मत्ती ७ः६ बाट सुरु गर्दै डाँडाको उपदेशको अन्तिम अनुच्छेदहरु छन् । "कुकुरहरुलाई पवित्र चीज नदेओ, र आफ्ना मोतीहरु सुँगुरहरुको अगाडि नफाल, नत्रता तिनीहरुले ती आफ्ना खुट्टाले कुल्चनेछन् र फर्केर तिमीहरुलाई टुक्रा-टुक्रा पार्नेछन्" (मत्ती ७ः६) । येशूले हामीलाई सिकाउँदै हुनुहुन्छ कि हामी कसलाई के बोल्ने भन्ने बारेमा बुद्धिमान हुनुपर्छ । हितोपदेश २६ः४ मा, हामीलाई भनिएको छ कि हामीले मूर्खलाई उसको मूर्खता अनुसार जवाफ दिनु हुँदैन । हामीले ती मानिसहरुलाई सत्य कुरा दिनु हुँदैन जसले यसको कदर गर्दैनन् । त्यसैले मानिसहरुसँग कुरा गर्दा हामीले बुद्धि अपनाउनु आवश्यक पर्छ । हामीसँग सबैका लागि सही सन्देश हुनुपर्दैन । परमेश्वरले मलाई प्रत्येक व्यक्तिलाई के भन्न चाहनुहुन्छ भनेर सुन्न हामीले परमेश्वरलाई खोज्नु आवश्यक छ । येशू यसरी नै बाँच्नुभयो, र धर्मशास्त्रको कुनै पनि पद बुझ्ने प्रयास गर्दा हामीले येशूको उदाहरणलाई हेर्नुपर्छ ।
यशैया ५०ः४ मा प्रभु येशू ख्रीष्टको बारेमा एउटा भविष्यवाणी छ जुन वचन प्रचार गर्नेहरुका लागि धेरै उपयुक्त छ, "परमेश्वरको सन्देशको रुपमा मैले एक व्यक्तिलाई के दिनुपर्छ ?" भनेर सोच्दै मैले पहिले उसको आत्मिक अवस्था के हो भनेर बुझ्नु आवश्यक छ । यसैकारण जब म कसैको लागि परमेश्वरको वचन बोल्छु तब मलाई परमेश्वरबाट भविष्यसूचक अन्तर्दृष्टि चाहिन्छ । परमेश्वरको वचन अरुको लागि बोल्नु एक अलौकिक कुरा हो । यदि तपाईं यसलाई रसायन विज्ञान पढाउने जस्तै व्याख्यान दिने बारे मात्र सोच्नुहुन्छ भने, तपाईं जुनुसकै बेला जो कोहीलाई पनि बाइबल सिकाउन सक्नुहुन्छ । तर यदि तपाईं व्यक्तिको आत्मिक स्तर अनुसार परमेश्वरको वचनको सेवा गर्न चाहनुहुन्छ भने, तपाईंसँग अलौकिक अन्तर्दृष्टि हुनुपर्छ जुन केवल परमेश्वरले दिन सक्नुहुन्छ । यशैया ५०ः४ ले भन्छ (यसले ख्रीष्टलाई जनाउँदछ), "परमप्रभु परमेश्वर, पिताले मलाई चेलाको जिब्रो दिनुभएको छ, ताकि म थाकेकालाई वचनले कसरी सम्हाल्ने भनेर जान्न सकूँ ।" अर्को शब्दमा, "मेरो बाटोमा आउने थकित व्यक्तिलाई सही वचन दिनको लागि, परमेश्वर मेरा पिताले मलाई हरेक बिहान उठाउनुहुन्छ, र चेलाको रुपमा सुन्नको लागि उहाँले मेरो कानलाई तयार पारिदिनुहुन्छ ।" येशूले यहाँ भनिरहनुभएको छ कि उहाँ हरेक दिन सुन्नुहुनेछ, र उहाँ निरन्तर सुन्नुहुनेछ ताकि उहाँकहाँ आउने मानिसहरुलाई उपयुक्त वचन दिन सकियोस् ।
