द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   भगवानलाई चिन्ने चेलाहरू
WFTW Body: 

धेरै मानिसहरु आफ्ना पापहरु क्षमा भएकोमा खुशी हुन्छन्, र त्यति मात्रै । त्यस्ता मानिसहरुले येशूलाई आफ्ना मुक्तिदाताको रुपमा चिन्दैनन्; तिनीहरुले उहाँलाई आफ्ना क्षमाकर्ताको रुपमा चिन्छन् ।
हामीले रिस र यौन वासनापूर्ण सोंचका पापहरुलाई ध्यानपूर्वक विचार गर्नुपर्छ, ताकि हामी तिनीहरुको गम्भीरता मात्र नदेखौं, तर तिनीहरुलाई कसरी जित्न सकिन्छ भनेर पनि बुझौं । तिनीहरुको गम्भीरता यस तथ्यबाट देखिन्छ कि डाँडाको उपदेशमा रहेका यी दुईवटा पापहरु मात्र हुन् जसलाई येशूले मानिस नरकमा जाने सम्भावनासँग जोड्नु भएको थियो । मेरो बुझाई के छ भने ९९% विश्वासीहरुले रिसलाई गम्भीर पाप ठान्दैनन् । रिसले उनीहरुलाई नरकमा लैजान सक्छ भन्ने कुरा निश्चय नै उनीहरुले महसुस गर्दैनन् । त्यसैले उनीहरु मत्ती ५ः२२ मा येशूले भन्नुभएको कुरामा साँच्चिकै विश्वास गर्दैनन् । यदि उनीहरुले ख्रीष्ट येशूले भन्नुभएको कुरामा विश्वास गर्दैनन् भने उनीहरु कस्ता प्रकारका विश्वासीहरु हुन् ? के तपाईंले रिसको बारेमा उहाँले भन्नुभएको कुरामा विश्वास गर्नुहुन्छ ? वा तपाईं मनोविज्ञहरुलाई विश्वास गर्नुहुन्छ ? मनोविज्ञहरुले तपाईंलाई स्वर्गमा लैजान सक्दैनन् । त्यसैगरी, ९९% विश्वासीहरुले यो विश्वास गर्दैनन् कि तपाईं आँखाले कुनै महिला प्रतिको यौन वासनाको पछि लाग्नु तपाईंलाई नरकमा पुर्‍याउनलाई पर्याप्त हुनेगरी गम्भीर छ । धेरैजसो मानिसहरुले यसलाई कत्तिपनि गम्भीरतापूर्वक लिँदैनन्, जुन प्रमाण हो कि शैतानले पापलाई यति हल्का, महत्वहीन बनाइदिएको छ ।
एड्स वा क्यान्सर जस्तो घातक रोगको बारेमा सोंच्नुहोस्ः कति जना मानिसहरुले एड्स लाग्नु वा क्यान्सर लाग्नुलाई हल्का रुपमा लिन्छन् ? यस्ता रोगहरुले के गर्न सक्छन् भन्ने कुरामा पूर्णरुपमा अनभिज्ञ मानिसहरुले मात्र यस्तो गर्न सक्छन् । यदि तपाईंले दुर्गम गाउँमा बस्ने एक अशिक्षित, गरिब महिलालाई क्यान्सर भएको बताउनुभयो भने, उनी विचलित हुने छैनन्, किनभने उनलाई क्यान्सर के हो थाहा छैन । अर्को तर्फ, एक शिक्षित व्यक्तिलाई डाक्टरले उसको शरीरभरि क्यान्सर फैलिएको बताएमा ऊ धेरै बिचलित हुनेछ । ऊ किन विचलित हुन्छ ? किनभने उसले क्यान्सरको खतरा देख्छ ।
यसैगरी, जब तपाईं आत्मिक रुपमा निरक्षर हुनुहुन्छ, तपाईं रिसाउनुलाई गम्भीर पाप ठान्नुहुन्न । जब तपाईं आत्मिक रुपमा निरक्षर हुनुहुन्छ, तपाईं महिला प्रतिको यौन वासनाको पछि लाग्नुलाई गम्भीर पाप ठान्नुहुन्न । त्यो तपाईंको आत्मिक अशिक्षाको निशानी हो, जसरी त्यो निरक्षर महिलाई क्यान्सर कति गम्भीर छ भनेर थाहा हुँदैन । त्यसैगरी आत्मिक रुपमा साक्षर व्यक्तिले यी पापहरुलाई धेरै गम्भीरतापूर्वक लिनेछ । उसलाई परमेश्वरको वचन भन्न पनि आवश्यक पर्दैन, किनकि उसलाई सहजै थाहा छ कि यी गम्भीर पापहरु हुन्, किनकि एउटाले अर्कोलाई चोट पुर्‍याउँछ, र अर्कोले आफैंलाई चोट पुर्‍याउँछ । त्यसैले हामीले यी पापहरुलाई अझै ध्यानपूर्वक हेर्नुपर्छ र तिनीहरुलाई कसरी जित्न सकिन्छ भनेर सोध्नुपर्छ ।
मत्ती १ मा जब स्वर्गदूत योसेफकहाँ आए, उनले नयाँ नियमको पहिलो प्रतिज्ञा दिए । मत्ती १ः२१ मा भनिएको छ, “येशूले आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट बचाउनुहुनेछ ।” येशूको नामको अर्थ यही हो । येशूको नाम लिने धेरै मानिसहरुलाई उहाँको नामको अर्थ पनि थाहा हुँदैन । मत्ती १ः२१ ले हामीलाई बताउँछ कि “येशू” नामको अर्थ “आफ्ना मानिसहरुलाई तिनीहरुका पापबाट बचाउने व्यक्ति” हो ।
रिस र यौन वासनापूर्ण सोचाइको सन्दर्भमा हाम्रा पापहरुबाट बचाइनु र हाम्रा पापहरुको क्षमा पाउनुमा के फरक छ ?
