तवमा हाम्रो आफ्नै हृदयको अवस्था देखाइरहेका हुन्छौं । हितोपदेश २७ः१९ मा भनिएको छ, "जसरी पानीमा अनुहारले अनुहार प्रतिबिम्बित गर्छ, त्यसरी नै मानिसको हृदयले मानिसलाई प्रतिबिम्बित गर्छ ।" वा ऐनामा जस्तै, मानिसले आफ्नो अनुहार देख्छ । यसको मतलब तपार्ईंले त्यो व्यक्तिको हृदयमा नराम्रो मनसायको रुपमा फेला पार्ने कल्पना गर्नुभएको कुरा तपाईंको आफ्नै हृदयमा भएको गलत मनोवृत्तिको संकेत मात्र हो । तपाईं कल्पना गर्नुहुन्छ कि मानिसले राम्रो मनसायले त्यस्तो गर्न सक्दैन । तपाईं सोंच्नुहुन्छ, "यो पक्कै पनि नराम्रो मनसायले गरेको हुनुपर्छ किनभने म आफैंले पनि यस्तो काम खराब मनसायले मात्र गर्नेछु ।" तपाईं आफ्नै हृदय प्रकट गर्दै हुनुहुन्छ । अरु मानिसहरुको न्याय गर्नु ठूलो मूर्खता हो ।

हराएको छोराको कथालाई विचार गर्नुहोस् । हराएको छोराको कथामा हामीले जेठो छोराको बारेमा पढ्छौं । हराएको छोराको पुनरागमनमा बुबा रमाउँदै गरेको देखेर ऊ धेरै दुःखी भयो । जब बुबा बाहिर जानुहुन्छ र जेठो छोरालाई सोध्नुहुन्छ कि ऊ किन भित्र आएको छैन, हेर्नुहोस् लूका १५ः३० मा उसले के भन्छ, "यो तिम्रो छोरा ।" उसले उनीलाई "यो मेरो भाइ" पनि भन्दैन । कस्तो घृणित बोल्ने तरिका । "उसले तपाईंको सम्पत्ति वेश्याहरुसँग खायो ।" उसलाई यो कसरी थाहा भयो ? उसले कसरी कल्पना गर्‍यो कि उसको कान्छो भाइ वेश्याहरुसँग घुमिरहेको छ ? के कोही उसलाई त्यो कुराको सूचना दिन आयो ? पटक्कै होइन । उसले सोच्यो कि यो मान्छे, उसको कान्छो भाइ, वेश्याहरुमा पैसा खर्च गरिरहेको हुनुपर्छ । यो पटक्कै सत्य नहुन सक्छ । उसले रक्सी पिइरहेको हुनसक्छ र मूर्ख तरिकाले आफ्नो पैसा बर्बाद गरिरहेको हुनसक्छ, तर सायद वेश्याहरुमा होइन । तर जब तपाईंसँग यो जेठो भाइको आफ्नो कान्छो भाइप्रतिको व्यवहार जस्तै गलत दृष्टिकोण हुन्छ, तपाईं सधैं अर्को व्यक्तिको बारेमा सबैभन्दा नराम्रो कल्पना गर्नसक्नुहुन्छ । अनि जब तपाईं अरु कसैको बारेमा सबैभन्दा नराम्रो कल्पना गर्नुहुन्छ, तपाईंले बुझ्न सक्नुहुन्छ कि अर्को व्यक्तिको समस्या भन्दा तपाईंको समस्या बढी छ । अर्को व्यक्तिले आफ्नो बुबासँग खाना खाने टेबलमा बसेर मोटो बाछोको आनन्द लिनसक्छ, र तपाईं घर बाहिर रहन सक्नुहुन्छ ।

हराएको छोराको कथा एउटा यस्तो कथा हो जहाँ कथाको सुरुमा कान्छो छोरा घर बाहिर हुन्छ र जेठो छोरा भित्र हुन्छ । कथाको अन्त्यमा, कान्छो छोरा घर भित्र हुन्छ र जेठो छोरा घर बाहिर हुन्छ, किनकि उसले मानिसहरुको न्याय गरिरहेको हुन्छ । अपर्याप्त जानकारीको आधारमा मानिसहरुको न्याय गरेको कारणले तपाईं पिताको घर बाहिर जानुहुन्न भन्ने कुरामा निश्चित रहनुहोस् । सबैभन्दा सुरक्षित कुरा भनेको न्याय नगर्नु हो ।

