WFTW Body: 

मत्ती ५ः१७ ले भन्छ, “म अगमवक्ताको व्यवस्था रद्द गर्न आएको हुँ भनी नसम्झ; म रद्द गर्न होइन, तर पूरा गर्न आएको हुँ ।” परमेश्वरको व्यवस्था पछाडिको आधारभूत सिद्धान्त उहाँको जीवन हो । व्यवस्थामा उहाँ सीमित तरिकाले हुनुहुन्थ्यो, लिखितमा उहाँको स्वभाव यस्तै थियो । मूर्तिपूजाको अनुपस्थिति र परमेश्वरलाई पहिलो स्थान दिने, बुबा र आमालाई सम्मान गर्ने, हत्या, व्यभिचार वा त्यस्तै कुनै पनि कुराले अरुलाई कहिल्यै हानि नपुर्याउने, इत्यादि, मानिसमा परमेश्वरको जीवनको अभिव्यक्ति थियो, र येशूले त्यो जीवन प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “म व्यवस्था रद्द गर्न आएको होइन ।” व्यवस्था पछाडिको आधारभूत सिद्धान्त कहिल्यै रद्द गरिएको थिएन । केही मानिसहरुले त्यो पदलाई हामीले विश्राम दिनलाई पनि पालन गर्नुपर्छ भनी गलत बुझ्दछन् ।

कलस्सी २ः१६ ले भन्छ, “खाने वा पिउने कुरामा, चाडपर्व वा औंशी वा शबाथ दिन मान्ने कुरामा कसैले पनि तिम्रो न्याय नगरोस्, किनकि यी सबै कुराहरु छायाँ हुन् ।” के तपाईंले याद गर्नुभयो, कि उहाँले चौथो आज्ञाको रुपमा शबाथ दिन पालन गर्नुपर्ने कुरालाई समावेश गर्नुभयो ? उहाँले भन्नुभयो कि यो केवल छायाँ मात्र हो । यो ख्रीष्ट भित्र पूरा भएको छ । आजको भाषामा तपाईंले भन्न सक्नुहुन्छ कि यो एउटा तस्वीर जस्तै हो । ख्रीष्ट नआउन्जेल तपाईंलाई तस्वीरको आवश्यकता थियो । यदि म मेरी श्रीमतीसँग यात्रा गरिरहेको छैन भने, म उनको तस्वीर आफूसँगै बोक्न सक्छु र हेर्नसक्छु, तर यदि म मेरी श्रीमतीसँग यात्रा गरिरहेको छु भने, मैले किन तस्वीर हेर्नुपर्छ ? कुनै पुरुष जो आफ्नी श्रीमतीसँग यात्रा गरिरहेको छ तर पनि श्रीमतीको तस्वीर हेरिरहन्छ भने त्यहाँ केही समस्या छ !

व्यवस्था पूरा भएको छ, अब किनकि ख्रीष्ट आउनुभएको छ । उहाँले भन्नुहुन्छ त्यो केवल छायाँ थियो । यो ख्रीष्टको एउटा स्पष्ट तस्वीर हो – पुरानो नियममा धेरै कुराहरुले ख्रीष्टलाई सही तरिकाले चित्रण गरेका छन् – तर यो केवल तस्वीर हो । वास्तविकता केवल ख्रीष्टमा छ । हामीले त्यो कुरा याद गर्नुपर्ने हुन्छ जब येशूले व्यवस्था पालन गर्ने कुरा गर्नुहुन्छ । शबाथ ख्रीष्टमा पूरा भएको थियो, र अब यो भित्री शबाथ हो जुन प्रभुले हाम्रो हृदयमा आएको चाहनुहुन्छ । “मकहाँ आओ र म तिमीलाई विश्राम दिनेछु” (मत्ती ११ः२८) । त्यो भित्री विश्राम हामीमा आउँछ जसै हामीले उहाँको जुवा बोक्दछौं । कतिपय मानिसहरुलाई कहिल्यै रद्द गर्न नसकिने आज्ञाको रुपमा विश्राम दिनलाई लिन्छन् । होइन, व्यवस्थाको पूर्ति अब हाम्रो हृदयमा पवित्र आत्मा मार्फत हुन्छ ।

