पवित्र आत्मालाई सत्यको आत्मा भनिन्छ । येशूले भन्नुभयो, "सत्यको आत्माले तिमीलाई सबै सत्यतामा डार्योउनु हुनेछ, उहाँ आफ्नै तर्फबाट बोल्नुहुने छैन । उहाँले तिमीहरुलाई आउनेवाला कुराहरु प्रकट गर्नुहुनेछ, र उहाँले तिमीहरुलाई सबै सत्यतामा डोर्याउनुहुनेछ" (यूहन्ना १६ः१३) ।
म चाहन्छु कि मेरो जीवन शीरदेखि पैतालासम्म पूर्णरुपमा सत्यवादी होस् किनभने येशूलाई पछ्याउनुको अर्थ यही हो । येशूले भन्नुभयो, "म सत्य हुँ" । धेरैचोटी ख्रीष्टियान प्रचारकहरु पनि अरुसँग कुरा गर्ने तरिकामा अस्पष्ट हुन्छन् । तिनीहरु भन्छन्, "यदि मैले यसरी भनेँ भने, त्यसले केही समस्या निम्त्याउन सक्छ, त्यसैले मलाई अस्पष्ट हुन दिनुहोस् ।" येशू कहिल्यै अस्पष्ट हुनु भएन । उहाँ सधैं स्पष्ट र प्रत्यक्षरुपमा बोल्नुहुन्थ्यो । मेरो मतलब उहाँ असभ्य हुनुहुन्थ्यो भन्ने होइन र हामी असभ्य हुनुपर्ने कुरामा म विश्वास गर्दिन, तर येशू कुनै पनि व्यक्तिगत लाभको लागि अस्पष्ट हुनुभएन । म विश्वास गर्छु कि हामी सत्य बोल्दा दयालु र विचारशील हुनुपर्छ (असभ्य होइन) - हामी अरु मानिससँग बोल्दा सधैं दयालु हुनुपर्छ - तर म सत्य बोल्नेबारेमा कुरा गर्दैछु जहाँ यसले तपाईंलाई असर गर्नेछ । हामी आफैंमा सत्यवादी हुनुपर्छ ।
के तपाईंलाई थाहा छ पवित्र आत्माले हामीलाई सबै सत्यतामा डोर्याउनुहुन्छ ? प्रारम्भिक मण्डलीमा निर्णय गरिएको पहिलो पाप बेइमानीको पाप थियो, लोभको पाप थिएन । प्रेरित ५ मा, हननिया र सफीराले धेरै मानिसहरुलाई आफ्नो जग्गा बेचेर प्रेरितहरुको खुट्टामा पैसा ल्याउँदै गरेको देखे (प्रेरित ४ः३४ मा धेरै मानिसहरुले त्यसो गरिरहेका थिए) । हननिया र सफीराले पनि मण्डलीमा पूर्ण हृदयले परमेश्वरमा समर्पितभएको व्यक्तिको रुपमा प्रतिष्ठा चाहन्थे, त्यसैले उनीहरुले पनि आफ्नो केही जग्गा बेचे, तर अरुले जस्तै प्रेरितहरुको खुट्टामा अर्पण गर्दा पूरा पैसा दिएनन् । मानौं उनीहरुले १००,००० मा जग्गा बेचे र ५०,००० रुपैयाँ आफंैले राखे, यसरी ५०% मण्डलीलाई दिए । यदि कसैले आज आफ्नो सम्पत्ति बेचेर आफ्नो आम्दानीको ५०% परमेश्वर कहाँ ल्यायो भने, तपाईं त्यो व्यक्तिलाई पूर्ण हृदय भएको ख्रीष्टियान भन्नुहुनेछ । तर हननिया मारिए, उसले के दियो वा के दिएन त्यो कारणले होइन, तर उसले झुट बोलेको कारणले ।
