WFTW Body: 

नयाँ नियममा दुई जना व्यक्तिहरु छन् जसले भनेका छन्, "मलाई पछ्याउनुहोस् ।" पुरानो नियममा कुनै पनि अगमवक्ताले कहिल्यै मलाई पछ्याउनुहोस् भन्न सकेनन् । तिनीहरुको जीवन अनुसरण गर्न लायक उदाहरण थिएन । यशैया वा मोशा पनि थिएनन्; कोही पनि थिएनन् । तिनीहरुले केवल यसो भने, "परमेश्वरले म मार्फत के भन्नुहुन्छ सुन्नुहोस् । यी परमेश्वरका वचनहरु हुन् ।" तर तिनीहरु मध्ये कसैले पनि "मेरो उदाहरण पछ्याउनुहोस्" भन्न सकेनन् । मोशाले आफ्नी पत्नीसँग झगडा गरे र आफ्नो छोराको खतना नगरेर परमेश्वरको आज्ञाको उलङ्घन गरे । तिनीहरु सबै आफ्नो जीवनमा असल उदाहरण थिएनन्, तर तिनीहरुले परमेश्वरको वचन सही रुपमा घोषणा गर्न सक्थे र भन्न सक्थे, "परमप्रभुले यसो भन्नुभयो ।" तर नयाँ करारमा, हामीले केवल "परमप्रभुले यसो भन्नुभयो" भन्दैनौं । हामी केवल "आउनुहोस् र परमेश्वरले के भनिरहनुभएको छ सुन्नुहोस्" भन्दैनौं ।

नयाँ करारमा, हामी भन्छौं, "आउनुहोस् र परमेश्वरले के गर्नुभएको छ हेर्नुहोस्," जुन पुरानो नियमका अगमवक्ताहरुले भनेका भन्दा फरक छ, "आउनुहोस् र परमेश्वरले के भनिरहनुभएको छ सुन्नुहोस् ।" नयाँ नियमका अगमवक्ता भन्दछन्, "आउनुहोस् र हेर्नुहोस् परमेश्वरले मेरो जीवनमा के गर्नुभएको छ । आउनुहोस् र हेर्नुहोस् परमेश्वरले मेरो परिवारमा के गर्नुभएको छ । आउनुहोस् र हेर्नुहोस् परमेश्वरले ममा के गर्नुभएको छ । अब म तपाईंलाई येशूले आज्ञा गर्नुभएका कुरा पालन गर्न सिकाउन चाहन्छु ताकि उहाँले तपाईंको जीवनमा पनि त्यस्तै गर्नुभएकोहोस् । मलाई पछ्याउनुहोस् ।"

"मेरो पछि लाग" भनी भन्नुहुने बाइबलमा पहिलो व्यक्ति येशू हुनुहुन्थ्यो । त्यसपछि हामीले पावलले भनेको पढ्छौं, "म ख्रीष्टलाई पछ्याउँछु" (१ कोरिन्थी ११ः१) । उनी फिलिप्पी ३ः१७ मा अझै भन्छन्, "भाइहरु हो, मेरो उदाहरण पछ्याउनुहोस् । अनि मेरो उदाहरण मात्र होइन, तर म जस्तै हिँडिरहेका अरुलाई पनि हेर्नुहोस् । तपाईंले उनीहरुको उदाहरणलाई पनि पछ्याउन सक्नुहुन्छ, किनकि म ख्रीष्टलाई पछ्याउँदैछु ।" ख्रीष्ट त्यो व्यक्ति जस्तै हुनुहुन्छ जसले १०,००० मिटर अग्लो पहाडको चुचुरोमा चढेको छ । उहाँ माथि पुगिसक्नु भएको छ, र हामी पछ्याइरहेका छौं । पावल सायद हामी भन्दा अगाडि छन् । सायद ऊ ३,०००-४,००० मिटर माथि पुगेको छ । उसले आफ्नो पछाडिकाहरुलाई भन्छ, "मलाई पछ्याऊ ।" सायद म ५०० मिटर मात्र माथि पुगेको छु । म पहाडको अझै तल रहेका मानिसहरुलाई भन्न सक्छु, "मेरो पछि लाग ।" म भन्दा अगाडि रहेका अरुको उदाहरण मैले पछ्याउन सक्छु, जो ख्रीष्टलाई शिखरमा पछ्याइरहेका छन् । शिखर भनेको ख्रीष्टसँगको पूर्ण समानता हो । त्यो लक्ष्य हो । लक्ष्य संसारका सबै बिरामीहरुलाई निको पार्नु होइन, तर हाम्रो जीवनमा पूर्णरुपमा येशू ख्रीष्ट जस्तै बन्नु हो, र त्यस जीवनबाट सेवकाईको ओइरो लाग्नेछ ।

