जब शैतानलाई पति र पत्नीको बीचमा आउन दिइन्छ, तिनीहरुको विवाह उजाड स्थान जस्तै हुन थाल्छ । हितोपदेश २४ः३०-३२ ले भन्छ, "म अल्छेको खेत र बुद्धिहीन मानिसको दाखबारीको छेउबाट भएर गएँ, र हेर, त्यो पूर्ण रुपमा सिउँडीले भरिएको थियो, यसको सतह सिउँडीहरुले ढाकिएको थियो, र यसको ढुंगाको पर्खाल भत्किएको थियो । जब मैले हेरेँ, मैले त्यसमा विचार गरें; मैले हेरेँ, र निर्देशन प्राप्त गरें ।" जब कुनै बगैंचालाई बेवास्ता गरिन्छ, त्यो चाँडै नै अनावश्यक तवरले बढ्न पुग्छ । तपाईंले बगैंचामा झारपात, काँडा र सिउँडी रोप्नु पर्दैन किनभने तिनीहरु आफैं उम्रन्छन् । यदि तपाईं दुई घरहरु भएर जानुहुन्छ र ती मध्ये एउटामा सुन्दर बगैंचा छ र अर्को बगैंचा अनावश्यक रुपमा बढेको छ र उजाडस्थान जस्तै देखिन्छ भने, तपाईंले त्यो सुन्दर बगैंचा स्वतः त्यहाँ पुग्यो भनेर अनुमान गर्नुहुन्न । सुन्दर बगैंचा भएको मानिसले यसलाई सुन्दर बनाउन मेहनत गरेको र पीडा सहेको हुनुपर्छ । यसको विपरीत, अति नै बढेको बगैंचा भएको मानिसले यसलाई त्यस्तै बनाउन धेरै प्रयास गर्यो भनेर तपाईंले अनुमान गर्नुहुन्न - उसको बगैंचा बेवास्ताका कारण उजाड बन्यो ।
विवाहमा पनि यही सिद्धान्त लागू हुन्छ । यदि तपाईंले सुन्दर विवाह देख्नुभयो भने, तपाईं निश्चित हुन सक्नुहुन्छ कि त्यो स्वतः सुन्दर भएको होइन । पति र पत्नी दुबैले यसलाई सुन्दर बनाउनलाई काम गरे । श्रीमान र श्रीमती दुबैले झारपात उखेलेर नियमित रुपमा पानी नहालेसम्म कुनै पनि विवाह सुन्दर बगैंचा जस्तो बन्न असम्भव छ । यसको विपरीत, यदि तपाईंले आफ्नो विवाहलाई बेवास्ता गर्नुभयो भने, यो स्वतः उजाडस्थान जस्तै हुनेछ ।
यदि तपाईं होसियार हुनुभएन भने, शैतान तपाईंको घरमा डाँका जस्तै आउनेछ, विस्तारै तर निश्चित रुपमा, तपाईंको वैवाहिक सम्बन्धलाई नष्ट पार्न । यो रातारात हुने छैन । उजाडस्थान दुई वा तीन दिनमा मात्र विकसित हुँदैन । तपाईंले कल्पना गर्न सक्नुहुन्छ कि सबै ठीकठाक छ, तर यदि तपाईंले आफ्नो विवाहलाई गोडमेल गर्न बेवास्ता गर्नुभयो भने, यो समयसँगै निश्चित रुपमा उजाडस्थानमा परिणत हुनेछ ।
यदि तपाईंको बगैंचा पहिले नै उजाड भइसकेको छ भने के हुन्छ ? कसरी उजाडस्थानलाई फेरि बगैंचामा पुनस्र्थापित गर्न सकिन्छ भनेर विचार गरौं ।
परमेश्वरले हामीलाई दुईवटा ठूला प्रतिज्ञाहरु दिनुहुन्छ । पहिलो यशैया ५१ः३ हो, "परमप्रभुले त्यसको उजाडस्थानलाई अदन जस्तै र त्यसको मरुभूमिलाई परमप्रभुको बगैंचा जस्तै बनाउनुहुनेछ ।" कस्तो अद्भुत प्रतिज्ञा ! प्रभुलाई आफ्नो जीवनमा त्यो पूरा गर्न बिन्ती गर्नुहोस् । यदि तपाईंले माग्नुभएन भने, तपाईंले त्यो पाउनुहुनेछैन । याकूब ४ः१ ले भन्छ, "तिमीहरुसँग छैन किनभने तिमीहरुले माग्दैनौं ।" परमप्रभुलाई उहाँले प्रतिज्ञा गर्नुभए अनुसार तपाईंको उजाडस्थानलाई अदनको बगैंचामा पुनस्र्थापित गर्न बिन्ती गर्नुहोस् ।