उनी अरुहरुसँगै लाइनमा उभिए र मानिसहरुले आफ्नो पैसा प्रेरितहरुको खुट्टामा छोड्दै गर्दा चुप बसे । उनले पनि आफ्नो पैसा राखेर अगाडि बढे । उनी अगाडि बढ्दै जाँदा पत्रुसले भने, "हननिया, यहाँ फर्केर आऊ ।" परमेश्वरले पत्रुसको समझ खोलिदिनुभयो कि यो मान्छे झूट थियो । पत्रुसले प्रेरित ५ः४ मा उनलाई भने, "जब यो भूमि तिम्रो थियो, यो तिम्रो आफ्नै थियो । कसैले पनि तिमीलाई यो बेच्न भनेन । परमेश्वरलाई तिम्रो पैसा वा जग्गा चाहिँदैन । सबैले स्वइच्छाले दिँदैछन्, र तिमीले बेचे पश्चात् पनि यो पैसा तिम्रो नै थियो । कसैले तिमीलाई ५०% वा १% वा १०% पनि दिन भनेका छैनन् - तिमीले यो किन सोच्यौ ? तिमीले परमेश्वरसँग झूट बोलेको छौ ।" हननियाले भन्न सक्थे, "मैले कहिल्यै मुख खोलिनँ ! मैले कहिल्यै एक शब्द पनि बोलिन," तर के तपाईंलाई थाहा छ तपाईं आफ्नो मुख नखोली परमेश्वरलाई झूट बोल्न सक्नुहुन्छ ? हननिया केवल लाइनमा उभिए, प्रेरितहरुको खुट्टामा पैसा राखे र अगाडि बढे । उनले कहिल्यै मुख खोलेनन्, तर त्यो कार्यमा यो झूट थियो । यो कपटीपन हो - बहाना गर्नु हो ।
तपाईं मण्डलीको संगतिमा आउनुहोला र अरु सबै जस्तै पूर्ण हृदय भएको नाटक गर्न सक्नुहोला, र पनि झूट हुनसक्नुहुन्छ । यदि तपाईं अरु जस्तै पूर्ण हृदय भएको नाटक गर्ने मानिसहरुसँग बस्नुहुन्छ र तपाई पूर्ण हृदयको हुनुहुन्न भने, तपाईंले आफ्नो मुख नखोल्दा पनि तपाईं झूट हुनुहुन्छ । तपाईं येशूलाई "मेरो चाँदी र सुन लिनुहोस्, म एकरत्ति पनि रोक्नेछैन" भनेर गाउन सक्नुहुन्छ किनभने तपाईं अरु सबैसँग गाउँदै हुनुहुन्छ, र धुन र शब्दहरु राम्रा छन्, तर तपाईं पूर्णरुपमा झुटो बन्न सक्नुहुन्छ किनभने तपाईंले भन्न खोज्नुभएको त्यो होइन । धेरै ख्रीष्टियानहरुले परमेश्वरलाई आइतबार हप्ताको अन्य दिनहरु भन्दा बढी झूट बोल्छन् तिनीहरुले गाउने गीतहरुको कारणले ! यदि तपाईंले "येशूलाई सबैकुरा समर्पण गर्छु" भनेर गाउनुहुन्छ तर तपाईंले सबैकुरा समर्पण गर्नुभएको छैन भने, तपाईं झुटो हुनुहुन्छ । कुनै प्रचारकले तपाईंलाई सत्य भनेको तपाईंले सुन्नुहुन्न, तर तपाईंले यो सुन्न आवश्यक छ किनभने यो सत्य हो । यदि तपाईंले ख्रीष्टलाई सबैकुरा समर्पण गर्नुभएको छ भने भन्नुहोस्, अन्यथा आफ्नो मुख बन्द राख्नुहोस्, वा भन्नुहोस्, "प्रभु म सबैकुरा समर्पण गर्न चाहन्छु, तर मैले यो सबै गरेको छैन ।" त्यो अझ इमानदार कुरा हो । अरुले गाएको धुनमा यो मेल खाँदैन भने पनि फरक पर्दैन । तपाईं परमेश्वरसँग इमानदार हुनुहोस् ।
