के तपाईंले उहाँको शक्तिको महानता देख्नुभएको छ जुन उहाँले हामीमा प्रकट गर्न सक्नुहुन्छ ? यस ब्रम्हाण्डमा परमेश्वरले प्रकट गर्नुभएको सबैभन्दा ठूलो शक्ति सृष्टिमा थिएन, तर येशूको पुनरुत्थानमा थियो (एफिसी १ः२०) ।
ब्रम्हाण्डमा हाम्रो वरिपरि हामीले जे देख्छौं त्यो पहिलो सृष्टि हो । येशूको पुनरुत्थानमा, दोस्रो सृष्टि, नयाँ सृष्टि सुरु भयो । नयाँ सृष्टि पुरानो भन्दा धेरै शक्तिशाली छ । तपाईंले यूहन्ना २० मा पढ्नु भएको कुरा उत्पत्ति १ मा पढ्नुभएको भन्दा बढी शक्तिशाली छ । ख्रीष्टको पुनरुत्थान यस ब्रम्हाण्डमा देखिएको शक्तिको सबैभन्दा ठूलो प्रकटिकरण थियो । भौतिक शक्ति भन्दा नैतिक शक्ति ठूलो हुन्छ ।
पावलले प्रार्थना गर्छन् कि परमेश्वरले हामीले त्यो शक्ति अनुभव गरेको चाहनुहुन्छ भन्ने तथ्यको बारेमा हामीलाई प्रकाश मिलोस् । उहाँ चाहनुहुन्छ कि हामीले पहिले हाम्रो भित्री जीवनमा त्यो शक्तिको अनुभव गरौं । पछि हामीले एक दिन हाम्रो शरीरमा पनि यो अनुभव गर्नेछौं । परमेश्वरको काम सधैं भित्रबाट सुरु हुन्छ । एक दिन हामीले हाम्रो शरीरहरुमा ख्रीष्टको पुनरुत्थानको शक्ति अनुभव गर्नेछौं । आज, परमेश्वरले चाहनुहुन्छ कि हामीले हाम्रो आत्मामा त्यो पुनरुत्थानको शक्ति अनुभव गरौं । पुनरुत्थानको शक्ति एक यस्तो शक्ति हो जसले हामीलाई आत्मिक मृत्युबाट माथि उठाउनेछ । पापको व्यवस्थाले हामीलाई आत्मिक मृत्युमा पुर्याउँछ । पुनरुत्थानको शक्तिले हामीलाई त्यसको विरुद्धमा उठाउँछ ।
हामीलाई पापको व्यवस्थाबाट माथि उठाउने पुनरुत्थानको शक्ति गुरुत्वाकर्षणको व्यवस्था विरुद्ध पुस्तक (जसले यसलाई तल तान्न खोज्छ) माथि उठाउनु जस्तै हो । पुनरुत्थानको शक्तिले हामीलाई स्वर्गीय स्थानहरुमा उचाल्छ । एफिसी २ः१-६ मा हामी पढ्छौं कि जब हामी हाम्रा पापहरुमा मरेका थियौं, यो शक्तिले नै हामीलाई उठायो र स्वर्गीय स्थानहरुमा ख्रीष्टसँगै बसाल्यो (एफिसी २ः६) । कसैलाई यो काल्पनिक, चित्र भाषा लाग्न सक्छ । तर यो होइन । यो वास्तवमा सत्य हो । यदि तपाईंले यो सत्य हो भनेर विश्वास गर्नुहुन्न भने, तपाईंले यसको कुनै पनि फाइदा कहिल्यै पाउनुहुने छैन - किनकि हामीले हाम्रो विश्वासको नाप अनुसार पाउँछौं । परमेश्वर सत्य र हरेक मानिस झूटो ठहरिएको होस् । हाम्रा सबै भावनाहरु भ्रामक छन् । हाम्रो दृष्टिले पनि हामीलाई धोका दिन सक्छ ।
दुई साना केटाहरुले सूर्यास्त हेरिरहेको कथा छ । लगभग १२ वर्षको जेठो केटोले भन्यो, "हेर, सूर्य सर्यो । विहान पूर्वमा थियो, अब पश्चिममा छ ।" मात्र ६ वर्षको कान्छो केटोले भन्यो, "होइन । तपाईंलाई याद छ बुबाले हामीलाई के भन्नुभएको थियो ? सूर्य सर्दैन । यो पृथ्वी हो जुन आफ्नो अक्षमा घुम्छ ।" जेठो केटाले भन्यो, "म जे देख्छु र महसुस गर्छु त्यसैमा विश्वास गर्छु । मैले पूर्वमा सूर्य देखेको थिएँ र अब पश्चिममा छ । अनि मलाई मेरो पैताला मुनिको जमिन घुमिरहेको महसुस भएन । यो स्थिर थियो ।" कान्छो केटोले भन्यो, "मैले बुबालाई विश्वास गर्छु ।"
को सही थियो - त्यो जसले आफ्नो बुबालाई विश्वास गथ्र्यो, कि त्यो जसले उसले देखेको र महसुस गरेको कुरामा विश्वास गथ्र्यो ? धेरै ख्रीष्टियानहरु आफूले देखेको र महसुस गरेको कुरा अनुसार जिउँदछन् । तर हाम्रा इन्द्रियहरुले हामीलाई धोका दिन सक्छन् । त्यसैले मैले मेरो स्वर्गीय पितालाई विश्वास गर्छु; र उहाँले भन्नुभएको कुरा सधैं सही हुन्छ, मैले त्यो देख्न वा महसुस गर्न नसकेता पनि ।
त्यसैले म परमेश्वरले भन्नुभएको कुरामा विश्वास गर्छु कि म बौरी उठाइएको छु र स्वर्गीय स्थानहरुमा ख्रीष्ट भित्र बसालिएको छु । मेरा भावनाहरुले के भन्छन् मलाई वास्ता छैन । मलाई थाहा छ कि मेरा भावनाहरु मेरो दृष्टि जत्तिकै भ्रामक छन् । मैले थाहा गरेको छु कि जब म मेरो स्वर्गीय पिताले भनेका कुरामा विश्वास गर्छु, मेरो जीवनमा सबै ठीकठाक हुन्छ । जब हामी हाम्रो पितालाई विश्वास गर्दैनौं, तब हामी धेरै समस्याहरुमा पर्दछौं । हामीलाई यहाँ भनिएको छ कि यो अद्भुत पुनरुत्थानको शक्ति सबै मानिसहरुलाई उपलब्ध छैन, तर विश्वास गर्नेहरुका लागि मात्र हो । यदि तपाईंले यो कुरामा विश्वास गर्नुहुन्न भने, तपाईंले यो शक्तिको अनुभव गर्नुहुने छैन । येशूले थोमालाई भन्नुभयो, "धन्य हुन् ती मानिसहरु जसले देखेका छैनन् र पनि विश्वास गर्छन्" (यूहन्ना २०ः२९) । म ती मध्ये एक हुँ ।