रोमी १४ र १५ ले ख्रीष्टको शरीरमा एकअर्कालाई ग्रहण गर्ने बारे कुरा गर्छ । विश्वासीको रुपमा हामी सबै सबै कुरामा समान सोच्दैनौं । एकदिन जब ख्रीष्ट फर्कनुहुन्छ र हाम्रो दिमाग सिद्व हुन्छ, हामी प्रत्येक सिद्वान्तमा १००% सहमत हुनेछौं र हामीले वास्तविक आत्मिकता के हो र प्राणजन्य र सांसारिकता के हो भनेर पहिचान गर्नेछौं । तर अहिले हामी सबैमा फरक फरक कुरामा फरक फरक विचार छन्, किनकि यदि हामी इमानदार र पूर्ण हृदयको भए तापनि, हाम्रो दिमाग अझै पनि पापको प्रभावबाट विचलित भएको छ । कसैलाई कुनै पनि कुराको पूर्णरुपमा स्पष्ट समझ छैन । हामी सबै कुरा धमिलो रुपमा ऐनामा देख्छौं (१ कोरिन्थी १३ः१२) । त्यसैले जब हामीले अरुमा कुनै फरक कुरा देख्दछौं, हामी सही र अरु सबै गलत हुन् भनेर सोच्दै हामी जिद्दी हुनु हुँदैन । यसरी ख्रीष्टको शरीरमा विभाजन आउँदछ । पवित्रशास्त्रमा स्पष्ट र महत्वपूर्ण सत्यहरु छन् विशेष गरी ख्रीष्टको व्यक्ति र कामको बारेमा । येशू ख्रीष्ट पूर्ण परमेश्वर र पूर्ण मानिस हुनुहुन्छ, र उहाँ संसारको पापको लागि मर्नुभयो र फेरि व्यूँतनुभयो र परमेश्वर पिता सम्म पुग्ने एकमात्र बाटो हुनुहुन्छ । त्यस्ता सिद्घान्तहरुमा, हामी एक रत्ति पनि उपज गर्दैनौं । तर त्यहाँ अन्य सिद्घान्तहरु छन् जुन आधारभूत छैनन् ।
पानीको वप्तिस्मा, मुक्तिको लागि आवश्यक नभए पनि स्थानीय मण्डलीहरुको लागि अझैपनि महत्वपूर्ण सिद्घान्त हो । बच्चाहरुलाई बप्तिस्मा गराउने कुरामा विश्वास गर्नेले बच्चा वप्तिस्मा गैरशास्त्रीय छ भनी विश्वास गर्ने अर्को सँग एउटै मण्डलीमा सँगै काम गर्न असम्भव हुनेछ, किनकि तिनीहरु निरन्तर बाझेका हुनेछन् । तर हामीले त्यस्ता भाइहरुसँग मिलेर काम गर्न नसके तापनि, हामीले अझै पनि उहाँलाई ख्रीष्टमा भाइको रुपमा स्वीकार गर्नुपर्छ, यदि ऊ नयाँ गरी जन्मेको हो भने, किनभने परमेश्वरले उहाँलाई स्वीकार गर्नुभएको छ । हामी सँगै काम गर्न नसके पनि सँगै सँगती गर्न सक्छौं । आजको त्रासदी यो हो कि धेरै विश्वासीहरुले महसुस गर्दछन् कि यदि तिनीहरुले एक व्यक्तिसँग काम गर्न सक्दैनन् भने, तिनीहरु ऊ सँग सङ्गति पनि गर्न सक्दैनन् । त्यही ठाउँमा अध्याय १४ र १५ आउँछ ।
