"धन्य धार्मिकताको खातिर सताइएकाहरु, किनभने स्वर्गको राज्य तिनीहरुको हो" (मत्ती ५ः१०) । हामीले पहिले हेरेका थियौं, "धन्य आत्मामा गरिब हुनेहरु किनभने स्वर्गको राज्य तिनीहरुको हो ।" जब हामीले नम्रताको स्थान लिन्छौं र शान्तिको पछि लाग्छौं, धार्मिकताको लागि भोकाउँछौं र तिर्खाउँछौं, र हामी नम्रताको पछि लाग्छौं साथै हाम्रो अधिकारको लागि लड्दैनौं, तब हामी संसारका दुष्ट सतावट दिने मानिसहरुलाई भेट्टाउनेछौं । ईश्वरीय तरिकाले जिउन खोज्ने सबैलाई सताइनेछ । त्यसैले यदि हामी धार्मिकतामा बाँच्न खोज्छौं भने, हामी सताइनेछौं ।
२ तिमोथी ३ः१२ पवित्र आत्माबाट प्रेरित एक पूर्ण कथन हो । पावल भन्छन्, "ख्रीष्ट येशूमा भक्तिपूर्वक जीवन जिउन चाहनेहरु सबैजना सताइनेछन् ।" यसले "केही" भन्दैन; यसले "धेरै" भन्दैन; यसले "धेरैजसो" भन्दैन । यो केही, धेरै, धेरैजसो, वा सबै हुनसक्छ । ख्रीष्ट येशूमा विश्वास गर्ने प्रत्येक व्यक्ति (आफूलाई विश्वासी हुँ भनी दाबी गर्ने प्रत्येक व्यक्ति होइन, तर ईश्वरीय जीवन बिताउन चाहने प्रत्येक व्यक्ति) सबैमा समावेश छ ।
धार्मिकताको लागि सताइनुको अर्थ के हो ? धार्मिकताको निम्ति उभिनुको अर्थ के हो भनेर हामीले विचार गर्न आवश्यक छ । यसको अर्थ तपाईंको काम गर्ने ठाउँमा वा कुनै परिस्थितिमा, तपाईंले भन्नुहुन्छ, "म त्यो गलत गर्दिन ।" धेरै कामहरुमा मानिसहरुले सम्झौता गर्छन् - तिनीहरु झुट बोल्छन्, ठग्छन्, र केही अधर्मी काम गराउन घुस दिन्छन् । जब ख्रीष्टियानहरु त्यस बाटोमा हिँड्छन्, तिनीहरुले अवश्य पनि सतावटको सामना गर्न पर्दैन; तर यदि तिनीहरुले त्यस बाटोमा जान अस्वीकार गरे, यदि तिनीहरुले घुस लिन, वा केही अधार्मिक कुरा गर्न अस्वीकार गरे भने तिनीहरुले आफूभन्दा माथिका मानिसहरुबाट धम्की सामना गर्न सक्छन्, जो त्यो घुस वा त्यस्तै केहीको हिस्सा चाहन्छन् । यस्ता धेरै अवस्थाहरु छन् । जब तपाईं इमानदारीको पक्षमा उभिनुहुन्छ, तपाईंले आफ्नो जागिर गुमाउन सक्नुहोला वा आफ्नो मालिकहरुबाट तिरस्कृत हुन सक्नुहोला, तर स्वर्गको राज्य तपाईं कै हो । त्यस प्रकृयामा तपाईंले संसारको केही गुमाउन सक्नुहोला - सायद कुनै पद, सायद कुनै पदोन्नति हुनसक्छ - तर त्यसको बदलामा तपाईंले केही चीज पाउनु हुनेछ । के त्यो यसको लायक छ ?