दोस्रो प्रतिज्ञा इजकिएल ३६ः३४-३६ बाट आउँछ, "त्यहाँबाट जाने सबैको नजरमा उजाड भूमि उजाड हुनुको सट्टा खेती गरिनेछ । तिनीहरुले भन्नेछन्, 'यो उजाड भूमि अदनको बगैंचा जस्तो भएको छ ।' म, परमप्रभुले बोलेको छु र यो गर्नेछु ।" यसले यस्तो विवाहको बारेमा बताउँछ जुन यति खराब छ कि त्यहाँबाट गुज्रिरहेका मानिसहरुले पनि यसको अवस्था देख्न सक्छन् । तर परमेश्वर भन्नुहुन्छ कि उहाँले यस्तो भत्किएको विवाहलाई पनि पुनस्र्थापित गर्नुहुनेछ, र यसलाई उजाड देख्नेहरुले भन्नेछन् कि यो अब अदनको बगैंचा जस्तै भएको छ ।
यी अद्भुत प्रतिज्ञाहरु पढेपछि, यो सम्झनु महत्वपूर्ण छ कि पवित्र आत्माको मद्दत बिना तपाईंले आफ्नो विवाहको उजाडस्थानलाई बगैंचामा पुनस्र्थापित गर्न सक्नुहुन्न - विवाह परामर्श प्रविधिहरु वा धेरै पुस्तकहरु पढेर होइन, तर केवल पवित्र आत्माको मद्दतले । परमेश्वरले हामीलाई इजकिएल ३६ः२६ मा आफ्नो पवित्र आत्माको प्रतिज्ञा गर्नुभएको छः "म तिमीलाई नयाँ हृदय दिनेछु र तिमीहरु भित्र नयाँ आत्मा हालिदिनेछु; म तिमीहरुको शरीरबाट ढुंगाको हृदय निकालेर तिमीहरुलाई मासुको हृदय दिनेछु; म तिमीहरु भित्र मेरो आत्मा हालिदिनेछु ।" उत्पत्ति २ः१० मा हामी पढ्छौं कि अदनको बगैंचाबाट बग्ने एउटा नदी थियो । त्यो नदी हाम्रो विवाहको बगैंचाको बीचबाट बगिरहेको पवित्र आत्माको चित्र हो, जसले सबै कुरा ताजा बनाउँछ ।
जब हामी हाम्रो उजाडस्थानलाई बगैंचामा पुनस्र्थापित गर्न हाम्रो कमजोरीलाई स्वीकार गर्छौं र हामी परमेश्वरलाई मद्दतको लागि पुकार्छौं, उहाँले हामीलाई मद्दत गर्नुहुनेछ ! भजनसंग्रह १२७ः१ ले भन्छ, "जबसम्म परमप्रभुले बनाउनुहुन्न, तबसम्म त्यसलाई बनाउन खोज्नेहरुले व्यर्थमा परिश्रम गर्छन् ।" हाम्रो विवाहलाई बगैंचामा पुनस्र्थापित गर्न हामीले गरेको सबै प्रयास व्यर्थ हुनेछ जबसम्म प्रभुले हामीलाई मद्दत गर्नुहुन्न । र यदि हामीसँग हाल बगैंचा छ भने पनि, प्रभुले यसको रक्षा नगरेसम्म हामी यसलाई उजाडस्थान बन्नबाट जोगाउन असमर्थ हुनेछौं ।
आज तपाईंको वैवाहिक जीवन कस्तो छ ? के यो उजाड छ ? के तपाईंले आफ्नो विवाह कहिल्यै बगैंचामा पुनस्र्थापित हुनसक्छ भन्ने आशा त्याग्नुभएको छ ? के तपाईं भन्नुहुन्छ, "मेरो जोडीसँग बगैंचामा हुन असम्भव छ" ? शैतानले तपाईंलाई भन्न खोजेको कुरा यही हो । तर हामीले कहिल्यै आशा त्याग्नु हुँदैन । अब तपाईंले परमेश्वरको पुनस्र्थापनाको प्रतिज्ञाहरु देख्नुभएको छ, आफ्नो विवाहको लागि विश्वासद्वारा तिनीहरुलाई दाबी गर्नुहोस् । इजकिएल ३६ः३७ ले भन्छ, "परमप्रभु भन्नुहुन्छ, जबसम्म तिनीहरुले मलाई तिनीहरुको लागि यो गर्न बिन्ती गर्दैनन् म पर्खनेछु ।" जब हामी परमेश्वरसँग माग्छौं तब मात्र उहाँले हाम्रो लागि यो गर्नुहुनेछ । त्यसैले, तपाईं प्रभुकहाँ आएर भन्नु पर्छ, "प्रभु, मलाई विश्वास छ कि तपाईंले मेरो विवाहमा यो गर्न सक्नुहुन्छ ! म आशा त्याग्ने छैन ।"