WFTW Body: 

हिब्रू १:९ ले येशू संसारमा मानिसको रुपमा हुनुहुँदा कसरी जिउँनुभयो भन्ने कुरा बताउँदछ: " तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ; यसकारण परमेश्वरले, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका साथीहरुलाई भन्दा बढी हर्षको तेलले अभिषेक गर्नुभएको छ "

येशू यस संसारमा हुनुहुँदा मानिसमा हुने सामान्य कुराहरुमात्र लिएर जिउँनुभएको थियो। त्यसैले उहाँ अभिषेक हुनु जरुरी थियो। परमेश्वर पितालाई अभिषेक हुन जरुरी छैन। र येशूलाई पनि स्वर्गमा हुनुहुँदा अभिषेक हुनुपर्ने जरुरी थिएन। तर जब उहाँ यस संसारमा आउनुभयो, उहाँ हाम्रो निम्ति उदाहरण हुनको निम्ति अभिषेक हुनुभयो। यस पदमा हामीलाई यो जान्न दिइएको छ कि परमेश्वरले किन येशूलाई हामीलाई, उहाँको साथीहरुलाई, भन्दा धेरै हर्षको (रमाहटको) तेलले अभिषेक गर्नुभयो। यो खास गरी एउटा कारणले थियो - उहाँले धार्मिकतालाई प्रेम र अधर्मलाई घृणा गर्नुभएकोले। उहाँले शुध्दतालाई प्रेम गर्नुहुन्छ र पापलाई घृणा गर्नुहुन्छ।

धार्मिकतालाई काममा ल्याउनु (गर्नु) र धार्मिकतालाई प्रेम गर्नुमा भिन्नता छ। एउटा बालकले आफ्नो बुबाको आज्ञाहरुलाई प्रेम नगरी आज्ञापालन गर्न सक्छ। येशूले केवल धार्मिकतालाई काममा ल्याउनु (गर्नु) भएन तर धार्मिकतालाई प्रेम गर्नुभयो। त्यसैगरी, येशूले पापलाई वेवास्ता गर्नुभएन, तर उहाँले त्यसलाई घृणा गर्नुभयो।

एड्स यस्तो घातक रोग हो जुन मानिसलाई आजकल बेठिक यौन सम्पर्क जस्ता पापद्वारा सर्दछ। र त्यसैले धेरैले एड्स हुने डरको कारणले व्यभिचार गर्दैनन्। उनिहरुले यौनिक पापलाई घृणा गर्दैनन्; उनिहरु त केवल एड्सको रोगदेखि डराउँछन्। त्यसैगरि धेरै मानिसहरु चोर्नदेखि डराउछन् - चोरीलाई घृणा गर्ने भएर होइन, तर कसैले पक्रिन्छन् कि भन्ने डरले। त्यसैगरि, तपाईले कुनैपनि पापलाई घृणा नगरी वेवास्ता गर्न सक्नहुन्छ।

तर यदि तपाई हर्षको तेलले अभिषेक हुन चाहनुहुन्छ भने, तपाईले धार्मिकतालाई प्रेम र पापलाई घृणा गर्नुपर्छ। यहाँ येशू अरुभन्दा बढि हर्षको तेलले अभिषेक हुनुभएको कारणलाई बताउँछ।

परमेश्वरमा कुनै पनि भेदभाव छैन। एउटा असल बुबाले कहिल्यै पनि आफ्नो जेठो छोरालाई अरुभन्दा बढि प्रेम गर्नुहुन्न - उहाँमा कुनै पनि भेदभाव हुँदैन। परमेश्वर पिता पनि यस्तै हुनुहुन्छ। येशू धेरै भाईहरुको जेठो भनेर चिनिनुहुन्छ। हामी नयाँ जन्म पाएकाहरु उहाँका साना भाईहरु होऔँ। येशू जेठो छोरा हुनुहुन्छ। परमेश्वरले जे येशूको निम्ति गर्नुभयो, त्यो मेरो निम्ति पनि गर्नुहुन्छ - यदि मैले येशूले पुरा गर्नुभएको कुराहरु पुरा गरेको छु भनें। यो हामीले येशूको मानवत्वको बारेमा जानेको ठूलो सत्यता हो।

यदि त्यहाँ येशू परमेश्वरको पुत्र हुनुभएकोले हर्षको तेलले अभिषेक हुनुभएको हो भनि लेखिएको भए, त्यसले हामीलाई कुनै पनि उत्साह र चेतावनि दिदैँनथ्यो। तर जब हामी यो पढ्छौँ कि येशूले धार्मिकतालाई प्रेम र पापलाई घृणा गर्नुभएको कारणले अभिषेक हुनुभएको हो, यसले हामीलाई पनि यो आशा दिन्छ कि यदि हामीले पनि धार्मिकतालाई प्रेम र पापलाई घृणा गर्छौ भने हामी पनि त्यसरी अभिषेक हुन सक्छौ। त्यसैले हामीले प्रार्थना गर्नुपर्छ, "प्रभु, मेरो हृदयमा पवित्र आत्माद्वारा काम गर्नुहोस्, ता कि म केवल धार्मिकताको काम नगरुँ तर त्यसलाई प्रेम गरुँ; र म पापलाई बेवास्ता होइन तर घृणा गरुँ।"

हामीले जति हाम्रो जिवनमा धार्मिकतालाई प्रेम र पापलाई घृणा गर्छौ, उति नै हामी पवित्र आत्माको रमाहटले भरिन्छौ। परमेश्वरको राज्य, जो धार्मिकता र आनन्द हो, पवित्र आत्माद्वारा हाम्रो हृदयमा आउनुहुन्छ र त्यसलाई भर्नुहुन्छ (रोमी १४:१७)। तब हामी "प्रभुमा सधैँ आनन्द गर" भन्ने आज्ञालाई पालन गर्न सक्षम हुनेछौ (फिलिप्पी ४:४)।