द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च नेता
WFTW Body: 

पर्गाममको मण्डलीमा बालामका शिक्षाहरु मौलाएको थियो किनभने त्यहाँको एल्डर मानिसहरुका दास बनेका थिए ।

परमेश्वरको सेवक सधैं स्वतन्त्र रहनुपर्छ । “तिमीहरु मूल्य तिरेर किनिएका छौ । मानिसहरुको दास नबन ।” (१ कोरिन्थी ७ः२३) ।

बालामको शिक्षामा दुई भागहरु छन् । पत्रुसले २ पत्रुस २ः१४, १५ मा ती दुबैको उल्लेख गरेका छन् – लोभ र व्यभिचार ।

येशूले भन्नुभयो, पैसालाई प्रेम गर्नेले परमेश्वरलाई घृणा गर्छ, र पैसामा टाँसिनेले परमेश्वरलाई तुच्छ ठान्छ (लूका १६ः१३ ध्यानपूर्वक पढ्नुहोस्) ।

यदि हामीले त्यो स्पष्ट रुपमा सिकाउँदैनौं भने, बालामको शिक्षा हाम्रो मण्डलीमा फस्टाउनेछ, र दाजुभाइ दिदीबहिनीहरु पैसाको प्रेमी हुनेछन् ।

तर यदि हामीले येशूले सिकाउनु भएको कुरा सिकाउने हो भने, पहिले हामी आफैं पैसाको पञ्जाबाट मुक्त हुनुपर्छ । पैसाको पञ्जाबाट मुक्त हुनुभन्दा क्रोध र आँखाको वासनाबाट मुक्त हुन सजिलो छ ? निरन्तर युद्ध गरेर मात्र हामी यो खराबीलाई जित्न सक्छौं ।

के हामीले पैसाको प्रेमलाई “सबै किसिमका खराबीको जरा” भनेर देखेका छौं (१ तिमोथी ६ः१०) ? क्रोध र आँखाको कामवासनालाई दुष्ट मानिन्छ, तर पैसाको प्रेमलाई भने होइन । अनि यसरी धेरै जना पैसाको दास बनेका छन्, र उनीहरुलाई थाहा छैन कि यसरी उनीहरुले परमेश्वरलाई घृणा गर्छन् र तुच्छ ठान्छन् ।

बहुसंख्यक तथाकथित “पूरा–समयको सेवकहरु” बालाम जस्तै पैसाको प्रेमको दासत्वमा परेका छन् । तिनीहरु धनी विश्वासीको घरमा जान्छन्, किनकि तिनीहरुलाई थाहा छ कि उनीहरुले तिनीहरुबाट उपहार पाउनेछन् । अनि यसरी जब यी धनी र प्रभावशाली व्यक्तिहरुलाई तिनीहरुको पापको लागि हप्काउनु पर्छ तब तिनीहरुको मुख बन्द हुन्छ । तिनीहरु ती मण्डलीहरुमा प्रचार गर्नको लागि यात्रा गर्छन् जहाँ तिनीहरुले धेरै भेटीहरु पाउनेछन् भनी तिनीहरुलाई थाहा छ । यस्ता प्रचारकहरुले कसरी परमेश्वरको सेवा गर्न सक्छन् ? त्यो असम्भव छ । तिनीहरुले धनको सेवा गरिरहेका छन् । येशूले भन्नुभयो कि कसैले पनि दुई मालिकको सेवा गर्न सक्दैन ।

नयाँ करार अन्तर्गत परमेश्वरको सेवक बन्न चाहने जो कोहीको लागि तीन आवश्यक योग्यताहरु छन्ः

ऊ आफ्नो व्यक्तिगत जीवनमा पापबाट मुक्त भएको हुनुपर्छ (रोमी ६ः२२) ।

उसले मानिसहरुलाई खुशी पार्न खोज्नु हुँदैन (गलाती १ः१०) ।

उसले पैसालाई घृणा गर्न र तुच्छ ठान्नै पर्छ (लूका १६ः१३) ।

हामी नयाँ करारको सेवक हुन योग्य छौं कि छैनौं भनेर हेर्नको लागि हामीले यी तीन क्षेत्रहरुमा हाम्रो जीवनलाई निरन्तर जाँच गर्नैपर्छ ।

