परमेश्वरले अझै पनि मण्डलीमा काम गरिरहनु भएको छ भन्ने दुई प्रमाणहरु छन्ः उहाँले पूर्ण हृदयभएका चेलाहरुलाई यसमा थप्नुहुन्छ र प्रभुलाई पछ्याउन इच्छुक नभएकाहरुलाई त्यसबाट हटाउनुहुन्छ । हामी धर्मशास्त्रमा पढ्छौंः
“प्रभुले तिनीहरुको संख्यामा मुक्ति पाउनेहरुलाई थप्नुभयो” (ती दिनहरुमा, चेलापनको सन्देश स्वीकार गर्नेहरुलाई मात्र “मुक्ति पाएको” मानिन्थ्यो) (प्रेरित २ः४७) ।
परमप्रभु भन्नुहुन्छ, “म तिमीहरुका घमण्डी र हर्षित मानिसहरुलाई तिमीहरुका बीचबाट हटाउनेछु, तिमीहरुका बीचमा एउटा नम्र र तुच्छ जातिलाई छोड्नेछु । परमप्रभु तिमीहरुका परमेश्वर (त्यसपछि) तिमीहरुका बीचमा हुनुहुनेछ र तिमीहरुमाथि आनन्दको जयजयकार गर्नुहुनेछ (सपन्याह ३ः८–१७)” ।
हामीले सुरु देखि नै हाम्रो मण्डलीमा स्वर्गीय पिताले यी दुबै तरिकाले काम गर्नुभएको देखेका छौं ।
भारत जस्तो एक अर्बभन्दा बढी जनसंख्या भएको देशमा, प्रभु येशू ख्रीष्टको चेला बन्न चाहनेहरुलाई भेट्टाउनु भनेको लाखौं परालको ढिस्कोमा केही सियो खोज्नुजस्तै हो । हामीले यी परालको ढिस्कोमा खोज्दै जीवनभर बिताउनसक्छौं, र त्यसपछि पनि केवल एक वा दुईवटा सियो मात्र भेट्टाउन सक्छौं । तर अझ प्रभावकारी तरिका भनेको यी परालको ढिस्को बाहिर धेरै शक्तिशाली चुम्बकहरु राख्नु हो । त्यसपछि चुम्बकहरुले परालको ढिस्कोबाट सुईहरु न्यूनतम प्रयासमा तान्नेछन् ! यो पूर्ण हृदय भएकाहरुलाई खोज्ने सबैभन्दा असल र प्रभावकारी तरिका हो । अनि परमेश्वरले पनि यो यस्तै होस् भन्ने चाहनुहुन्छ । येशूले भन्नुभयो कि अरुले एकअर्का प्रतिको हाम्रो प्रेम देख्दा हामी उहाँका चेला हौं भनेर थाहा पाउनेछन् (यूहन्ना १३ः१३–३५) । यो मण्डलीको रुपमा हाम्रो साक्षी हो जसले अरुलाई हामीतिर आकर्षित गर्दछ ।
अनि हामी चाहन्थ्यौं कि हाम्रो मण्डली (र प्रभुले हामी मार्फत रोप्नुभएका सबै मण्डलीहरु) त्यस्ता चुम्बकहरु बनून् जसले भारतका हजारौं परालका ढिस्कोहरुबाट चेलाहरुलाई आकर्षित गरुन् – र अन्यत्र पनि ।
प्रभुले हामीलाई चेला बनाउने (धर्म परिवर्तन गर्नलाई होइन) आज्ञा दिनुभएको हुनाले (मत्ती २८ः१८–२०), हामीले सुरुदेखि नै चेलापनका तीन सर्तहरु (लुका १४ः२६–३३ मा उल्लेख गरिएको) प्रचार गर्यौं – येशूलाई अत्याधिक प्रेम गर्ने, दैनिक आत्मिक समर्पण गर्ने र हामीसँग भएका भौतिक चीजहरु प्रतिको आसक्तिबाट मुुक्त हुने । हामी हाम्रा मण्डलीहरुमा चेलापनका यी सर्तहरु पूरा गर्न इच्छुक व्यक्तिहरुलाई मात्र भेला गर्न चाहन्थ्यौं ।
