WFTW Body: 

"तिमी धन्यको हौ जब मानिसहरुले मेरो खातिर तिम्रो निन्दा गर्नेछन् र तिमीलाई सताउनेछन् र सबै प्रकारका दुष्ट कुराहरु तिम्रो बिरुद्धमा भन्नेछन्" (मत्ती ५ः११) । यो पद अघिल्लो पदसँग मिल्दोजुल्दो छ, जसले भन्छ, "धन्य हुन् तिनीहरु जो धार्मिकताको निम्ति सताइन्छन्...." तर त्यहाँ एक महत्वपूर्ण फरक येशूले देखाउनुहुन्छ ।

पद १० र पद ११ बीचको फरक यही हो, पद १० मा, जे सही छ त्यसको निम्ति तपाईं खडा बन्नुहुन्छ । कहिलेकाहीं गैर-ख्रीष्टियानहरु पनि हुन्छन् जो सही कुराको पक्षमा खडा रहन्छन् । जागिर गुमाएका मानिसहरु, सही फैसला गरेको कारण मारिएका न्यायधीशहरु, र सही कुराको पक्षमा उभिँदा शत्रुहरुद्वारा मारिएका व्यापारीहरु, राजनीतिज्ञहरु र अरुहरु छन् । यो केवल ख्रीष्टियानहरुले मात्र गर्दैनन्, र यो लाजमर्दो कुरा हो कि गैर-ख्रीष्टियानहरु ख्रीष्टियान भएको दाबी गर्ने धेरै भन्दा कहिलेकाहीं धार्मिकताको पक्षमा उभिन बढी इच्छुक हुन्छन् । मलाई विश्वास छ कि न्यायको दिनमा जब त्यस्ता ख्रीष्टियानहरु जसले परमेश्वरको राज्यमा प्रवेश गरिरहेको कल्पना गरेका थिए, उनीहरुलाई सम्झौता गर्ने र पछि हट्नेहरुको रुपमा पर्दाफास गरिनेछ, तब तपाईं धेरै अचम्मित बन्नुहुनेछ । यदि तपाईं धर्मी हुनुहुन्छ र धार्मिकताको खातिर सताइन तयार हुनुहुन्छ भने, स्वर्गको राज्य तपाईंको हो, अन्यथा होइन ।

मत्ती ५ः११ ले येशूको खातिर सताइने बारेमा बताउँछ । यदि तपाईं येशू ख्रीष्टको चेला हुनुहुन्छ भन्ने तथ्यको बारेमा मौन रहनुभयो भने, तपाईंले आफ्नो काम गर्ने ठाउँमा केही फाइदाहरु प्राप्त गर्न सक्नुहुन्छ । हुनसक्छ तपाईं धर्मी हुनुहुन्छ र अरुले यसको कदर गर्छन्, तर तपाईं येशू ख्रीष्टलाई मुक्तिको बाटोको रुपमा विश्वास गर्नुहुन्छ भन्ने तथ्यको बारेमा मौन बस्नुहुन्छ किनभने तपाईंलाई पदोन्नति नपाउने डर छ । सायद तपाईं अरुलाई तपाईं गैर-ख्रीष्टियान हुनुहुन्छ भनेर विश्वास गर्न दिन चाहनुहुन्छ, जसरी तपाईंका हाकिमहरु छन् र तपाईंलाई ख्रीष्टको साक्षी हुन लाज लाग्छ । मैले सरकारी कार्यालयहरु र बैंकहरु देखेको छु जहाँ गैर ख्रीष्टियानहरुले आफ्नो मनपर्ने देवताको तस्वीर भएको पात्रो झुन्ड्याउँछन्, तर आफू एक ख्रीष्टियान भएको तथ्य उच्चारण गर्ने परमेश्वरको वचन लेखिएको पात्रो झुन्ड्याउन इच्छुक हुने ख्रीष्टियान भेट्न धेरै दुर्लभ छ । किनभने उसलाई मानिसहरुले के भन्नेछन् भन्ने डर छ । "के मेरो हाकिमले यो देख्नेछ र मलाई पदोन्नति हुनबाट रोक्नेछ वा कुनै तरिकाले मलाई हैरान पार्नेछ ?"

"धन्य हुन् ती मानिसहरु जो मेरो कारणले सताइएका छन्, जो म देखि लज्जित छैनन् ।" के तपाईं आफ्नो काम गर्ने थलोमा येशू देखि लज्जित हुनुहुन्छ ? धेरै गैर-ख्रीष्टियानहरु पनि बाह्य रुपमा धर्मी छन् भनेर तपाईं बाह्य रुपमा धर्मी भएको कुरामा घमण्ड नगर्नुहोस् । त्यो भन्दा अगाडि बढ्नुहोस्, एक कदम अगाडिः घोषणा गर्नुहोस्, "म पनि एक ख्रीष्टियान हुँ । म येशू ख्रीष्टको चेला हुँ ।" यदि तपाईं परमेश्वर र उहाँको वचनको लागि खडा हुनुहुन्छ (र यो केवल काम गर्ने ठाउँमा मात्र होइन, प्रचारकको रुपमा पनि यदि तपाईं परमेश्वरको वचनमा सिकाइएको सबै कुराको लागि खडा हुनुहुन्छ भने), यदि तपाईं ख्रीष्टियान जगतमा रहेको छललाई पर्दाफास गर्न उत्सुक हुनुहुन्छ भने, मानिसहरुले तपाईंलाई अपमान गर्नेछन् र सताउनेछन् र तपाईंको बारेमा सबै प्रकारका दुष्ट कथाहरु झुटा रुपमा भन्नेछन्, किनभने तपाईं सत्यको लागि खडा हुनुहुन्छ ।