यदि हामी परमेश्वरको लागि प्रभावकारी हुन चाहन्छौं भने, हाम्रो जीवनमा पैसा र भौतिक चीजहरुको कुनै प्रभाव हुनुहुँदैन ।

हामीले उपहार लिने कुराको पनि घृणा गर्नुपर्छ, किनकि येशूले भन्नुभयो, “लिनुमा भन्दा दिनुमा धेरै आशिष हुन्छ” (प्रेरित २०ः३५) ।

यदि हामी हाम्रो जीवनमा पैसाको पकडबाट मुक्त भएनौं भने, हामीले कहिल्यै पनि परमेश्वरलाई प्रेम गर्न वा उहाँको सेवा गर्ने कुरामा जसरी हामीले गर्नुपर्ने त्यसरी गर्न सक्षम हुनेछैनौं । अनि अरुलाई परमेश्वरलाई प्रेम गर्न तिर डोर्याउन हामी सक्षम हुनेछैनौं । अनि तिनीहरुलाई बालामको शिक्षाबाट छुटाउनमा हामी सक्षम हुनेछैनौं ।

बालामको शिक्षाको दोस्रो पक्ष अनैतिकता हो । यो शिक्षाले दाजुभाइ दिदीबहिनीहरुलाई कुनै पनि अवरोध बिना एकअर्कासँग स्वतन्त्र रुपमा घुलमिल हुन प्रोत्साहित गर्छ । प्रकाश २ः१४ मा हामी पढ्छौं कि बालामले मोआबी केटीहरुलाई इस्राएली युवाहरुसँग स्वतन्त्र रुपमा घुलमिल हुन प्रोत्साहित गरेका थिए । यसले इस्राएलीहरु माझ यस्तो अनैतिकता निम्त्यायोे कि परमेश्वरले एकै दिनमा २४,००० लाई मार्नुभयो (गन्ती २५ः१–९) ।

जब पीनहासले भाला उठाए र त्यसलाई रोके, तब मात्र इस्राएल विरुद्धको परमेश्वरको क्रोध शान्त भयो । जब परमेश्वरले पीनहासको कार्य देख्नुभयो, उहाँ यति खुशी हुनुभयो कि उहाँले उसलाई अनन्त पुजारीको करार दिनुभयो (गन्ती २५ः११–१३) । मण्डलीमा दाजुभाइ दिदीबहिनीहरुको स्वतन्त्र घुलमिलको विरुद्धमा उग्र हुनेहरुलाई परमेश्वरले सधैं सम्मान गर्नुहुन्छ ।

यहाँ फेरि पनि, एल्डरहरुको रुपमा, हामी हाम्रो व्यक्तिगत आचरणद्वारा उदाहरण हुनुपर्छ । हामी दिदीबहिनीहरुसँगको व्यवहारमा गम्भीर हुनुपर्छ, र उनीहरुसँग सबै प्रकारका उच्छृंखल र अनावश्यक कुराकानीबाट टाढा रहनुपर्छ । हामीसँग सधैं कुरा गर्न चाहने दिदीबहिनीहरुबाट हामी विशेष गरी सतर्क हुनुपर्छ । यदि हामीलाई दिदीबहिनीहरुसँग कुरा गर्न मन पर्छ भने, हामी परमेश्वरको मण्डलीको नेतृत्व गर्न अयोग्य छौं । हामीले कहिल्यै पनि बन्द कोठामा महिलाहरुसँग कुरा गर्नु हुँदैन । दिदीबहिनीहरुलाई आफ्नी श्रीमती वा अर्को एल्डर दाजुभाइसँगै सल्लाह दिनु सधैं असल हुन्छ ।

जब चेलाहरुले येशूलाई सामरियाको इनारमा एउटी स्त्रीसँग कुरा गरिरहेको देखे, लेखिएको छ कि “उहाँ एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर तिनीहरु छक्क परे”(यूहन्ना ४ः२७) – किनभने येशूले प्रायः कहिल्यै एक्लै स्त्रीसँग कुरा गर्नुभएन । उहाँ दुष्टताको रुपमा देखिने कुनै पनि काम नगर्नमा सावधान हुनुहुन्थ्यो । हामी सबैले पछ्याउनु पर्ने उदारहण यहाँ छ ।