ख्रीष्ट फर्कनु भन्दा पहिले, राज्यको यो सुसमाचार घोषणा हुनेछ जुन सारा संसारमा पुग्नेछ (मत्ती २४ः१४) ।
राज्यको सुसमाचार के हो ? रोमी १४ः१७ ले स्पष्ट रुपमा सिकाउँछ कि यो पवित्र आत्मामा धार्मिकता, पवित्र आत्मामा शान्ति र पवित्र आत्मामा आनन्दको सुसमाचार हो । यसको घोषणा गर्नेहरु धेरै कम छन् । धेरै जसो मानिसहरुले पापहरुको क्षमाको घोषणा मात्र गरिरहेका छन्, जुन धेरै असल पहिलो कदम हो ।
मेरो लागि यो कप सफा गर्नु जस्तै हो । यदि मेरो सानो छोराले मकहाँ आएर मलाई भन्छ "बुबा, के तपाईं मलाई एक गिलास दूध दिनसक्नुहुन्छ ?", र उसले मलाई फोहोर कप (हाम्रो हृदयको तस्वीर) दिन्छ भने, म पहिले कप सफा गर्छु । म त्यो फोहोर कपमा दूध खन्याउँदिन । म त्यो कप लिनेछु र राम्ररी सफा गर्नेछु । तर त्यसपछि, त्यसको उद्देश्य के हो ? म उसलाई खाली कप दिन्न ! म त्यसमा दूध भर्छु र त्यसपछि त्यो उसलाई दिन्छु ।
त्यसैगरी, जब हामी ख्रीष्टकहाँ आउँदछौं, उहाँले गर्नुहुने पहिलो काम भनेको हाम्रो हृदय सफा गर्नु हो, जस्तै कप भित्रको भाग सफा गर्नु । तर के उहाँले त्यसलाई त्यसरी नै छोड्नुहुन्छ ? होइन ! उहाँले यसलाई पवित्र आत्मा मार्फत परमेश्वरको धार्मिकता, परमेश्वरको शान्ति, र परमेश्वरको आनन्दले भर्नुहुन्छ । यही नै सुसमाचार हो । यदि हामीले ख्रीष्टले हृदय सफा गर्नुहुनेछ र कप सफा गर्नुहुनेछ भन्ने सत्य मात्र प्रस्तुत गर्यौं भने, हामीले मानिसहरुलाई खाली कप दिइरहेका हुन्छौं, र त्यसैले धेरै ख्रीष्टियानहरु तिर्खाएका छन् । तिनीहरु सन्तुष्ट छैनन् किनभने तिनीहरु खाली कप लिएर हिंडिरहेका छन् जुन वास्तवमा सफा हुन सक्छ, तर त्यो खाली छ । मेरो छोरोलाई खाली कप दिँदै "छोरा, तिमीले मलाई फोहोर कप दियौ, यो यहाँ छ, सफा" भन्नुको के अर्थ ? यदि परमेश्वरले हामीलाई त्यति मात्र दिनुहुन्छ भने, यो निराशाजनक हुनेछ । मेरो छोराले भन्नेथियो, "हे बुबा, मलाई अलिकति दूध चाहियो ।"
के तपाईं धार्मिकताको लागि भोकाउने र तिर्खाउने गर्नुहुन्छ ? समस्या यो हो कि धेरै ख्रीष्टियानहरु धार्मिकताको लागि भोकाएका र तिर्खाएका हुँदैनन्, र त्यसैले तिनीहरु सफा खाली कप लिएर हिंड्छन् । पुरानो करार र नयाँ करार बीचको भिन्नतालाई यसरी चित्रण गर्न सकिन्छः पुरानो करारका विश्वासीलाई दिइएको पवित्र आत्माको वरदान, जसले परमेश्वरको राज्यलाई पृथ्वीमा ल्याउँछ, त्यो टेबलमा घोप्ट्याएर राखिएको कप जस्तै हो । अनि तपाईंले कपमा जगबाट पानी खन्याउनुहुन्छ । यो पवित्र आत्माको खन्याइको तस्वीर हो । पुरानो नियमको समयमा त्यो यस्तै थियो । पानी बग्यो; पवित्र आत्मा मानिसहरु माथि हुनुहुन्थ्यो र तिनीहरुको वरिपरि बग्नुहुन्थ्यो र सम्भवतः हजारौं र लाखौं मानिसहरुलाई आशिष् दिनुभयो । उजाडस्थानमा परमेश्वरको अभिषिक्त सेवक मोशाले नेतृत्व गरेको २० लाख मानिसहरु थिए । तर मोशाको भित्री हृदय फोहोर थियो । उसले रिसलाई जित्न सकेन । उसको रिसको बावजुद, उसबाट भीडलाई आशिर्वाद दिन आशिष् बग्यो ।