रोमी ८ः४ मा यसलाई यसरी व्याख्या गरिएको छः “व्यवस्थाको धार्मिक आवश्यकता अब हामी भित्र पूरा भएको छ, जो शरीर अनुसार होइन, तर आत्मा अनुसार चल्छौं ।” व्यवस्था यसरी पूरा हुन्छ । हामीले एउटा पदलाई अर्को पदसँग तुलना गर्नुपर्छ । व्यवस्था बितिजाने छैन । येशू व्यवस्था रद्द गर्न होइन, तर त्यसलाई पूरा गर्नलाई आउनुभयो, र यो हामी भित्र पनि पूरा हुनैपर्छ । यो हामीमा कसरी पूरा हुन्छ त ? जब हामी हरेक दिन, शरीर अनुसार होइन तर पवित्र आत्मामा हिँड्छौं, व्यवस्थाको धार्मिक आवश्यकता हामीमा पूरा हुन्छ (रोमी ८ः४) । यो विश्राम दिन वा अन्य आज्ञाहरु पालन गरेर हुँदैन ।

मत्ती ५ः२० मा, येशूले व्यवस्था पूरा गर्न हामी कति पूर्णरुपमा तयार छौं भनी वर्णन गर्नुहुन्छः “जबसम्म तिमीहरुको धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकता भन्दा बढी हुँदैन, तिमीहरु स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनौं ।” येशू ख्रीष्ट व्यवस्था पूरा गर्न आउनुभयो, र हाम्रो जीवनमा पनि, परमेश्वरको व्यवस्था हाम्रो हृदयमा पूरा हुनुपर्छ । पुरानो नियममा, तिनीहरुले यसलाई विभिन्न तरिकाले बाह्य रुपमा पूरा गरे – तिनीहरुले “कचौराको बाहिरी भाग” सफा राखे । तर यो कचौराको भित्री भाग हो जसमा परमेश्वरले अहिले रुचि राख्नुहुन्छ । हामी पृथ्वीको नुन र संसारको ज्योति हुनुपर्छ, र त्यो जीवन पवित्र आत्माबाट, भित्रबाटै आउनुपर्छ ।

फिलिप्पी २ः१२,१३ ले भन्छ, “डर र कम्प सहित मुक्तिको काम पूरा गर, किनकि परमेश्वर नै हुनुहुन्छ जसले तिमीहरु भित्र उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने तुल्याउनलाई काम गर्नुहुन्छ” ।

यस पदको बारेमा यहाँ केही बुँदाहरु छन्ः

(क) मुक्ति (भूतकालमा) भनेको सर्वप्रथम परमेश्वरको क्रोध र न्यायबाट मुक्ति हो । यो मुक्ति परमेश्वरबाटको सित्तैको उपहार हो र हामी यसलाई प्राप्त गर्न कहिल्यै काम गर्न सक्दैनौं । येशूले यसलाई हाम्रो लागि क्रुसमा “सम्पन्न” गर्नुभएको छ । तर मुक्तिले आदमको स्वभाव (शरीर) र हाम्रो पापी, संसारिक व्यवहार (स्वरको स्तर, चिडचिडाहट, अशुद्धता, भौतिकवाद, आदि) बाट बचाइनु (वर्तमान काल) लाई पनि जनाउँछ । यो माथिको पदमा भनिएको मुक्ति हो । हाम्रो मुक्तिको तीन कालहरु यहाँ छन्ः

हामी पापको दण्डबाट बचाइएका छौं ।

हामी पापको शक्तिबाट बचाइँदै छौं ।

हामी एकदिन पापको उपस्थितिबाट बचाइनेछौं, जब ख्रीष्ट फर्कनुहुनेछ ।

(ख) जब परमेश्वरको वचनले हामीमा परमेश्वरले काम गर्नुहुन्छ भन्ने कुरा बोल्छ, यसले सधैं पवित्र आत्माको सेवालाई जनाउँछ । अनि उहाँको प्राथमिक काम हामीलाई पवित्र पार्नु (हामीलाई पाप र संसारबाट अलग पार्नु) र पवित्र बनाउनु हो । त्यसैले परमेश्वरले हामीमा “जे काम गर्नुहुन्छ”, हामीले “त्यसमा काम” गर्नुपर्छ । जब परमेश्वरले हामीसँग बोल्नुहुन्छ र हामीमा परिवर्तन गर्नुपर्ने कुनै मनोवृत्ति, विचार वा व्यवहार औंल्याउनुहुन्छ, त्यो हो परमेश्वर “हामीमा काम गर्दै हुनुहुन्छ” । जब हामीले त्यो सुधार स्वीकार गर्छौं र “उहाँले औंल्याउनु भएको शरीर वा आत्माको त्यो विशेष फोहोरबाट आफैंलाई शुद्ध पार्छौं” (२ कोरिन्थी ७ः१ हेर्नुहोस्) – हाम्रो जीवनको त्यो विशेष आनीबानी – तब हामी “आफ्नो मुक्तिको काम गरिरहेका हुन्छौं” ।