यसको एउटा उदाहरण यूहन्ना ८ मा छ । हामी फरिसीहरुले व्यभिचारमा पक्राउ परेकी एउटी स्त्रीलाई येशूकहाँ ल्याएर पुरानो नियमको धर्मशास्त्र उद्धृत गरेको पाउँछौं, जहाँ स्पष्ट रुपमा भनिएको थियो कि उसलाई ढुङ्गाले हानेर मार्नुपर्छ । येशू त्यसमा असहमत हुनुभएन किनभने उहाँलाई पुरानो नियमको धर्मशास्त्र थाहा थियो । उहाँले सयौं वर्ष पहिले मोशालाई ती धर्मशास्त्रहरु आफैंले दिनुभएको थियो ! त्यसोभए उहाँले के गर्नुभयो ? यसले भन्छ कि येशूले जवाफ दिनुभएन । तिनीहरुले त्यस स्त्रीलाई आरोप लगाइरहे, र येशूले निहुरिएर आफ्नो औंलाले भुइँमा लेख्न थाल्नुभयो (यूहन्ना ८ः६) । उहाँ पिताबाट स्पष्ट वचनको प्रतीक्षामा हुनुहुन्थ्यो । "म यी मानिसहरुलाई के भनौं ? यो गरिब स्त्रीलाई ढुङ्गाले हान्न चाहने यी मानिसहरुलाई दिनको लागि उपयुक्त शब्द के हो ?" उहाँले धर्मशास्त्रको विरोध गर्नुभएन, किनभने उहाँ आफैंले मोशालाई दिनुभएको धर्मशास्त्रले उनलाई ढुङ्गाले हान्नु भन्थ्यो । जब उहाँलाई उहाँको पिताबाट वचन मिल्यो, उहाँ सिधा हुनुभयो र तिनीहरुलाई भन्नुभयो (यूहन्ना ८ः७ को वाक्यांश), "तिमीहरुमध्ये जो पापरहित छ, त्यसले पहिले ढुङ्गाले हानोस् । अगाडि बढ, व्यवस्था अनुसार तिमीहरुले यस स्त्रीलाई ढुङ्गा हान्न सक्छौ, तर पापरहितले मात्र पहिलो ढुङ्गा हान्नसक्छ ।" अनि यसले भन्छ कि तिनीहरु सबै जेठोबाट सुरु गरेर कान्छोसम्मै गए, किनभने जेठोले सबैभन्दा धेरै पाप गरेको थियो ।
परिस्थिति सम्हाल्न एउटा शब्द नै पर्याप्त थियो ! पुरै उपदेश दिनु परेन । अरु बेला पनि येशूले केही भन्नुभएन । उदाहरणका लागि, एक पटक कसैले उहाँलाई प्रश्न सोध्दा उहाँले जवाफमा भन्नुभयो, "पहिले म तपाईंलाई एउटा प्रश्न सोध्छुः यूहन्नाको बप्तिस्मा स्वर्गबाट थियो कि मानिसहरुबाट ?" अनि तिनीहरुले आपसमा बहस गर्न थाले, "यदि हामीले यो 'मानिसहरुबाट' भन्यौं भने मानिसहरु चिढिनेछन् किनभने तिनीहरुले यूहन्नालाई अगमवक्ता मान्थे, र यदि हामीले 'स्वर्गबाट भएको थियो' भनी भन्यौं भने, येशूले हामीलाई सोध्नुहुनेछ 'तिमीहरुले त्यसबेला किन विश्वास गरेनौं?'" त्यसैले तिनीहरुलाई कसरी जवाफ दिने भन्ने थाहा भएन र तिनीहरुले भने, "हामीलाई थाहा छैन । हामी भन्ने छैनौं ।" त्यसैले येशूले भन्नुभयो, "ठीक छ, म पनि तिमीहरुको प्रश्नको जवाफ दिने छैन" (मत्ती २१ः२७) ।
सबैसँग व्यवहार गर्नको लागि येशूसँग कुनै सटिक तरिका थिएन । कहिलेकाहीं मानिसहरु उहाँकहाँ आउँथे र उहाँलाई मूर्ख प्रश्न सोध्थे, जस्तै, "एक जना मानिस मरे र उनकी श्रीमतीको विवाह उसको भाइसँग भयो, र त्यस्तै उनका अरु सात भाइहरुसँग पनि भयो । पुनरुत्थानमा उनको पति को हुनेछ ?" येशूले तिनीहरुलाई जवाफ दिनुभयो; उहाँ यत्तिकै पर जानुभएन । उहाँले तिनीहरुलाई पुनरुत्थानमा विवाह हुँदैन भनेर व्याख्या गर्नलाई समय निकाल्नुभयो । यदि तपाईंले येशूले दिनुभएका जवाफहरु हेर्नुभयो भने, "यसको जवाफ के हो ?" भनी तपाईंले कम्प्युटर प्रोग्राममा हेर्दा पाइने जस्तो निश्चित उत्तर त्यो थिएन । उहाँ सधैं पवित्र आत्माको कुरा सुनिरहनुहुन्थ्यो, र यो एउटा धेरै महत्वपूर्ण सिद्धान्त हो जुन हामीले मत्ती ७ः६ बाट सिक्नुपर्छ ।