यदि तपाईं पापपूर्ण तरिकाले रिसाउनुभयो, र त्यसपछि पश्चाताप गर्नुभयो र प्रभुसँग क्षमा माग्नुभयो भने उहाँले क्षमा गर्नुहुनेछ । र भोलि, यदि तपाईं फेरि पापपूर्ण तरिकाले रिसाउनुभयो र प्रभुसँग क्षमा माग्नुभयो भने, उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । र अर्को हप्ता, यदि तपाईंले त्यही कुरा गर्नुभयो, र तपाईंले उहाँसँग क्षमा माग्नुभयो भने, उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । त्यसैगरी, यदि तपाईंले आफ्नो आँखाले कुनै महिलालाई यौन वासनापूर्ण नजरले हेर्नुहुन्छ, र तपाईंले प्रभुसँग क्षमा माग्नुहुन्छ भने, उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । र यदि तपाईंले भोलि फेरि त्यसो गर्नुभयो, र तपाईंले उहाँसँग क्षमा माग्नुभयो भने उहाँले तपाईंलाई क्षमा गर्नुहुनेछ । तपाईं इन्टरनेट तिर फर्कनुहुन्छ र अश्लील चलचित्र हेर्नुहुन्छ, र तपाईंले प्रभुसँग क्षमा माग्नुहुन्छ, र उहाँले तपाईंलाई क्षमा गर्नुहुन्छ ।
तर के तपाईं यी पापहरुबाट बचाइनुभएको छ ? छैन । के तपाईंलाई क्षमा गरिएको छ ? छ । तपाईंको जीवनको ढाँचा पाप गर्नु हो, प्रभुसँग क्षमा माग्नु, फेरि पाप गर्नु, र प्रभुसँग फेरि क्षमा माग्नु । यो एक अनन्त चक्र हो । के तपाईंलाई क्षमा गरिएको छ ? छ ! तपाईंले हजार पटक पाप गर्नुभएको हुनसक्छ, र तपाईंका सबै पापहरु क्षमा भएका छन्, तर के तपाईं आफ्ना पापहरुबाट बचाइनुभएको छ ? छैन, किनभने तपाईं यो गरिरहनुहुन्छ । यो खाडलबाट बाहिर निस्कनु र फेरि खाडलमा खस्नु जस्तै हो; तपाईंले कसैलाई तपाईंलाई बाहिर निकाल्न भन्नुभयो, उसले तपाईंलाई बाहिर निकाल्छ, र भोलि तपाईं फेरि खाडलमा खस्नुहुन्छ । प्रत्येक चोटी तपाईं कसैलाई बाहिर निकाल्न भन्नुहुन्छ, तपाईं फेरि खाडलमा खस्नुहुन्छ । यो कहिले समाप्त हुनेछ ?
