हामीले येशूको शिक्षालाई जसरी लेखिएको छ त्यसरी नै ग्रहण गर्नुपर्छ किनभने धेरैले यसलाई कमजोर बनाएका छन् वा यसको अर्थ नै नभएको कुराको अर्थ दिने बनाएका छन् । परमेश्वरको स्तर अनुसार जीवन बिताउन नसक्ने भएकाले धेरै शिक्षकहरुले उहाँको स्तरलाई आफ्नो स्तरमा झारेका छन् । तपाईंसँग दुई विकल्पहरु हुन्छन् जब तपाईं परमेश्वरको वचनमा त्यस्तो केही देख्नुहुन्छ जुन तपाईंले प्राप्त गर्नुभएको छैन, वा जुन तपाईंको जीवन स्तर भन्दा माथि छ । एउटा विकल्प भनेको यसो भन्नु हो, “ठीक छ, परमेश्वरको वचनले वास्तवमा त्यो अर्थ राख्दैन । यसको अर्थ सामान्य रुपमा केही हो तर ठ्याक्कै त्यो होइन ।” उदाहरणका लागि, “मलाई थाहा छ कि फिलिप्पी ४ः४ मा यसले भन्छ, ‘प्रभुमा सधैं आनन्द गर,’ तर यसको अर्थ वास्तवमा ‘सधैं’ होइन । यसको अर्थ, ‘सामान्यतया भन्नुपर्दा,’ वा ‘धेरैजसो समय’ हो ।” यसरी तपाईंले परमेश्वरको वचनलाई आफ्नो शारीरिक स्तरमा घटाउन सफल हुनुभएको छ, र तपाईंले यसलाई पालना गरिरहनुभएको कल्पना गरेर आफूलाई सन्तुष्ट पार्नुहुन्छ । तर आत्मिक सोंच भएको ख्रीष्टियानले परमेश्वरको वचनलाई जहाँ छ त्यहीं छोड्छ र भन्छ, “म प्रभुमा २४ घण्टा सातै दिन आनन्दित हुनुपर्छ,” र उसले नम्रतापूर्वक स्वीकार गर्छ, “प्रभु म अझै त्यहाँ पुगेको छैन । म कहिलेकाहीं आनन्दित भइराखेको छु, कहिलेकाहीं गनगन गर्छु (वा धेरैजसो समय), र प्रायः रिसाउँछु, तर म सबै परिस्थितिहरुमा आनन्दित छैन । बाइबलले भने जस्तै म सबै कुराको लागि धन्यवाद दिइरहेको छैन, त्यसैले म यो स्वीकार गर्छु । कृपया मलाई त्यहाँ लैजानुहोस् ।”
त्यो व्यक्ति परमेश्वरको स्तरमा पुग्नेछ । अर्को व्यक्ति, जसले परमेश्वरको स्तरलाई आफ्नो स्तरमा घटाएको छ, कहिल्यै त्यो प्राप्त गर्न सक्दैन । एक दिन अनन्तकालमा व्युँझनेछ र थाहा गर्नेछ कि उसले आफ्नो जीवनभर परमेश्वरको आज्ञा उल्लंघन गर्यो । त्यसैले, परमेश्वरको वचनलाई जहाँ छ त्यहीँ छोड्नु, र या त हामीले यसलाई बुझेका छैनौं वा हामी त्यहाँ पुगेका छैनौं भनी स्वीकार गर्नु राम्रो हो । त्यसपछि हामी त्यहाँ पुग्ने केही आशा हुन्छ ।
मत्ती ५ः२० मा आउँदा हामीले यो कुरा मनमा राख्नुपर्छः “म तिमीहरुलाई भन्दछु, जबसम्म तिमीहरुको धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकता भन्दा बढी वा उत्कृष्ट हुँदैन, तिमीहरु स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौं ।”
फरिसीहरुको धार्मिकता एकदमै उच्चस्तरको थियो । तिनीहरुले दश आज्ञा पालन गर्थे । धनी जवान शासक येशूकहाँ आएर भने, “मैले सबै आज्ञाहरु पालन गरें,” येशूले त्यसमा प्रश्न गर्नुभएन । (निश्चय नै, तिनीहरुले दशौं आज्ञालाई पालन गर्न सकेनन्, तर दशौं आज्ञा भित्रको कुरासँग सम्बन्धित भएकोले कसैले पनि त्यसलाई पालन गर्न सकेनन् । तर तिनीहरुले अन्य नौ आज्ञाहरु, र पुरानो नियमका सबै नियमहरु पालन गरिरहेका थिए, जसमा ६०० भन्दा बढी आज्ञाहरु समावेश थिए ।) फरिसीहरुले घमण्ड गर्थे कि तिनीहरु नियमित रुपमा प्रार्थना गर्छन्, सम्भवतः दिनमा तीन पटक, हप्तामा दुई पटक उपवास बस्छन्, र आफ्नो सबै आम्दानीको दशांस दिन्छन् । त्यसोभए यसको अर्थ के हो जब यस पदले भन्छ कि तपाईंको धार्मिकता तिनीहरुको भन्दा उत्कृष्ट हुनुपर्छ ?