यसको परिणाम के हुन्छ ? २ थेसलोनिकी २ः१० मा सत्यको प्रेम ग्रहण नगर्नेहरुको बारेमा बताइएको छ । सत्यलाई प्रेम गर्नु भनेको सत्य बोल्नुभन्दा बढी हो । म सत्य बोल्न सक्छु तर त्यो भन्दा उच्च स्तर भनेको सत्यलाई प्रेम गर्नु हो । मलाई सत्य बोल्ने यति ठूलो चाहना छ कि मलाई त्यो मन पर्छ र म कहिल्यै पनि ममा झूटो कुरा भएको चाहन्न । यदि हामीले सबै झूटबाट बच्न सत्यको प्रेम प्राप्त गरेनौं भने, २ थेसलोनिकी २ः११ ले हामीलाई परिणाम बताउँछः परमेश्वर आफैंले हामीलाई छलमा पर्न दिनुहुनेछ । त्यो नयाँ नियमको सबैभन्दा डरलाग्दो पदहरु मध्ये एक हो ।
यदि तपाईंले सत्यलाई प्रेम गर्नुहुन्न भने प्रिय मित्र, म तपाईंलाई सिधै भन्छुः सर्वशक्तिमान परमेश्वरले तपाईंलाई छलमा पर्न दिनुहुनेछ । शैतान धोका दिने व्यक्ति हो । तपाईंको वासनाले तपाईंलाई धोका दिनेछ । तपाईंको हृदय धोकादिने खाले छ । त्यो भन्दा माथि, यदि सर्वशक्तिमान परमेश्वर, जो तपाईंलाई छलबाट बचाउनको लागि एकमात्र सुरक्षाको आशा हुनुहुन्छ, तपाईंलाई धोकामा रहन दिने निर्णय गर्नुहुन्छ भने, तपाईंको लागि कुनै आशा छैन । २ थेसलोनिकी २ः११ ले भन्छ कि परमेश्वरले तपाईंलाई झूटा कुराहरुमा विश्वास गर्ने तुल्याउनुहुनेछ । तपाईं नयाँ गरी नजन्मेको बेलामा पनि तपाईं नयाँ गरी जन्मनुभएको हो भनी विश्वास दिलाउनुहुनेछ । तपाईं पवित्र आत्माले नभरिएको बेलामा पनि उहाँले तपाईं पवित्र आत्माले भरिनुभएको छ भनी विश्वास दिलाउनुहुनेछ । किन ? एउटा कारणले गर्दाः तपाईंले सत्यको प्रेम ग्रहण गर्नुहुन्न ।
के तपाईंलाई बाइबलमा उल्लेख गरिएको पहिलो पाप थाहा छ ? त्यो झूट थियो, जब शैतानले हब्बालाई झूट बोलेर भन्यो, "तिमी मर्नेछैनौं" (उत्पत्ति ३ः४) । बाइबलमा उल्लेख गरिएको त्यो पहिलो पाप हो - झूट ।
बाइबलमा उल्लेख गरिएको अन्तिम पाप के हो ? यदि तपाईंले बाइबलको अन्तिम अध्यायतिर पल्टाउनुभयो भने, तपाईंले झूट बोल्नु पनि अन्तिम पाप हो भनी देख्नुहुन्छ । प्रकाश २२ः१५ मा भनिएको छ कि झूट बोल्नेहरु पवित्र शहर बाहिर छन् । त्यसैले बाइबलमा उल्लेख गरिएको पहिलो र अन्तिम पाप झूट हो । प्रारम्भिक मण्डलीमा निर्णय गरिएको पहिलो पाप झूट थियो । जसलाई परमेश्वरले छलमा रहनदिनुहुन्छ ती व्यक्तिहरु हुन् जसले सत्यलाई प्रेम गर्दैनन् ।