न्याय नगर । येशू भन्नुहुन्छ, यदि तिमीले न्याय गरिरहेका छौ भने पनि, तिमी के गर्दैछौ, आफ्नै आँखामा मुढा हुँदा, आफ्नो भाइको आँखामा भएको सानो धूलोको कणको न्याय गर्दैछौ ? उहाँले त्यही भन्नुभयो । मानिसको आँखामा भएको मुढा के हो ? तपाईंको आँखा भित्र भौतिक मुढा हुन सक्दैन । तर येशूले उसको पापको तुलनामा तपाईंको पाप कति गम्भीर छ भनेर देखाउन अतिरञ्जित गर्दै हुनुहुन्छ । हुनसक्छ, उसले केही भयानक गल्ती गर्‍यो । तर उसको पापको तुलनामा, जुन केवल एक धूलोको कण जस्तै हो, त्यो व्यक्ति प्रतिको तपाईंको अप्रिय मनोवृत्ति मुढा जस्तै हो ।

हुनसक्छ ऊ वेश्याहरुकहाँ गएको थियो । ठीक छ, त्यो पाप हो । तर त्यो पनि ऊ प्रतिको तपाईंको अप्रिय मनोवृत्तिको तुलनामा केवल एउटा कण मात्र हो । त्यो मुढा जस्तै हो । प्रभुले अरुप्रतिको तपाईंको अप्रिय मनोवृत्तिबाट छुटकारा पाउन भन्नुहुन्छ । उहाँ भन्नुहुन्छ कि त्यो व्यक्तिप्रतिको अप्रिय मनोवृत्तिले तपाईंलाई निरन्तर त्यो व्यक्तिको गल्ती खोज्नतिर मन लगाउँछ । त्यो व्यक्तिले जे गर्छ, तपाईंले त्यसमा गलत मनसाय राख्नुहुन्छ । त्यो व्यक्तिले केही नराम्रो गर्न सक्दैन । त्यो व्यक्ति तपाईंको नजरमा दुष्ट छ, तर तपाईंले त्यो व्यक्ति प्रति यस्तो अप्रिय मनोवृत्ति राख्दा तपाईं कति दुष्ट बन्नुहुन्छ भनेर देख्नुहुन्न । त्यसोभए, उहाँले के भन्नुहुन्छ ? एकजना मानिसको कल्पना गर्नुहोस्, जसको दृष्टि धेरै कमजोर छ । के तपाईं त्यो व्यक्तिकहाँ आफ्नो आँखाबाट केही निकाल्न जानुहुन्छ ? के तपाईं त्यस्तो आँखाको डाक्टर कहाँ जानुहुन्छ जो मोतिबिन्दु र आँखाको अन्य समस्याका कारण लगभग अन्धो छ ? म त्यो व्यक्तिको नजिक कतै जान चाहन्न ।

परमप्रभुले यही भन्नुहुन्छ । जब तिम्रो आँखामा ठूलो मुढा हुन्छ जसले तिमीलाई राम्रोसँग देख्नबाट रोक्छ, तिमीले आफ्नो भाइलाई कसरी भन्नसक्छौ, "मलाई तिम्रो आँखाको कण निकाल्न देऊ,"? तिमीले उसको आँखालाई क्षति पुर्‍याउन सक्छौ । तर परमप्रभु भन्नुहुन्छ, "ए कपटी ! तिम्रो निर्दयी मनोवृत्ति हेर ।" मत्ती ७ः५ अनुसार, अर्को व्यक्ति प्रति प्रेम रहित मनोवृत्ति राख्ने र त्यस व्यक्तिको न्याय गर्ने प्रत्येक व्यक्ति पाखण्डी हो । पहिले यो प्रेम रहित मनोवृत्ति त्याग्नुहोस्, अनि तपाईंले स्पष्टरुपमा देख्नुहुनेछ । अनि त्यो भाइ आफैं तपाईंकहाँ आएर भन्नसक्छ, "भाइ, के तपाईं मेरो आँखाबाट धूलोको कण निकालिदिन सक्नुहुन्छ ?" के त्यो अद्भुत कुरा हुन्न जब तपाईं त्यो अवस्थामा आइपुग्नुहुन्छ ?