त्यस्तो हुँदा तपाईंले के गर्नुपर्छ ? के हामीले आफ्नो लागि दुःख महसुस गर्नुपर्छ ? त्यसो त परै जाओस् ! यसले भन्छ, "आनन्द गर र खुशी होओ, किनकि स्वर्गमा तिमीहरुको इनाम ठूलो छ" (मत्ती ५ः१२) । पृथ्वीमा तपाईंले इनाम पाउनुहुनेछैन - तपाईंलाई सताउनेछन् र निकाल्नेछन् - तर स्वर्गमा तपाईंको इनाम ठूलो छ किनभने तपाईंभन्दा अघिका सबै अगमवक्ताहरुलाई तिनीहरुले त्यस्तै सताए । यदि तपाईंले पुरानो नियमका अगमवक्ताहरुलाई हेर्नुभयो भने, तपाईंले परमेश्वरका साँचो अगमवक्ताहरुलाई सताइएको देख्नुहुनेछ । यद्यपि, तिनीहरुले भोगेका सतावटहरु सधैं उल्लेख गरिएको छैन । उदाहरणको लागि, यशैया जस्तो एक जना मानिसलाई लिनुहोस्, जसले इस्राएलका मानिसहरुका बिरुद्ध केही कडा शब्दहरु बोले । यशैयाको पुस्तकमा उनको मृत्य कसरी भयो भनेर बताइएको छैन, तर परम्पराले हामीलाई बताउँछ कि उनी काठको खोक्रो मुढा भित्र थिए र उनका सतावटकर्ताहरुले उनलाई दुई टुक्रा पारेर काटे ।

उनी हिब्रू ११ मा उल्लेख गरिएका मानिसहरु मध्ये एक हुन्, जसलाई करौंतीले चिरिएको थियो । ख्रीष्टको पक्षमा उभिने सबैलाई सताइनेछ । प्रेरित ७ मा मुख्य पूजाहारीहरुको अगाडि उभिरहेका बेला स्टिफनले आफ्नो लामो सन्देशको अन्त्यमा भीडलाई एउटा धेरै महत्वपूर्ण प्रश्न सोध्छन्ः प्रेरित ७ः५२ मा उनी भन्छन्, "तिमीहरुका पुर्खाहरुले कुन अगमवक्तालाई सताएनन् ? तिमीहरुका पुर्खाहरुले ती मानिसहरुलाई मारे जसले पहिले नै धार्मिक येशूको आगमनको घोषणा गरेका थिए । इस्राएलका कुन अगमवक्तालाई तिमीहरुका पुर्खाहरुले सताएनन् ? के तिमी एक जनाको नाम भन्नसक्छौ ?" स्टिफनले इस्राएलको इतिहास वर्णन गर्दै थिए । उनले इस्राएलको इतिहास अध्ययन गरेका थिए र उनले निष्कर्ष निकाले कि इस्राएलको सम्पूर्ण इतिहासमा एक पनि अगमवक्ता थिएनन् जसलाई सताइएको थिएन । न त पुरानो नियममा न त नयाँ नियममा कोही पनि साँचो अगमवक्ता लोकप्रिय थिएनन् ।

पास्टरहरु लोकप्रिय हुन सक्लान्, प्रचारकहरु लोकप्रिय हुन सक्लान्, र कहिलेकाहीं प्रेरितहरु पनि लोकप्रिय हुन सक्लान् । शिक्षकहरु धेरै लोकप्रिय हुनसक्लान्, तर एक अगमवक्ता लगभग कहिल्यै लोकप्रिय हुँदैनन् किनभने उनी मण्डली वा मानिसहरुमा भएका गल्तीहरुको निदान र उजागर गर्न आउँदैछन् । अनि उनी मण्डलीमा उनीहरुले सुन्नुपर्ने कुरा बोल्न आउँछन्, उनीहरुले सुन्न चाहेको कुरा होइन । उनले तिनीहरुलाई परमेश्वरका वचनका ती क्षेत्रहरु देखाउनेछन् जुन तिनीहरुले बेवास्ता गरिरहेका छन् । उनले तिनीहरुलाई तिनीहरुका जीवनका ती क्षेत्रहरु देखाउनेछन् जहाँ तिनीहरु परमेश्वरको स्तरहरुबाट चुकिरहेका छन् र त्यसपछि उनलाई सताइनेछ । यो आज पनि भइरहेको छ । येशूका पक्षमा उभिनुको अर्थ यही हो, "मेरो र मेरो वचनको खातिर ।" यदि तपाईं सताइनु भएको छ भने, तपाईं धन्यको हुनुहुन्छ र तपाईं ईर्ष्यागर्न लायकको हुनुहुन्छ । अर्को संस्करणमा भनिएको छ, "आनन्दले उफ्र !" तपाईं उत्साहित हुनुपर्छ किनभने तपाईं अगमवक्ताहरुको पाइलामा र येशू ख्रीष्टको पाइलामा हुनुहुन्छ ।