हामीले यो बुझ्नु आवश्यक छ । येशूले हामीलाई उहाँले गर्नुभए जस्तै सेवा गर्न मानिसहरुलाई गएर भन्नु भनी आज्ञा दिनुभएन । यदि पावलले सेवकाइको बारेमा कुरा गरिरहेका थिए भने, हामी पावललाई पछ्याउन सक्दैन थियौं जब उनले "मलाई पछ्याऊ " भने । उसले हामीलाई प्रेरित बन्नु भनी भनिरहनुभएको थिएन । सबैजना कसरी प्रेरित हुनसक्छन् ? सबैजना कसरी पावल जस्तै अगमवक्ता वा प्रचारक हुन सक्छन् ? उनले भन्दै थिए, "मेरो जीवनमा मलाई पछ्याउनुहोस् । मैले ख्रीष्टको अनुकरण गरे जस्तै गरी मेरो अनुकरण गर्नुहोस् ।" सबै बिरामीहरुलाई निको पार्ने, पानी माथि हिड्ने, वा पाँचवटा रोटीले ५,००० मानिसहरुलाई खुवाउने ख्रीष्टको सेवाको अनुकरण प्रेरित पावलले पनि गर्न सकेनन् । कुनै समयहरुमा पावल आफू भोको भएको कुरा भनेका थिए (२ कोरिन्थी ११ः२७) । जब ऊ खाँचोमा हुन्थ्यो, ऊ चिसोमा काम्थ्यो र तिमोथीलाई आफ्नो लागि कम्बल ल्याउन भन्यो (२ तिमोथी ४ः१३) । प्रारम्भिक ख्रीष्टियानहरुले धेरै तरिकाले दुःख भोगे । सिंहहरुको अगाडि फ्याँकिदा उनीहरु सुरक्षित भएनन्, तर उनीहरुले येशूलाई पछ्याए, जसले क्रुसमा टाँगिदा सुरक्षा अस्वीकार गर्नुभयो । उहाँको जीवन नै हो जुन हामीले पछ्याउनु पर्छ । हामीले येशूलाई उहाँको सेवकाईमा पछ्याउन सक्दैनौं ।

यसको सबैभन्दा स्पष्ट उदाहरण यो हो कि उहाँको सेवकाईमा संसारको पापको निम्ति मर्नु समावेश थियो । हामीले त्यो सेवकाई कसरी पछ्याउन सक्छौं ? हामीले सक्दैनौं । त्यसैले हामीले उहाँको जीवनलाई पछ्याउँदछौं । हामीले येशूको जीवन र उहाँको सेवकाई बीचको भिन्नता छुट्याउनु आवश्यक छ । येशूले एक वाक्यमा भन्न सक्नुभयो कि उहाँले आफ्नो पिताको इच्छा पूरा गर्नुभयो - उहाँको जीवन र उहाँको सेवकाई दुबैमा । हामीले हाम्रो जीवनमा र हाम्रो सेवकाईमा पनि परमेश्वरको इच्छा पूरा गर्न सक्छौं । हाम्रो जीवनमा, येशूको उदाहरणलाई जस्ताको तस्तै पछ्याउनु पर्ने हो । पावलले त्यही गरे । हाम्रो सेवकाईमा, ख्रीष्टको शरीरमा हामीलाई दिइएको त्यो विशेष कार्य पूरा गर्नु हो । यदि हामीले येशूको जीवन र येशूको सेवकाई बीचको यो भिन्नता बुझ्यौं भने, हामी छलबाट सुरक्षित रहेको पाउनेछौं र धेरै अवास्तविकता र कपट आचरणबाट आफूलाई बचाउनेछौं । पाखण्डीपन धेरै ख्रीष्टियानहरुमा छ जो येशूले गर्नुभएका कामहरु गरिरहेको बहाना गर्छन् ।