पुरानो नियममा दाऊद, शिमशोन, गिदोन र अन्य धेरै मानिसहरु सँग पनि त्यस्तै भएको थियो । परमेश्वरको आत्मा तिनीहरु माथि हुनुहुन्थ्यो । आमाको गर्भदेखि नै परमेश्वरको आत्मा भएका महान् बप्तिष्मा दिने यूहन्नालाई पनि कैदमा परेको बेलामा ख्रीष्टको बारेमा शंका लागेको थियो । स्वर्गबाट आवाज सुनेको भए तापनि, उनले के येशू साँच्चै मसीह हुनुहुन्छ भनी प्रश्न गरे । उसलाई अविश्वास थियो किनकि उसको कपको भित्री भाग विश्वासले भरिएको थिएन । तर पेन्तिकोसको दिनमा, प्रभुले यो कपलाई ठीक सुल्टो राख्नुभयो र पवित्र आत्मा कप भित्र खन्याउनुभयो, जुन हृदय हो । तब यो पुरानो नियममा जस्तै मानिसहरुलाई भरिभराउ र आशिष् दिने मात्र थिएन, तर नयाँ नियममा त्योभन्दा पनि धेरै बढी थियो । यो भित्री अस्तित्वबाट हुनेछ । त्यो हामी भित्रबाट बग्ने परमेश्वरको राज्य हो । यो त्यही राज्य हो जुन येशूले पेन्तिकोसको दिनमा आउनेछ भनेर अगमवाणी गर्नुभएको थियो । यसैले यरुशलेममा भएको महान् चाडको अन्तिम दिनमा येशूले भन्नुभयो, "धर्मशास्त्रले भनेझैं, 'उसको भित्री आत्माबाट जीवित पानीका खोलाहरु बग्नेछन्'" (यूहन्ना ७ः३८) । पेन्तिकोसको दिन अघि त्यो हुने थिएन र हुन पनि सक्दैन । यसैले यूहन्ना ७ः३९ मा भनिएको छ, "यो उहाँले पवित्र आत्माको बारेमा भन्नुभएको थियो, जसलाई उहाँमा विश्वास गर्नेले प्राप्त गर्नुपर्ने थियो; किनकि पवित्र आत्मा अझै दिइएको थिएन," यसको अर्थ त्यसरी दिइएको थिएन, "किनभने येशू अझै महिमित हुनुभएको थिएन ।"
ख्रीष्ट मर्नुपर्ने थियो र फेरि बौरी उठ्नुपर्ने थियो र पिताको सामु आफ्नो रगत प्रस्तुत गर्नुपर्ने थियो । तब मात्र, मानिसहरुको हृदय शुद्ध हुनसक्थ्यो । साँढे र बोकाको रगतले मानिसहरुको हृदय कहिल्यै शुद्ध पार्न सक्दैन, र त्यसैले परमेश्वरले मानिसहरु भित्र पवित्र आत्मा राख्न सक्नुभएन । पुरानो नियमको समयमा परमेश्वरको राज्य मानिसहरु भित्र आउन सक्दैनथ्यो । तर अब ख्रीष्टले आफ्नो रगत बगाउनुभएको छ र पिताकहाँ उक्लनुभएको छ, यदि हामीले प्रभुको अगाडि स्वीकार गर्यौं भने हाम्रो हरेक पाप शुद्ध हुनसक्छ ।
त्यसैले परमेश्वरले कपलाई ठीक माथितिर फर्काउनु हुन्छ र हामीलाई ख्रीष्टको रगतले शुद्ध पार्नुहुन्छ र पहिले हामी भित्र पवित्र आत्मा खन्याउनु हुन्छ, ताकि उहाँले हामीलाई परमेश्वरको इच्छा पूरा गर्न बलियो बनाउन सक्नुभएको होस् । त्यसपछि, उहाँको जीवन हामीबाट शब्दहरु र कार्यहरुमा बग्छ, ताकि हामी अरु मानिसहरुलाई पनि परमेश्वरको इच्छा पूरा गर्न डोर्याउन सकौं, जसरी यो हामीे आफैंले गरेका छौं ।
पवित्र आत्मा हाम्रो भित्री अस्तित्वबाट बग्नुहुन्छ । यदि आत्मा हाम्रो भित्री अस्तित्वबाट बग्दैन भने, त्यो पुरानो करारको सेवाको प्रकार हो ।