द्वारा लिखित :   जैक पूनेन कोटिहरू :   चर्च चेलाहरू
WFTW Body: 

मण्डलीलाई सांसारिकता र पापप्रति सुस्त मनोवृत्तिमा डोर्याउने खाले सिद्धान्तहरु मानिसहरुलाई सिकाउन अनुमति दिएकोमा पर्गाममका एल्डरहरुलाई हप्काइएको थियो (प्रकाश २ः१४, १५) । उनी आफैं असल मानिस हुनसक्लान् । तर उनले अरुलाई बालामको सिद्धान्त सिकाउने अनुमति दिए । त्यसैले उनी दोषी थिए ।

मानिसहरुलाई पापलाई हल्का रुपमा लिनेगरी डोर्याउने कुनै पनि प्रचारलाई मण्डलीमा अनुमति नदिइयोस् भनेर सुनिश्चित गर्न प्रभुले एल्डरहरुलाई जिम्मेवार ठहराउनुहुन्छ । “एउटा सिद्धान्त छ जसले भक्तितर्फ डोर्याउँछ” (ईश्वरीय, ख्रीष्टको जस्तो जीवन), र त्यो मात्र “स्वच्छ शिक्षा” हो (१ तिमोथी ६ः३ – मार्जिन) । अरु सबै शिक्षाहरु कम वा बढी हदसम्म अस्वच्छ छन् ।

यी एल्डरले आफ्नो मण्डलीमा किन यस्ता फितला शिक्षाहरुलाई अनुमति दिए ? सम्भवतः उनले दाजुभाइ दिदीबहिनीहरुलाई कहिल्यै कुनैपनि कुरामा सच्याएनन्, किनकि उनी एक नम्र र कोमल भाइको रुपमा प्रतिष्ठा चाहन्थे । यदि त्यसो हो भने, उनले मण्डलीको भलाई भन्दा आफ्नो सम्मान खोजे ।

“नम्रता” र “कोमलता” त्यस्ता सद्गुणहरु हुन् जुन हामीले येशूको उदाहरणबाट सिक्नुपर्छ, जसरी उहाँले हामीलाई गर्न भन्नुभएको थियो (मत्ती ११ः२९) । अन्यथा हामीले तिनीहरुको अर्थको गलत बुझाइ पाउन सक्छौं ।

येशूको नम्रता र कोमलताले उहाँलाई पैसा साट्नेहरुलाई मन्दिरदेखि बाहिर निकाल्नबाट रोक्न सकेन, वा पत्रुसले येशूलाई क्रुसबाट बच्नुपर्छ भनेर झुटो सिद्धान्त प्रचार गर्दा, “शैतान मेरो पछि लाग” जस्ता कडा शब्दहरुले पत्रुसलाई हप्काउनबाट रोक्न सकेन (मत्ती १६ः२२, २३) ।

मण्डलीलाई बहकाउनलाई शैतानले पत्रुस जस्तो असल भाइलाई पनि प्रयोग गर्नसक्छ । किनकि त्यो भाइले वैठकहरुमा क्रुसको वचनलाई धमिल्याउने तरिकाले बोल्नसक्छ । यस्ता प्रचारहरु शैतानको आवाज हो भनी सधैं पहिचान गरिनुपर्छ – किनकि यसरी नै शैतानले मण्डलीलाई परमेश्वरले लैजान चाहनुभएको दिशा भन्दा पर लैजान सक्छ ।

मण्डलीका एल्डरहरुका रुपमा हामीसँग भएको महान् जिम्मेवारी मध्ये, हाम्रो मण्डली कुन दिशातिर जानुपर्ने त्यो निश्चित गर्नु हो । यो सांसारिकता र सम्झौताको दिशा हुनु हुँदैन । न त यो फरिसीवाद र व्यवस्थावादको दिशा हुनुपर्छ । तर यो क्रुसको बाटो हुनुपर्छ – परमेश्वरको इच्छाको दिशा ।

बालाम जस्तो प्रचारकसँग प्रायः ठूलो आत्मिक शक्ति हुँदछ र तिनीहरुले मण्डलीका मानिसहरुमा अस्वस्थ प्रभाव पार्न सक्छन् । शक्तिशाली मानवीय व्यक्तित्व भएका प्रचारकहरुले सधैं अरुलाई वशमा पार्छन्, र तिनीहरुलाई ख्रीष्टसँग आफ्नो शिरको रुपमा जोडिनबाट बन्चित गराउँछन् । तिनीहरुले अरुलाई यसरी प्रभाव पार्छन् कि उनीहरुलाई साँचो आत्मिकताबाट टाढा, सतही, सांसारिक धार्मिकतामा लैजान्छन् ।

जब एक प्रचारकले आफ्नो प्राण–शक्तिलाई मृत्युमा लगाउनु भनेको के हो भनेर बुझेको हुँदैन, उसले विश्वासीहरुलाई ख्रीष्ट शिरसँग होइन तर आफूसँग जोड्नेछ । विश्वासीहरुले प्रचारकको प्रसंशा गर्नेछन् र उसलाई पछ्याउनेछन्, तर तिनीहरुले आफ्नो जीवनमा पापमाथि वा सांसारमाथि कहिल्यै विजय हासिल गर्ने छैनन् ।

आत्मिक शक्ति र प्राण–शक्ति बीच ठूलो भिन्नता छ, र हामीले यी दुई बीचको भिन्नता छुट्याउन सक्षम हुनुपर्छ । कुनै व्यक्तिसँग बाइबलको धेरै ज्ञान र बोल्न सक्ने क्षमता हुनसक्छ । ऊ दाजुभाइ दिदीबहिनीहरुलाई धेरै आतिथ्य देखाउन सक्ला र धेरै व्यावहारिक तरिकामा उनीहरुलाई मद्दत गर्न सक्ला । तर यदि उसले मानिसहरुलाई ख्रीष्टसँग होइन तर आफैंसँग जोड्छ भने, ऊ ख्रीष्टको शरीरको निर्माणमा बाधा हुनेछ ।

बालाम जस्ता प्रचारकहरु अरुबाट उपहार पाउँदा खुशी हुन्छन् (गन्ती २२ः१५–१७) । उपहारले हाम्रो आँखा अन्धो बनाउन सक्छ (हितोपदेश १७ः८), र हामीलाई मानिसहरुको दास बनाउने गरी उनीहरु प्रति बाध्य बनाउन सक्छ । त्यसले हामीलाई परमेश्वरको सत्यता बोल्न र हाम्रा हितकारीहरुलाई सच्याउनबाट बच्चित गराउन सक्छ ।

परमेश्वरको सेवक सधैं स्वतन्त्र रहनुपर्छ । “तिमीहरु मूल्य तिरेर किनिएका हौ । मानिसहरुका दास नबन ।” (१ कोरिन्थी ७ः२३) ।