जब कुनै जोडीले सँगै घर बनाउन खोज्छन्, तिनीहरुले एक-एक इँटा गर्दै बनाउँछन् । यो शारीरिक र आत्मिक दुबै रुपमा सत्य हो । हामीले प्रयोग गर्ने आत्मिक "इँटाहरु" के के हुन् ?
हामी उनीहरुको एकअर्काप्रतिको विचार र उनीहरुले बोल्ने शब्दहरुलाई घर निर्माणमा प्रयोग हुने इँटासँग तुलना गर्न सक्छौं । तपाईंले आफ्नो घर निर्माणमा कस्तो प्रकारको इँटा प्रयोग गरिरहनुभएको छ भनेर तपाईंले मात्र निर्धारण गर्न सक्नुहुन्छ । धेरै जोडीहरुले प्रयोग गरिरहेको इँटाका गुणस्तरको कारणले गर्दा, उनीहरुको घर भत्किनु कुनै अचम्मको कुरा होइन ।
भौतिक घर बनाउने कुरा आउँदा, हामी लामो समयसम्म टिक्ने संरचना चाहिने भएकाले परीक्षण गरिएका गुणस्तरीय इँटाहरु प्रयोग गर्नमा सावधानी अपनाउँछौं । तर भौतिक घरहरु स्थायी हुँदैनन् । तिनीहरु एक दिन नष्ट हुनेछन् । हामीले ध्यान केन्द्रित गर्नुपर्ने वास्तविक घर भनेको हाम्रो जीवनसाथीसँगको सम्बन्ध हो जुन हामीले अनन्तकालसम्मका लागि निर्माण गर्न सक्छौं । त्यसैले आफ्नो सम्बन्धमा रहेका बिचार र शब्दहरुको बारेमा सावधान रहनुहोस् । तिनीहरुलाई एकअर्का प्रतिको शुद्धता र भलाइ बोकेका विचार र शब्दहरु बनाउनुहोस् ।
हिब्रू १२ः१५ ले तितोपनको जरा विरुद्ध चेतावनी दिन्छ । त्यो हाम्रो जीवनसाथीको विरुद्धमा हाम्रो हृदयमा बन्नसक्छ । कलसी ३ः१९ मा बाइबलले पतिहरुलाई आफ्नी पत्नीहरुप्रति तीतो नहुन आदेश दिन्छ । तितोपन जस्ता हृदयका विचार र मनोवृत्तिहरुलाई मार्नुपर्छ । हाम्रो वैचारिक जीवनमा रगतको छाप हुनुपर्छ - एउटा क्रुस जसमा हामी मर्छौं । प्रेमहीन विचारहरु, स्वार्थी विचारहरु, र विभाजन निम्त्याउने विचारहरुलाई मैले मार्नुपर्छ । कहिल्यै नबिर्सनुहोस् कि शैतान सधैं नजिकै हुँदछ, उसको ढुंगा र इँटाहरु तपाईंको हातमा राख्दै यस आशामा कि तपाईंले तिनीहरुलाई आफ्नो घर बनाउन प्रयोग गर्नहुनेछ । हामी मध्ये जो विवाहित छौं, उनीहरुलाई थाहा छ कि हाम्रो जीवनसाथी प्रति कठोर, स्वार्थी, तीतो, शंकास्पद विचारहरु कसरी आउँछन् । शैतानले हामीलाई आफ्नो स्वार्थको बारेमा मात्र सोचेर घर बनाउन स्वार्थका इँटाहरु लिएर आउँदछ । उसले तपाईंको जीवनसाथीमाथि शंकाको इँटा ल्याउँछ । शंका गर्ने कुरामा मर्नुहोस् र विश्वास गर्न सिक्नुहोस् । शंकास्पद विचारहरु शैतानले ल्याउने सबैभन्दा खराब इँटा हुन् ।
त्यसैगरी, हामीले बोल्ने शब्दहरु पनि घर बनाउने इँटा हुन् । यदि विवाहित व्यक्तिहरुले बोलेका सबै शब्दहरु टेप गरेर बजाइए (जुन वास्तवमा न्यायको दिनमा हुनेछ) भने, म सोच्दछु कि हामी मध्ये कति जनाले पो ती शब्दहरु सुनेर रमाउनेछौं । अथवा हामी लुक्नको लागि भाग्नेछौं ? एकअर्कासँग दयालु र मायालु शब्दहरु बोलेका केही जोडीहरुका लागि यो कति राम्रो हुनेछ । न्यायको दिनमा सम्पूर्ण संसारले पनि उनीहरुको कुराकानी सुन्नसक्ने आत्मविश्वास उनीहरुमा हुनेछ ।