हामीले यसलाई गम्भीरतापूर्वक लिनु धेरै महत्वपूर्ण छ । "तिमीहरुको हो हो होस् र तिमीहरुको होइन होइन होस्" (मत्ती ५ः३७) । यसले हामीलाई छलबाट जोगाउँछ । येशूले भन्नुभयो, "म नै बाटो हुँ ।" हामी सबैले यसको कदर गर्छौं । हामी स्वीकार गर्छौं कि येशू नै बाटो र जीवन हुनुहुन्छ । तर उहाँले यो पनि भन्नुभयो, "म नै सत्य हुँ - म नै वास्तविकता हुँ" (यूहन्ना १४ः६) ।
पुरानो नियममा यो हुन सक्दैनथ्यो । दाऊदले भजनसंग्रह ५१ः६ मा भन्छन् जहाँ उनले बेतशेबासँग पाप गरेपछि आफ्नो स्वीकारोक्ति जनाउँछन्, "प्रभु, मलाई थाहा छ तपाईंले भित्री अस्तित्वमा सत्यको निर्णय गर्नुहुन्छ, मसँग यो छैन । म एक पाखण्डी भएको छु । मैले गोलायतलाई मार्न सकें, मैले पलिश्तीहरुलाई हराउन सकें, तर म मेरो हृदयमा पाखण्डी थिएँ । मैले बतशेबासँग पाप गरें र त्यसदिन उनको पतिलाई उनीसँग सुत्न पठाएर त्यसलाई ढाकछोप गर्ने प्रयास गरें । म त्यहाँ सफल भइनँ । त्यसपछि उनको पतिलाई पन्साएर उनीसँग विवाह गरें । प्रभु, मलाई थाहा छ तपाईं भित्री अस्तित्वमा सत्य चाहनुहुन्छ । मसँग त्यो छैन ।" तर भित्री अस्तित्वमा सत्यता पवित्र आत्माको कारणले आज हामीसँग हुनसक्ने अद्भुत चीजहरु मध्येको एक हो । सत्यको आत्माले हामीलाई हाम्रो जीवन र हृदयको भित्री अस्तित्वसम्म सत्यवादी बनाउनेछ ।
प्रकाश १४ ले सियोन पर्वतमा थुमासँग उभिरहेका केही मानिसहरुको बारेमा बताउँछ । प्रकाश १४ः४ ले थुमा जहाँ गए पनि उहाँलाई पछ्याउने विजयीहरुको समूहको बारेमा बताउँछ । तिनीहरुको एउटा विशेषता यो हो, "तिनीहरुको मुखमा कुनै झूट पाइएन" (प्रकाश १४ः५) । मानिसहरुका सन्तानहरु जन्मैदेखि नै झुटा हुन्छन् । हामी त्यो भजनसंग्रह ५८ः३ मा पढ्छौं । तर यहाँ मानिसहरुको एउटा समूह छ जसलाई झुट बोल्नबाट पूर्णरुपमा छुटकारा दिइएको छ ताकि तिनीहरुको सम्पूर्ण प्रणालीमा कुनै झूट नभेटियोस् । तिनीहरु येशू जस्तै बनेका छन्ः सत्यले भरिपूर्ण ! म तपाईंलाई प्रोत्साहन दिन चाहन्छुः हामीले आफूलाई हरेक प्रकारको झूटबाट शुद्ध पार्नु आवश्यक छ ।
सत्य बोल्दा मूल्य चुकाउन परेतापनि, यदि तपाईं सत्यको पक्षमा उभिनुभयो र आफ्नो जीवनबाट झूट हटाउने निर्णय गर्नुभयो भने, तपाईंको जीवन १००% शुद्ध हुनेछ । तपाईंले परमेश्वरलाई देख्न सक्नुहुनेछ । आज ख्रीष्टियान जगतमा भइरहेको कुनै पनि छलकपटबाट तपाईं कहिल्यै धोका पाउनुहुनेछैन । तपाईंले सत्य जान्नुहुनेछ किनभने परमेश्वर आफैंले तपाईंलाई सत्य देखाउनुहुनेछ, र तपाईं आफ्नो आत्मिक अवस्थाको बारेमा कहिल्यै धोका पाउनुहुनेछैन ।