के कुनै व्यक्तिले कुनै परिस्थितिमा भर्ना पाउन वा जागिर पाउनको लागि झुट बोल्नु ठीक हो ? यो असल होइन ! यो एक ख्रीष्टियानको लागि कहिल्यै असल हुँदैन । उसले यसो नगर्नु नै धेरै असल हुन्छ किनकि ऊ परमेश्वरको इच्छा बाहिर जानेछ । यदि तपाईं झुट बोलेर कुनै परिस्थितिमा प्रवेश गर्नुभयो भने, तपाईं पक्का हुन सक्नुहुन्छ कि परमेश्वरले तपाईंलाई त्यहाँ डोर्याउनु भएको होइन । जब तपाईं कुनै कठिन परिस्थितिको सामना गर्नुहुन्छ, शैतानले तपाईंलाई भन्न सक्छ, "यहाँ झुट बोल्नुहोस् किनभने झुट सर्वशक्तिमान हुन्छ; यसले तपाईंलाई जे पनि दिलाउन सक्छ ।" अनि पवित्र आत्माले भन्नुहुन्छ, "होइन, त्यो झुट हो; परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ । झुट बोल्नु भनेको तपाईंले चाहेको कुरा प्राप्त गर्ने सबैभन्दा शक्तिशाली तरिका होइन । परमेश्वरको पक्षमा खडा हुनुहोस् । परमेश्ववरले तपाईंलाई जे दिन चाहनुहुन्छ त्यो दिन सक्नुहुन्छ ।" त्यसपछि तपाईंले जान्नु हुनेछ कि परमेश्वरले तपाईंलाई त्यही दिनुहुनेछ जुन तपाईंले पाउनुपर्ने हो ।
म नौसेनामा काम गर्दाका धेरै परिस्थितिहरु मलाई याद छन्, जहाँ म मेरा वरिष्ठ अधिकारीहरुको अगाडि उभिएर भन्नुपथ्र्यो, "मलाई माफ गर्नुहोस्, सर म त्यसो गर्न सक्दिन किनभने मेरो अन्तस्करणले मलाई अनुमति दिँदैन । म एक ख्रीष्टियान हुँ ।" अनि त्यो सेनामा भन्नु धेरै जोखिमपूर्ण, खतरनाक कुरा हो । यदि तपाईंले धर्मनिरपेक्ष जागिरमा त्यसो भन्नुभयो भने, तपाईं बर्खास्त हुनुपर्नेछ र जागिरबाट निकालिनुहुनेछ । तर जब तपाईं सेनामा त्यो भन्नुहुन्छ, तपाईं कोर्ट-मार्शल हुने खतरामा पर्नुहुन्छ, जसको अर्थ अदालतमा लगिनुहुनेछ र सम्भवतः जेल हालिनेछ, किनभने सेनामा आदेश पालना नगर्नु धेरै गम्भीर कुरा हो । मलाई धेरै परिस्थितिहरु याद छन् जहाँ त्यो भयो र मैले मेरो हेरचाहको लागि परमेश्वरमा भरोसा गर्नुपर्यो । यदि उनीहरुले मलाई मेरो अन्तस्करणलाई उल्लंघन गर्ने कुनै काम गर्न भने भने, म भन्ने गर्थें, "माफ गर्नुहोस्, सर म एक ख्रीष्टियान हुँ, म त्यो गर्न सक्दिन ।" त्यो अधिकारी कति वरिष्ठ थिए भन्ने कुराले फरक पार्दैनथ्यो ।
सम्भव थियो कि त्यसका कारण मलाई कुनै न कुनै रुपमा पीडा भएको हुनुपथ्र्यो, अर्थात् कमाण्डिङ अधिकारीले मलाई बढुवाको लागि राम्रो सिफारिस गर्दैनथ्यो । एक पटक मलाई आधा घण्टा भित्र अर्को पोस्टमा सरुवा गरियो । मलाई असुविधा हुनसक्थ्यो, तर त्यो ठीक थियो । तपाईंले यसलाई सतावट भन्नसक्नुहुन्न; यी प्रारम्भिक ख्रीष्टियानहरुलाई खाएका सिंहहरुको तुलनामा सानो लामखुट्टेको टोकाइ जस्तै हुन् । तर प्रारम्भिक ख्रीष्टियानहरुले पनि यी कुराहरुको सामना गरे ।
परमेश्वरले तपाईंलाई यो कुरामा जाँच्नुहुनेछ । मलाई थाहा छ कि परमेश्वरले मलाई विभिन्न समयमा जाँच्नुभएको छ र म विश्वास गर्छु कि यदि म ती ठाउँहरुमा त्यो जाँचमा असफल भएको भए, म आज जहाँ छु त्यहाँ हुने थिइनँ र परमेश्वरले मलाई दिनुभएको सेवा पनि पाउने थिइनँ । यदि तपाईं धर्मी भएको भए र धार्मिकताको खातिर केही ठाउँहरुमा संसारिक क्षति भोग्न तयार भएको भए सायद तपाईंले सेवकाई पाउन सक्नुहुन्थ्यो । स्वर्गको राज्य केही हदसम्म तपाईंको हुने थियो, तर तपाईंले त्यसको केही अंश गुमाउनुभयो । तपाईं विगतको बारेमा केही गर्न सक्नुहुन्न; तपाईंले जे गुमाउनुभएको छ त्यो गइसक्यो र तपाईं त्यसलाई फिर्ता पाउन सक्नुहुन्न । तर तपाईंले भविष्यको लागि केही गर्न सक्नुहुन्छ । भन्नुहोस्, "प्रभु, कम्तिमा आउने दिनहरुमा, म जे धर्मी र इमान्दार छ त्यसको पक्षमा उभिन चाहन्छु ।" एक ख्रीष्टियान कुनै पनि क्षेत्रमा कुटिल हुनु हुँदैन । ख्रीष्टियानले कुनै पनि प्रकारको नाफाको लागि झुट बोल्नु वा ठगी गर्नु हुँदैन । परमेश्वरले ती मानिसहरुलाई खोज्दै हुनुहुन्छ जो सोझो उभिनेछन् ताकि उहाँले तिनीहरुलाई अझ ठूलो सेवा सुम्पन सकून् ।