के यसको अर्थ तपाईंले दिनमा तीन पटक भन्दा बढी प्रार्थना गर्नुपर्छ, हप्तामा दुई पटक भन्दा बढी उपवास बस्नुपर्छ र आफ्नो आम्दानीको १० प्रतिशतभन्दा बढी दिनुपर्छ भन्ने हो ? त्यो अर्थ होइन । हामी सधैं मात्राको हिसाबले सोच्छौं, किनभने हाम्रो मन सांसारिक छ । हामी जति धेरै सांसारिक हुन्छौं, त्यति नै बढी संख्या, तथ्याङ्क र मात्राको हिसाबले सोच्छौं । हामीले एक मण्डलीको मूल्यांकन त्यहाँ भएका मानिसहरुको संख्याले गर्छौं, ती मानिसहरुको जीवनको गुणस्तरले होइन । हामीलाई लाग्छ “तिमीहरु ३०,००० जना एउटै मण्डलीमा भेला हुँदा सबै मानिसहरुले तिमीहरु मेरा चेलाहरु हौ भनी थाहा पाउनेछन्” भनेर भन्नुभएको थियो । तर उहाँले त्यो भन्नुभएको होइन । उहाँले आफ्नो एघार चेलाहरुलाई भन्नुभयो, “तिमीहरु एघार जनाले एकअर्कालाई प्रेम गर्दा सबै मानिसहरुले थाहा पाउनेछन् कि तिमीहरु मेरा चेलाहरु हौ ।” मान्छेको संख्याले केही फरक पार्दैन । एकअर्का प्रतिको प्रेम चेलाहरुको साँचो स्थानीय मण्डलीको प्राथमिक चिन्ह हो ।
येशूले सधैं गुणस्तरमा जोड दिनुभयो । आजको इसाई जगत्, जस्तै मिसन संगठनहरु र मेगा मण्डलीले संख्यामा जोड दिन्छन् । हाम्रो मण्डलीमा कति जना मानिसहरु छन् ? तपाईं कति ठाउँमा पुग्नुभएको छ ? हाम्रो वार्षिक भेटी कति छ ? यी ती कुराहरु हुन् जसमा तिनीहरुले भित्री रुपमा गर्व गर्छन् । अथवा प्रचारकहरुले भन्नेछन्ः मैले कति देशहरुको भ्रमण गरेको छु ? मैले कति सन्देशहरु प्रचार गरेको छु ? मैले कति पुस्तकहरु लेखेको छु ? मैले कति टिभी कार्यक्रमहरुमा बोलिरहेको छु ? यिनै कुराहरुमा शारिरीक मानिसहरुले गर्व गर्छन् ।
येशूले सधैं गुणस्तरमा जोड दिनुभयोः गुणस्तरीय नुन र गुणस्तरीय ज्योति । उहाँको जीवनको अन्त्यमा उहाँका एघार जना चेलाहरु मात्र थिए । त्यो ठूलो संख्या होइन, तर तिनीहरुको जीवनको गुणस्तर हेर्नुहोस् । ती एघार चेलाहरुले संसारलाई उलटपुलट पारे । जसले सबै त्यागेका छन्, जसलाई पैसामा कुनै रुचि छैन, अरु यस्तैखाले कुराहरुमा, त्यस्ता चेलाहरु कहाँ पाउनुहुन्छ ? आज संसारमा त्यस्तो प्रचारक एक जना पनि पाउनु दुर्लभ छ ।
अनि येशूले “तपाईंको धार्मिकता फरिसीहरुको धार्मिकताभन्दा बढी हुनुपर्छ” भन्नुहुँदा उहाँले त्यो गुणलाई जोड दिँदै हुनुहुन्थ्यो । गुणस्तर तपाईं संलग्न हुने गतिविधिहरुको संख्यामा होइन । यसको पैसासँग कुनै सम्बन्ध छैन । यसको प्रार्थनासँग कुनै सम्बन्ध छैन । यो जीवनको गुणस्तर सँग सम्बन्धित छ ।
येशूले बाँकी पदहरुमा (वास्तवमा, लगभग डाँडाको उपदेशको अन्त्यमा) यो एउटा पदको व्याख्या गर्दै जानुहुन्छ । हामी भन्नसक्छौं कि डाँडाको उपदेशको अधिकांश भागले मत्ती ५ः२० को व्याख्या गरिरहेको छ । के तपाईं स्वर्गको राज्यमा प्रवेश गर्न चाहनुहुन्छ ? त्यसोभए तपाईंको धार्मिकता शास्त्री र फरिसीहरुको धार्मिकता भन्दा उत्कृष्ट हुनुपर्छ । हामीले परमेश्वरको स्तरलाई तल झार्नुहुँदैन ।