येशूले अहिलेसम्म तपाईंको लागि के गर्नुभएको छ ? येशूले तपाईंलाई क्षमा गर्नुभएको छ । त्यसपछि इमानदार हुनुहोस् र भन्नुहोस्, “म येशूलाई मेरो क्षमाकर्ताको रुपमा चिन्छु, तर म उहाँलाई मेरो मुक्तिदाताको रुपमा चिन्दिन । म उहाँलाई मेरा पापहरु क्षमा गर्ने व्यक्तिको रुपमा चिन्छु, तर मेरा पापहरुबाट मलाई बचाउने व्यक्तिहरुको रुपमा होइन ।” हामी इमानदार हुनुपर्छ । यदि हामी आफैंसँग बेइमान छौं भने, बाइबलले हामीलाई प्रतिज्ञा गरेको कुराको पूर्णतामा हामी कहिल्यै पुग्न सक्दैनौं । परमेश्वरले इमानदार मानिसहरुलाई माया गर्नुहुन्छ । म तपाईंलाई परमेश्वरसामु इमानदार हुन, र आफ्नो हृदयदेखि नै इमानदारीपूर्वक तपाईंले उहाँलाई भन्नको लागि प्रोत्साहित गर्दछु, “प्रभु येशू, मैले तपाईंलाई मात्र मेरो क्षमाकर्ताको रुपमा चिन्छु । मैले तपाईंलाई मेरो मुक्तिदाताको रुपमा चिन्दिन ।”
रुखमा नभएको हाँगाले फल फलाउन सक्दैन, र ५० वर्षसम्म त्यो रुखमा रहेपछि हरेक हाँगा आफ्नो रुखलाई भन्न सक्छ, “तिमी बिना मैले फल फलाउन सक्दिन; तर यदि तिमीमा म रहें भने, फल फलाउन लगभग सजिलो हुन्छ ।” के तपाईंलाई लाग्छ कि एउटा हाँगो संघर्ष गरिरहेको हुन्छ ? आँपको रुखलाई हेर्नुहोस्ः के त्यो हाँगा फल फलाउनलाई संघर्ष गरिरहेको छ ? छैन । तर यदि तपाईंले त्यो हाँगा त्यो रुखबाट काट्नुभयो भने, यसले ५० वर्ष देखि आँप उत्पादन गरिरहेको किन नहोस्, यसले तुरुन्तै उत्पादन बन्द गर्छ, किनकि यो ओइलाउँछ । जबसम्म यो रुखमा हुन्छ, तबसम्म रुखको रस भित्र बग्छ, र यसरी नै आँप उत्पादन हुन्छ । पापमाथि विजय हासिल गर्ने सिद्धान्त यही हो र हामीले प्रत्येक राष्ट्रका प्रत्येक चेलालाई यही कुरा सिकाउनु आवश्यक छ ।
प्रिय मित्रहरु, तपाईंले बुझ्नुपर्छ कि ख्रीष्ट बिना, तपाईं कुनै पनि पापमाथि विजय प्राप्त गर्न सक्नुहुन्न । तपाईं बाह्य पापमाथि विजय प्राप्त गर्न अवश्य सक्नुहुन्छ । तर यसले के प्रमाणित गर्छ ? संसारमा असंख्य नास्तिकहरु छन् जसले कसैको हत्या गर्दैनन्, र तिनीहरुले शारीरिक रुपमा व्यभिचार पनि गर्दैनन् । कचौराको बाहिरी भाग सफा राख्नको लागि तपाईंलाई येशू ख्रीष्टको आवश्यकता पर्दैन; तपाईं केवल एक फरिसी भए पुग्छ । गैर विश्वासीहरु छन्, नास्तिकहरु प्नि छन्, जसले कहिल्यै धोका दिँदैनन्, जो इमानदार छन्, र जसको बाह्य जीवन धेरै सीधा छ; तर जब भित्री जीवनको कुरा आउँछ, तिनीहरु भित्र भ्रष्ट हुन्छन् । भित्री इमानदारिता आत्म–नियन्त्रण भन्दा ठूलो कुरा हो । तपाईं योगको शक्तिले बाहिरी रुपमा रिस व्यक्त गर्नबाट बन्चित हुन सक्नुहोला, तर त्यो मुक्ति होइन । त्यो त बोतललाई कसिलो गरी बन्द गर्नु मात्र हो ताकि विष भित्रै रहोस्; यसले अझै पनि तपाईंलाई नष्ट गर्छ । त्यो ख्रीष्टले प्रदान गर्ने छुटकारा होइन ।
ख्रीष्टले भित्रको क्रोधबाट छुटकारा प्रदान गर्नुहुन्छ । म बोतल खोल्न सक्छु, र त्यहाँ कुनै विष हुँदैन । यदि तपाईंले मेरो हृदय भित्र हेर्नुभयो भने, त्यहाँ कुनै रिस छैन; आफ्नो मुख बन्द राख्न र रिस नपोखाउनको लागि मैले गरिरहेको यो ठूलो प्रयास होइन – त्यो योग हो, तर त्यो क्रोधबाट को मुक्ति होइन । क्रोधबाट छुटकारा त्यो हो जहाँ ख्रीष्टले हामीलाई हाम्रो हृदय भित्रको क्रोधबाट छुटकारा दिनुहुन्छ । यो पूर्णरुपमा गायब भएको हुन्छ, र यदि तपाईंले त्यस्तो एउटा हृदय भित्र हेर्नुभयो भने, त्यहाँ कुनै क्रोध हुँदैन । यदि तपाईंले त्यो हृदय भित्र हेर्नुभयो भने, त्यहाँ महिलाहरु प्रतिको कुनै कामवासना हुँदैन । केवल येशूले मात्र त्यो गर्न सक्नुहुन्छ ।