त्यसैले हामीले प्रार्थना गर्यौ कि प्रभुले हाम्रो संख्यामा त्यस्तालाई थपिदिनुभएको होस् जसले त्यो खालेचेला बन्ने चाहना राखेका छन् । हाम्रो मण्डलीमा जोडिनको लागि हामीले कसैलाई कहिल्यै निमन्त्रणा दिएनौं । मानिसहरु आफैं हामीसँग जोडिऊन् भन्ने हामी चाहन्थ्यौं । १९७५ देखि, यी सबै वर्षहरुमा, मैले कुनै एक व्यक्तिलाई पनि हाम्रो मण्डलीमा जोडिनको लागि निमन्त्रणा दिएको छैन । पूर्णरुपमा आफैं हामीकहाँ आउनेहरुलाई मात्र हामीले पाएका छौं । हामीले विश्वास गर्यौं कि प्रभुले ती व्यक्तिहरुलाई पठाउनुहुनेछ जो गोठालो गर्न र सेवकाई गर्न बोलाइएका छन् । प्रभु आफैंले उहाँको मण्डलीमा मानिसहरु थप्नुहुन्छ । येशूले भन्नुभयो,
पिताले मलाई दिनुहुने सबै मकहाँ आउनेछन्, र जो म कहाँ आउनेछन् तिनीहरुलाई मैले कुनै रीतिले त्याग्नेछैन (यूहन्ना ६ः३७) ।
हामीले विश्वास गर्यौ कि हाम्रो लागि ख्रीष्टको शरीरको रुपमा यस पृथ्वीमा पनि यो साँचो ठहरिनेछ ।
प्रभुले चेलाहरु हामीमा थप्नलाई अचम्मका बाटोहरु प्रयोग गर्नुभयो । यहाँ केही उदाहरणहरु छन् ।
नजिकैको देशमा, एउटा युद्ध भयो जसले धेरै मानिसहरुलाई सबैकुरा छोडेर साना डुंगाहरुमा आफ्नो परिवार सहित भाग्न बाध्य बनायो । ती मध्ये केही डुंगाहरु समुद्रमा डुबे र धेरै डुबेर मरे । तर केही बाँचे र भारतको किनाराहरुमा पुगे । भारत सरकारले यी शरणार्थीहरुलाई क्याम्पहरुमा बस्नदियो । हाम्रा दुईवटा मण्डलीहरु यो क्याम्पको नजिकै थिए । ती मण्डलीका हाम्रा केही भाइहरुले ती शरणार्थीहरु (जो परिवर्तन नभएका नाममात्रका ख्रीष्टियानहरु थिए) भेटे र तिनीहरुलाई सुसामाचार सुनाए । फलस्वरुप, तिनीहरु मध्ये केहीले नयाँ जन्म पाएका थिए । हाम्रा भाइहरुले तिनीहरुसँग तिनीहरुमा क्याम्पमा निरन्तर भेटघाट गरे र तिनीहरुलाई मण्डलीको रुपमा स्थापित गरे । तिनीहरुले हाम्रा केही सम्मेलनहरुमा ब्याङ्गलोर र अन्य ठाउँहरुमा पनि सहभागी भए, त्यस्तै दुई वर्षसम्म । आफ्ना गवाहीहरु बाँड्नलाई तिनीहरु यति लालायित थिए कि तिनीहरु सम्मेलनमा पुलपिटमा जान हतारिन्थे र साहससाथ गवाही दिन्थे । तिनीहरु त्यहाँ हुँदा हाम्रा अरु मण्डलीका सदस्यहरुले गवाही बाँड्नलाई विरलै अवसर पाउँथे !! तिनीहरुको जोशले हामीलाई चुनौती दियो । एउटा सम्मेलनमा, मैले बाइबलले कसरी मण्डली ख्रीष्टको अधीनमा भएजस्तै पत्नीहरु उनीहरुको पतिहरुको अधीनमा हुनुपर्छ भनी सिकाउँछ भन्ने विषयमा बोलीसके पछि, तिनीहरु मध्येको एउटा नवविवाहित पत्नी रोइन् र प्रभुमा प्रार्थना गरिन् र उहाँसँग तिनीलाई विवाहको सुरुवातीदेखि अधीनमा रहने पत्नी हुनको लागि अनुग्रह दिनुहोस् भनी बिन्ती गरिन् । मैले मेरो जीवनमा कहिल्यै पनि कुनै पत्नीलाई यति धेरै रोएको र यति धेरै प्रार्थना गरेको सुनेको थिइनँ !!
