WFTW Body: 

येशूले हामीलाई हरेक दिन प्रार्थना गर्न सिकाउनुभयो, "हाम्रा पापहरु क्षमा गर्नुहोस् जसरी हामीले अरुलाई क्षमा गर्छौं" । के तपाईंलाई थाहा छ कि हामीले हरेक दिन क्षमाको लागि प्रार्थना गर्नुपर्छ ? हामीले येशूको प्रार्थना हरेक दिन दोहोर्याएनौं भने पनि, हामीले कम्तिमा यो कुरा स्वीकार गर्नुपर्छ कि हामीले दिनहुँ क्षमाको लागि प्रार्थना गर्नुपर्छ । म हरेक दिन प्रार्थना गर्छु, "हे प्रभु, मेरा पापहरु क्षमा गर्नुहोस् ।" हामीलाई कसरी थाहा हुन्छ कि क्षमा हामीलाई दैनिक रुपमा चाहिने कुरा हो ? किनभने प्रार्थनाको पहिलो पङ्ति हो, "हामीलाई आज हाम्रो दैनिक रोटी दिनुहोस्" (मत्ती ६ः११) । त्यसैले, यो दैनिक कुरा हो । प्रभु, मलाई आज मेरो दैनिक रोटी चाहिन्छ, र मेरो अर्को अनुरोध छ कि तपाईंले आज मेरा पापहरु पनि क्षमा गर्नुहोस् ।

तपाईंले सोध्नुहोला, "तपाईं कसरी पाप माथि विजय हासिल गरेको दाबी गर्न सक्नुहुन्छ, तर म पनि हरेक दिन पाप गर्छु भनेर भन्न सक्नुहुन्छ ?" ज्ञात पापमाथि विजय प्राप्त गर्नु र हामीलाई थाहा नभएका क्षेत्रहरुमा अनजानमा पाप गर्नुमा भिन्नता छ । हामी वास्तवमा हाम्रो जीवनको लगभग दश प्रतिशत मात्र जानकार छौं । जसरी हामी हिमशिलाको टुप्पो मात्र देख्न सक्छौं, त्यसरी नै हामी हाम्रो जीवनमा पापको माथिल्लो भाग मात्रै देख्न सक्छौं । हाम्रो जीवनमा धेरै क्षेत्रहरु छन् जहाँ हामी पाप र ख्रीष्ट-प्रतिरुपता बारे अनभिज्ञ छौं । ती क्षेत्रहरुमा पनि परमेश्वरले हामीलाई क्षमा गरुन् भनेर हामीले प्रार्थना गर्नुपर्छ ।

हरेक दिन क्षमा माग्नुको अर्थ यही हो । हामी प्रेरित पावलले जस्तै सचेत पापमाथि पूर्ण विजय हासिल गरेर बाँच्न सक्छौं । १ कोरिन्थी ४ः४ मा, पावल भन्छन्, "मलाई मेरो आफ्नै बिरुद्धमा केही छ भनेर थाहा छैन ।" अर्को शब्दमा पावल भन्दैछन्, "म सबै ज्ञात पाप माथि विजय हासिल गर्दै बाँचिरहेको छु । मलाई मेरो जीवनमा कुनै पापको बारेमा थाहा नहुन सक्छ, तर यसको मतलब यो होइन कि म निर्दोष छु वा पूर्णरुपमा दोषबाट मुक्त छु । मलाई जाँच्ने व्यक्ति स्वयम् प्रभु हुनुहुन्छ, जसप्रति म उत्तरदायी छु । उहाँले मेरो जीवनमा धेरै क्षेत्रहरु देख्नुहुन्छ जुन म आफैैंले पनि देख्दिन । त्यसैले म निर्दोष छु भनेर लापरवाहीपूर्वक भन्न सक्दिन । मैले परमेश्वरसँग माफी माग्नुपर्छ । म पहिले सचेत नभएको क्षेत्रहरुमा जब मलाई उहाँले प्रकाश दिनुहुन्छ, त्यसपछि म ती क्षेत्रहरुमा विजय प्राप्त गर्नसक्छु ।" यो पवित्रीकरण हो ।

प्रभुले हामीलाई एउटा सरल आज्ञा दिनुहुन्छ, "मेरो पछि लाग ।" त्यसपछि प्रभुले हामीलाई प्रगतिशील पवित्रीकरणको अद्भुत जीवनको बाटो देखाउनुहुन्छ । हितोपदेश ४ः१८ ले भन्छ, "धर्मीको बाटो बिहानको उज्यालो जस्तै हो जुन पूरा दिन नअस्ताउन्जेल झन् झन् चम्किलो हुँदै जान्छ ।" यदि हामी नयाँगरी जन्मिएका हौं भने, हामी धर्मी घोषित भएका हौं किनभने ख्रीष्टको धार्मिकता हामीलाई दिइएको छ । परिवर्तनको क्षण भनेको बिहानको समयमा क्षितिजमाथि उदाएको सूर्यजस्तै हो, जसले अन्धकारलाई भगाउँछ । सूर्य विस्तारै आकाशमा उदाउँदै चहकिलो हुँदै जान्छ जबसम्म यो दिउँसोको सबैभन्दा चहकिलो स्थितिमा आउँदैन । त्यसैगरी, यदि हामी धर्मी हौं भने, हामीले दिन प्रतिदिन व्यावहारिक धार्मिकतामा अझ बढी प्रगति गर्नुपर्छ । हाम्रो जीवनभर सूर्य क्षितिजमा रहनु हुँदैन । यसको चमक बढ्दै जानुपर्छ । धर्मीहरुको बाटो बिहानीको चम्किलो ज्योति जस्तै हो जुन ख्रीष्टको पुनरागमन नभएसम्म उज्यालो र उज्यालो हुँदै जान्छ । त्यसपछि हामी उहाँ जस्तै हुनेछौं ।