धेरै पटक, हामीले कुनै विशेष व्यक्तिको लागि उपयुक्त शब्द के हो भनेर जान्नु आवश्यक हुन्छ । सबै सेवकाईमा मानिसहरुलाई दिनको लागि ठ्याक्कै मिल्ने शब्द जान्नु धेरै महत्वपूर्ण छ । नयाँ नियमले १ कोरिन्थी १४ः१ मा किन भन्छ कि हामीले भविष्यवाणी गर्ने इच्छा गर्नुपर्छ ? प्रत्येक विश्वासीलाई भनिएको छ कि उसले भविष्यवाणी गर्ने तीव्र इच्छा गर्नुपर्छ । कारण यो हो कि नयाँ नियमको मण्डली सभामा, यदि सबैले भविष्यवाणी गर्छन्, र सबैसँग भविष्यवाणीको वरदान छ (सबै अगमवक्ता होइनन् तर सबैले भविष्यवाणी गर्न सक्छन्), तब यसले भन्छ कि जब कोही आउँछ जो एक वरदान नपाएको मानिस हो, जसले सम्भवतः यी वरदानहरुमा विश्वास गर्दैन, उसले सुनेको कुराबाट उसलाई दोषी महसुस हुन्छ र उसको हृदयको रहस्य प्रकट हुन्छ किनभने उसले उसको आवश्यकता अनुसारको वचन सुनेको छ (१ कोरिन्थी १४ः२४-२५) । त्यसपछि ऊ घोप्टो परेर परमेश्वरको आराधना गर्नेछ, "केटा! परमेश्वर पक्कै पनि यहाँ हुनुहुन्छ, किनकि मैले मेरो आवश्यकता अनुसारको वचन पाएको छु !"
प्रत्येक मण्डलीको बैठक यस्तै हुनुपर्छ । प्रत्येक मण्डलीमा भविष्यका कुराहरुलाई अगमवाणी गर्ने मानिसहरु हुनुपर्छ । तपाईंले परमेश्वरमा पर्खनु पर्छ, र त्यसो गर्न तपाईंले सबै कुरा उहाँमा समर्पण गर्नुपर्छ । र यदि तपाईंले त्यसो गरिरहनुभएको छैन भने, तपाईं परमेश्वरको वचनको प्रचारक हुन योग्य हुनुहुन्न । तपाईंलाई कुनै व्यक्तिलाई के दिनु उचित छ भनेर ठ्याक्कै थाहा हुनुपर्छ । मत्ती ७ः६ मा येशूले भन्नुभएको कुराको सार यही हो । जब तपाईं कसैलाई सुँगुर जस्तो देख्नुहुन्छ, उसलाई सुँगुरको लागि उपयुक्त हुने कुरा दिनुहोस्; जब तपाईं कसैलाई कुकुर जस्तो देख्नुहुन्छ, उसलाई हड्डी दिनुहोस् । तपाईं जनावरहरुलाई डाँडाको उपदेश दिन सक्नुहुन्न ।
हामीले भविष्यवाणीको वरदान खोज्दै गर्दा, हामी बोल्न उठ्ने बित्तिकै परमेश्वरले हामीलाई हाम्रो अगाडि भएका मानिसहरुको आवश्यकता के हो भनेर बुझ्न सक्ने क्षमता दिनुहुन्छ, र परमेश्वरले हामीलाई तिनीहरुको आवश्यकताको लागि वचन दिनुहुनेछ । यो एउटा धेरै महत्वपूर्ण सिद्धान्त हो जसको साथ येशूले डाँडामाथिको उपदेश समाप्त गर्नुहुन्छ र यो बुझ्न हाम्रो लागि धेरै महत्वपूर्ण छ, विशेष गरी हामीमध्ये जसलाई परमेश्वरको वचन प्रचार गर्न बोलाइएको छ, चाहे त्यो अविश्वासीहरुलाई होस् वा विश्वासीहरुलाई होस् । हामी कसैलाई पनि तुच्छ ठान्दैनौं । यदि तपाईंले कसैलाई तुच्छ ठान्नुभयो भने, तपाईं परमेश्वरको सेवक हुन योग्य हुनुहुन्न । येशूले सबैभन्दा खराब पापीहरुलाई पनि तुच्छ ठान्नुभएन । तर हामीसँग मानिसहरुको आवश्यकता अनुसार उपयुक्त वचन हुनुपर्छ । त्यो नै मत्ती ७ः६ को मुख्य कुरा हो ।