हामी सिद्ध छैनौं, तर हामीले आफूलाई नम्र बनाउन, राम्रा शब्दहरु बोल्न र शैतानले हाम्रो जिब्रोमा राखेका नराम्रा शब्दहरुलाई मार्ने तरिका सिक्न सक्छौं । पति-पत्नीले एकअर्कालाई बोल्ने सबै सडेका शब्दहरुको बारेमा सोच्नुहोस् ('तिम्रो बुबा त्यस्तै हुनुहुन्थ्यो' वा 'तिम्री बहिनी त्यस्तै हुनुहुन्थ्यो' आदि) । यो दुःखद कुरा हो कि धेरै मानिसहरुले त्यस्ता इँटाले घरहरु बनाउँछन् । तर यस्तो दयनीय मापदण्डको बीचमा, हामीले परमेश्वरको महिमा गर्ने घर निर्माण गर्नुपर्छ, परमेश्वरले हामीलाई उहाँको वचनमा दिनुभएको ढाँचा अनुसार ।
एफिसी ४ः२६ ले भन्छ, "तिमीहरुको मुखबाट कुनै पनि सडेको कुरा ननिस्कियोस्" । सडेको शब्दहरु सडेको इँटा जस्तै हुन् । यदि हामी, पति र पत्नीको रुपमा, यो साधारण नियम पालन गर्छौंः हाम्रो जीवनसाथीलाई अनुग्रहको सेवा गर्ने शब्दहरु मात्र बोल्छौं - तब एक वर्षमा, हामीसँग मानिसहरुले वर्षौं बिताएका सबै सडेका घरहरु भन्दा राम्रो घर हुनेछ । त्यो हामी प्रत्येकका लागि पक्कै पनि सम्भावना छ । तपाईंको घरमा अरु कसैको निन्दा गर्ने प्रलोभनहरु आउनेछन् । तर त्यो केवल एक प्रलोभन मात्र हो । यदि कोही तपाईंको घरमा आउँछ र तपाईंले कुराकाट्न थाल्नुहुन्छ भने, तपाईं सडेको इँटाले आफ्नो घर बनाउँदै हुनुहुन्छ । शैतानले तपाईंलाई सडेको इँटा दिएको छ, र तपाईंले ती सजिलै प्राप्त गर्नुभएको छ । उसलाई तपाईंको घरमा त्यसो गर्न नदिनुहोस् । यसमा कुनै शंका छैन - यदि तपाईंले परमेश्वरको ढाँचालाई गम्भीरतापूर्वक पछ्याउने निर्णय गर्नुभयो भने, तपाईंको स्वर्गीय घर हुनेछ ।
व्यवस्थाको पुस्तक ३३ः१६ मा, परमेश्वरलाई "पोथ्रामा बस्ने व्यक्ति" भनेर उल्लेख गरिएको छ । त्यसले प्रस्थान ३ लाई जनाउँछ जहाँ परमेश्वरले जलिरहेको पोथ्राबाट मोशासँग बोल्नुभएको छ । यो बाइबलमा उल्लेख गरिएको परमेश्वरको पहिलो बासस्थान हो । के तपाईं त्यो पोथ्रामा आगो लाग्दा कुनै जीवाणु वा ब्याक्टेरिया बाँचेको कल्पना गर्न सक्नुहुन्छ ? आगोले सबै जीवाणु र ब्याक्टेरियालाई नष्ट गरिदिएको हुन्थ्यो । हामीलाई त्यो आगो चाहिन्छ - पवित्र आत्माको आगो - हाम्रा घरहरुमा सबै जीवाणु र ब्याक्टेरियाहरुलाई मार्नलाई । म कुन जीवाणु र ब्याक्टेरियाको कुरा गर्दैछु ? हामीमा हुने एक अर्काप्रतिको अधर्मी विचारहरु, हामीले बोल्ने निर्दयी, सडेका शब्दहरु, अनावश्यक गफगाफ, आदि । जब हामी पवित्र आत्माले भरिन्छौं, जब पवित्र आत्माको आगो हाम्रो घरमा हुन्छ, हाम्रो घर जीवाणुमुक्त हुँदछ । हाम्रो घर शारीरिकरुपमा सफा नभए पनि फरक पर्दैन, तर हाम्रा शब्दहरु र विचारहरु सफा हुनुपर्छ ।
परमेश्वरले के ख्याल गर्नुहुन्छ र मानिसले के ख्याल गर्दछ भन्ने बीचको भिन्नता यही हो । फरिसीहरु बाहिर सफा हुन्छन्, तर येशूका चेलाहरुले भित्र सफा राख्छन् । तिनीहरुको विचार र वचनहरु असल छन् ताकि परमेश्वर तिनीहरुको घरमा बास गर्न सकून् । यदि हामीले यसको खोजी गर्छौं भने, हाम्रा घरहरु पुरानो नियमको वासस्थान जस्तै हुनेछन् जहाँ परमेश्वरको महिमा अवतरण भएको थियो । हामीसँग यस्ता धेरै घरहरु भएमा अद्भुत हुनेछ । झाडीमा बस्ने परमेश्वर पनि त्यस्तो घरमा बास गर्नुहुनेछ जहाँ उहाँको महिमा हुनसक्छ ।