उहाँ आउनुहुँदा मात्र हामी पूर्ण रुपमा उहाँ जस्तै हुनेछौं, तर आज हामी उहाँ जस्तै हिँड्न सक्छौं । १ यूहन्ना ३ः२ ले भन्छ, "प्रिय हो, अब हामी परमेश्वरका सन्तान हौं, र हामी के हुनेछौं भनेर अहिलेसम्म प्रकट भएको छैन । हामीलाई थाहा छ कि जब उहाँ देखा पर्नुहुन्छ, हामी उहाँ जस्तै हुनेछौं, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौं ।" १ यूहन्ना ३ः२ मा बनाइएको भिन्नतालाई ध्यान दिनुहोस् । हामी पहिले नै परमेश्वरका सन्तान हौं, तर हामी के हुनेछौं भन्ने कुरा अझै प्रकट भएको छैन । हामी कस्तो हुनेछौं ? हामी पूर्ण रुपमा येशू जस्तै हुनेछौं । हाम्रो सम्पूर्ण व्यक्तित्व येशू जस्तै हुनेछ, जसमा हाम्रा सबै बिचार, शब्द, कर्म, मनोवृत्ति, मनसाय, हाम्रो भित्री जीवनको हरेक क्षेत्र र हाम्रो अवचेतन जीवन समावेश छ ।

अनि यो कहिले हुनेछ ? जब उहाँ फेरि आउनुहुन्छ, र हामीले उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्छौं । तर त्यो दिन नआउन्जेल हामीले के गर्नुपर्छ ? १ यूहन्ना ३ः३ ले भन्छ कि यदि तपाईंसँग यो आशा छ कि एक दिन तपाईं पूर्णरुपमा येशू जस्तै हुनुहुनेछ भने, तपाईंले उहाँको शुद्धताको स्तरमा नपुगुन्जेल आफूलाई हरेक दिन शुद्ध गरिरहनुहुनेछ । यो अलि अगाडि लेखिएको १ यूहन्ना २ः६ सँग मिल्दोजुल्दो छ, जसले भन्छ कि यदि म ख्रीष्टियान हुँ भने, म ख्रीष्टले जस्तै जिउनुपर्छ र उहाँ हिँड्नुभएको जस्तै हिँड्नुपर्छ । अनि एक दिन, म उहाँ जस्तै हुनेछु ।

१ यूहन्ना २ः६ र १ यूहन्ना ३ः२ मा भिन्नता छ । १ यूहन्ना २ः६ को सन्देशको अर्थ हो कि हामीले पनि येशूले आफ्नो पार्थिव जीवनमा जिउनुभएका सिद्धान्तहरु अनुसार हिँड्नु र उहाँलाई पछ्याउनु आवश्यक छ । हामीलेभौतिकचीजहरु,पुरुष,महिला,फरिसीहरु,धार्मिकपाखण्डीहरु,शत्रुहरुप्रतियेशूकोजस्तैदृष्टिकोणराख्नुपर्छ उदारणको लागि, येशूले उहाँलाई कु्रसमा टाँग्ने शत्रुहरुका लागि प्रार्थना गर्नुभयो, "हे पिता, तिनीहरुलाई क्षमा गर्नुहोस् किनकि तिनीहरु के गर्दैछन् भनेर जान्दैनन् ।"

पवित्र आत्माले हामीलाई येशू जस्तै हिँड्न सक्षम बनाउनुहुनेछ, तर यो हाम्रो सचेत जीवनमा मात्र हुनेछ, जुन हाम्रो पूर्ण जीवनको दश प्रतिशत मात्र हो । बाँकी नब्बे प्रतिशत लुकेको हुन्छ । परमेश्वरले हामीलाई त्यो लुकेको क्षेत्र अझ बढी प्रकट गरिदिनुहुनेछ ताकि हामी ती क्षेत्रहरुमा विजयी हुन सकौं र आफूलाई बढ्दो क्रममा शुद्ध पार्न सकौं । परमेश्वरले हामीलाई पापबाट शुद्ध पार्नुहुन्छ (१ यूहन्ना १ः७), तर हामीले पवित्र आत्माको शक्तिद्वारा पापबाट छुटकारा पाएर आफूलाई शुद्ध पार्ने प्रयास पनि गर्नुपर्छ (१ यूहन्ना ३ः३) ।