के तपाईंले विश्वासमा कमजोर भाइ देख्नुहुन्छ ? उसलाई स्वीकार गर्नुहोस् । तपाईंले उसलाई कसरी स्वीकार गर्नुपर्छ ? "जसरी ख्रीष्टले तपाईंलाई स्वीकार गर्नुभयो" (रोमी १५ः७) । के तपाईं सिद्घ हुनुहुँदा ख्रीष्टले तपाईंलाई स्वीकार गर्नुभयो ? होइन । त्यसो भए तपाईंले किन आफ्नो भाइलाई स्वीकार गर्नु अघि सिद्घ भएको आशा गर्नुहुन्छ ? हामी नयाँ गरी जन्मेको दिन हामी सबै कति कमजोर र मूर्ख थियौं । हामीलाई परमेश्वरको बारेमा केही थाहा थिएन र हामी सबै पापद्वारा पराजित थियौं । यद्यपि प्रभुले हामीलाई स्वीकार गर्नुभयो । उहाँले हामीमा धेरै कुराहरु गलत देख्नुभयो, तर पनि उहाँले हामीलाई स्वीकार्नुभयो । यदि हामीले अरुलाई स्वीकार गर्दैनौं जसलाई परमेश्वरले स्वीकार गर्नुभएको छ, हामी घमण्डी बन्छौंं र आफूलाई परमेश्वर भन्दा बढी आत्मिक भएको कल्पना गर्छौं ! यसरी पंथहरु निर्माण हुँदछन् - गतल सिद्घान्तहरुले मात्र होइन तर परमेश्वरका अन्य सन्तानहरु प्रतिको गलत मनोवृत्तिले पनि । हामीले हाम्रा स-साना नियम र कानुनहरुलाई ख्रीष्टको शरीरका अन्य सदस्यहरुलाई स्वीकार गर्ने आधार बनाउनु हुँदैन ।
"तिमीले आफ्नो भाइको किन न्याय गर्र्छौ ?" (रोमी १४ः१०ए) । त्यो बाहिरी कार्य हो । "आफ्नो भाइलाई तिमीले किन तुच्छ ठान्छौ ?"(रोमी १४ः१०बी) । त्यो भित्री मनोवृति हो । हामी दुबैबाट जोगिन पर्छ । जब परमेश्वरले स्वीकार गर्नुभएको सबैलाई स्वीकार गर्न हाम्रो हृदय ठूलो हुन्छ, तिनीहरु जस्ता छन् त्यस्तै, तब हामी सुसामाचारको सन्देशको चरम सीमामा पुग्दछौं । "एउटै सहमतिमा(ख्रीष्टको शरीरमा अरुहरुसँग) र एउटै आवाजमा, हामी परमेश्वरको महिमा गर्छौं" (रोमी १५ः६) ।
रोमी १६ को अन्तिम अध्यायमा पावलबाट रोमका विभिन्न विश्वासीहरुलाई अभिवादन समावेश गरिएको छ । रोमको मण्डलीमा पाँचवटा घरेलु मण्डलीहरु थिए(पद ५-१५) । तिनीहरु सबै मेगा मण्डलीको रुपमा एउटै हलमा भेला भएनन् । रोमको मण्डली धेरै ठूलो थियो, तर तिनीहरु साना समूहहरुमा विभिन्न घरहरुमा भेला भए । पावल कहिल्यै रोम गएका थिएनन्, तापनि तिनले त्यहाँको मण्डलीका विभिन्न मानिसहरुलाई चिन्ने चासो लिए र तिनीहरुलाई अभिवादन गरे ।
अन्तमाः 'विश्वासको आज्ञाकारिता' (रोमी १६ः२६) भन्ने अभिव्यक्ति यहाँ यस पत्रको अन्त्यमा पाइन्छ जसरी यसको सुरुमा हुन्छ । परमेश्वरले पावललाई मानिसहरुलाई विश्वासमा मात्र होइन तर तिनीहरुले विश्वास गरेको कुरा पालन गर्ने तुल्याउन बोलाहट दिनु भएको थियो । आज्ञाकारिताको कार्यहरु बिनाको विश्वास एक मृत विश्वास हो, एक निर्जीव शरीर जस्तै । पुरानो करारमा, आज्ञाकारितामा जोड दिइएको थियो । नयाँ करारमा, यो विश्वासको आज्ञाकारितामा छ । हामी अहिले परमेश्वरको आज्ञापालन गर्छौं, यो जान्दै कि हरेक आज्ञा प्रेमिलो पिताबाट आउँछ र हाम्रो अति राम्रोको लागि योजना गरिएको हो ।