लगभग दुईवर्ष पछि, भारत सरकारले उनीहरुलाई आफ्नो मातृभूमिमा फिर्ता पठाउने निर्णय गर्यो । तर त्यतिन्जेलसम्म, यी विश्वासीहरु विश्वासमा राम्रोसँग स्थापित भइसकेका थिए र उनीहरु फर्कनु अघि हामीले उनीहरु मध्ये तीन जनालाई एल्डरको रुपमा नियुक्त गर्न सक्यौं । त्यसैले परमेश्वरले तिनीहरुको भारत बसाईको समयलाई सही तरिकाले मिलाउनुभयो । तिनीहरु आफ्नो मातृभूमि फर्केको केही समय पछि, तिनीहरुको क्षेत्रमा फेरि युद्ध भयो, र तिनीहरु तीन फरक क्षेत्रमा छरिए । तर अचम्मको कुरा, यी तीन समूहहरु मध्ये प्रत्येकमा हामीले नियुक्त गरेका एल्डरहरु मध्ये एक थियो ! त्यसैले तिनीहरु ती एल्डरहरुको नेतृत्वमा तीन मण्डलीको रुपमा काम गर्न सके । त्यहाँ उनीहरुको साक्षीको माध्यमबाट धेरैजना ती मण्डलीहरुमा थपिए । हाम्रा एक भाइले केहीचोटी उनीहरुलाई भेट्नुभयो र उनीहरु बीच बैठक गर्नुभयो र उनीहरुलाई प्रोत्साहन दिनुभयो ।
हाम्रा अर्का एक भाइले नयाँ ठाउँमा बसोबास गर्ने निर्णय गरे, त्यहाँ सानो व्यवसाय सुरु गर्नलाई । त्यहाँ पनि ख्रीष्टको समय देखि एउटा पनि मण्डली थिएन । यस भाइको साक्षीले गर्दा, केही चेला बने र आज त्यहाँ एउटा असल मण्डली छ – २००० वर्षमा पहिलो पटक ।
यद्यपि, विगत ५० वर्षमा परमेश्वरले हाम्रो बीचमा गर्नुभएको सबैभन्दा ठूलो चमत्कार भनेको २००० वर्षदेखि अस्तित्वमा नभएका मण्डलीहरु स्थापना गर्नु होइन, तर धेरै मण्डलीहरुको नेतृत्व गर्न ईश्वरीय एल्डरहरुलाई खडा गर्नु हो ।
भारत जस्तो देशमा – जहाँ धेरैजसो ख्रीष्टियान कामदारहरु तलब पाउने कामदारहरु हुन् – कुनै पनि तलब बिना नै परमेश्वरका भेडाहरुको सेवा र गोठालो गर्न इच्छुक आत्मिक सोंच भएका अगुवाहरु फेला पार्न एउटा अद्भुत चमत्कार हो । यो पैसा मुख्यतया विदेशी स्रोतहरुबाट आउँछ । यद्यपि, परमेश्वरले हामीलाई ती मानिसहरु पठाउनु भएको छ जसले हाम्रा मण्डलीहरुमा एल्डर र गोठालोको रुपमा दशकौं देखि स्वतन्त्ररुपमा सेवा गरिरहेका छन् । हामीले कुनैपनि एल्डरलाई तलब नदिने भएकोले, हामी धेरै “ठगी गर्ने ख्रीष्टियानहरु” बाट सुरक्षित छौं जो अन्यथा हामीहरुसँग सामेल हुने थिए । यो समस्या आज धेरै अन्य ख्रीष्टियान मण्डली र संस्थाहरुले सामना गरिरहेका छन् ।
देशभर छरिएर रहेका हाम्रा चुम्बकहरुले परालको ढिस्कोबाट केही मसिना र वास्तविक सुईहरु निकालेका छन् । हामी आगामी दिनहरुमा अझ धेरै निकाल्ने आशा गर्दछौं ।
परमप्रभुको प्रशंसा गर !