कहिलेकाहिँ मानिसहरुले सोध्छन्, "अन्तिम भोज पछि येशूले भन्नुभएको कुराको अर्थ के हो, 'साँच्चै म तिमीहरुलाई भन्छु, जसले ममाथि विश्वास गर्छ, उसले मैले गर्ने कामहरु पनि गर्नेछ; र ती भन्दा ठूला कामहरु उसले गर्नेछ किनभने म पिता कहाँ जान्छु । पवित्र आत्मा पठाइदिनको लागि मैले पितालाई आग्रह गर्नेछु' (यूहन्ना १४ः१२,१६) ?" उहाँले भन्दै हुनुहुन्थ्यो कि जब पवित्र आत्मा आउनुहुनेछ, तिमीहरु मैले गरेका कामहरु र ती भन्दा पनि ठूला कामहरु गर्नको लागि सक्षम हुनेछौ । हामीले त्यो बुझ्नु आवश्यक छ ।

येशूले गर्नुभएका कामहरु के के हुन् भनी तपाईंले कसैलाई सोध्नुभयो भने, तिनीहरुले तुरुन्तै बिरामीलाई निको पार्ने, मरेकोलाई जिवित पार्ने, पानी माथि हिड्ने, ५,००० जनालाई पाँचवटा रोटीले खुवाउने बारेमा बताउनेछन् । तर तपाईंले येशूको जीवनको १०% को बारेमा मात्र कुरा गरिरहनुभएको हुनेछ ! आफ्नो जीवनको अन्तिम साढे तीन वर्षमा उहाँले यही गर्नुभयो । के उहाँले त्यतिमात्र गर्नुभयो ? उहाँको जीवनको बाँकी ९०% भागमा के गर्नुभयो ? उहाँले आफ्नो सम्पूर्ण जीवनभर के गर्नुभयो ? एक वाक्यमाः उहाँले आफ्नो पिताको इच्छा पूरा गर्नुभयो । यूहन्ना ६ः३८ मा येशू आफैंले भन्नुभयो, "म स्वर्गबाट मरेकाहरुलाई जीवित पार्न, बिरामीहरुलाई निको पार्न र पानी माथि हिँड्न आएको होइन । आफ्नै इच्छालाई इन्कार गर्न र मेरो पिताको इच्छा पूरा गर्न म स्वर्गबाट आएको हुँ ।"

त्यो छोटकरीमा "येशूका कामहरु" हो । उहाँ आफ्नै इच्छालाई "होइन" भन्न र आफ्नो पिताको इच्छा पूरा गर्न आउनुभयो । उहाँको पिताको इच्छामा डाँडाको उपदेश प्रचार गर्नु, सबै बिरामीहरुलाई निको पार्नु, बेथसेदाको पोखरीमा जस्तै कहिलेकाहीँ एक जनालाई मात्र निको पार्नु, पानी माथि हिँड्नु, पत्रुसलाई पानी माथि हिँड्न लगाउनु र ५,००० जनालाई पाँचवटा रोटीले खुवाउनु समावेश थियो । पावलको लागि पिताको इच्छामा पानी माथि हिँड्नु वा पाँचवटा रोटीले ५,००० जनालाई खुवाउनु वा लाजरस जस्तै चार दिनदेखि मरेको व्यक्तिलाई जीवित पार्नु समावेश थिएन, तर यसमा पिताको इच्छा पूरा गर्ने कुरा समावेश थियो ।

कुरा यही हो । येशूले गर्नुभएका कामहरु, एक वाक्यमा परमेश्वरका इच्छाहरु थिए । पावलले पनि त्यही गरे । उनको लागि, परमेश्वरको इच्छा ठाउँ ठाउँमा घुम्नु, मण्डलीहरु स्थापना गर्नु, र धर्मशास्त्र लेख्नु थियो । येशूले कहिल्यै कुनै धर्मशास्त्र लेख्नुभएन, तर पावलले लेखे । हामीलाई धर्मशास्त्र लेख्न बोलाइएको छैन । तर हामीलाई हाम्रा पिताको इच्छा पूरा गर्न बोलाइएको छ । येशूका कामहरु तिनै हन् । घरमा योसेफ र मरियमप्रति उहाँको आज्ञाकारिता यसमा समावेश थियो । यदि मरियमले उहाँलाई इनारबाट एक बाल्टिन पानी ल्याउन भनिन् भने, येशूले पूरा एक बाल्टिन पानी ल्याउनुहुनेछ । ती येशूका कामहरु हुन्ः सानो र ठूलो सबै कुरामा पिताको आज्ञाकारिता । हामी सबैले त्यो गर्न सक्छौं ।