WFTW Body: 

प्रस्थान अध्याय १५ इस्राएलीहरुले परमेश्वरको प्रशंसा गर्दैगरेकोबाट सुरु हुन्छ र उहाँको विरुद्धमा गनगन गरेकोमा समाप्त हुन्छ । यो ढाँचा इस्राएलीहरुले उजाडस्थानमा बारम्बार दोहोर्‍याए । "साइन वेभ" (गणितमा) जुन सधैं माथि र तल जान्छ, आफूले पाएको कुरा पाउँदा परमेश्वरको प्रशंसा गर्ने, केही गडबड हुँदा गुनासो गर्ने, त्यो समस्याबाट पार पाइसकेपछि फेरि परमेश्वरलाई धन्यवाद दिने, र त्यसपछि अर्को समस्या आउँदा फेरि शंका गर्ने धेरैजसो विश्वासीहरुको जीवनको उत्तम वर्णन हो । यो हुन्छ किनभने धेरैजसो विश्वासीहरु विश्वासले होइन, देखेर जिउँछन् - ठ्याक्कै इस्राएलीहरु जस्तै । आइतबार विहान तिनीहरु आफ्नो सभामा (कहिलेकाहिँ अन्य भाषाहरुमा) ठूलो स्वरमा परमेश्वरको प्रशंसा गर्छन् । तर आइतबार दिउँसो देखि उनीहरुको बोली फरक हुन्छ, यस पटक तिनीहरुको मातृभाषामा । यो रिस, गनगन र गुनासो हो - तिनीहरुको घर र कार्यालय दुबैमा !! त्यसपछि अर्को आइतबार साइन वेभ फेरि माथि जान्छ र तिनीहरुले परमेश्वरको प्रशंसा गर्न थाल्छन् ।

त्यसपछि, तरंग फेरि तल झर्छ ! यो निश्चय नै परमेश्वरले आफ्ना नयाँ करारका सन्तानहरुका निम्ति तय गर्नु भएको बाँच्ने तरिका थिएन । अन्य भाषामा बोल्ने वरदान दिनुहुने पवित्र आत्माले उसको आफ्नो मातृभाषामा बोल्ने कुरालाई पनि नियन्त्रण गर्न सक्नुहुन्न र ? उहाँले अवश्य पनि सक्नुहुन्छ । बाइबलले भन्छ, "प्रभुमा सधैं आनन्द गर । सबै कुरामा धन्यवाद देओ" (फिलिप्पी ४ः४; एफिसी ५ः२०) ।

नयाँ करारमा, हाम्रो निम्ति परमेश्वरको इच्छा सधैं यही हो । र त्यो आज्ञा पालन गर्नको लागि हामीलाई मद्दत गर्न पवित्र आत्मा दिइएको छ । हामी विश्वासद्वारा जिउनु पर्छ - हामीले सामना गर्ने हरेक समस्याको समाधान परमेश्वरले पहिले नै योजना बनाउनुभएको छ भनेर विश्वास गर्दै ।

जब इस्राएलीहरुले मोशालाई गनगन गरे, उनले परमप्रभुलाई पुकारे, र परमप्रभुले भन्नुभयो, "समस्याको समाधान त्यहीं छ - तिम्रो अगाडि" (प्रस्थान १५ः२५) । परमप्रभुले उनलाई एउटा रुख देखाउनुभयो । मोशाले त्यो रुख काटेर पानीमा हाले, र पानी मीठो भयो ।

उजाडस्थानमा त्यो रुख कसले रोपेको थियो ? के त्यो कुनै मानिस थियो कि परमेश्वर ? निस्सन्देह परमेश्वर ! मानिसहरुले उजाडस्थानमा रुख रोप्दैनन् । परमेश्वरले धेरै वर्ष पहिले त्यो रुख मारा नजिकै रोप्नुभएको थियो, किनकि उहाँलाई थाहा थियो कि धेरै वर्ष पछि उहाँका सन्तानहरु मारामा आउनेछन् र यसको पानी तीतो पाउनेछन् । त्यसैले उहाँले वास्तवमा धेरै वर्ष पहिले नै उनीहरुको समस्याको समाधानको योजना बनाउनुभएको थियो । के तपाईंले महसुस गर्नुहुन्छ कि उही परमेश्वरले तपाईंका सबै समस्याहरुको समाधानको योजना बनाउनुभएको छ, तपाईंले ती समस्याहरुको सामना गर्नुभन्दा धेरै वर्ष अघि नै ?

विश्वासद्वारा जिउनु भनेको यो विश्वास गर्नु हो । आज अचानक कुनै पनि समस्या आएर परमेश्वरलाई अचम्मित पार्न सक्दैन । शैतानले हाम्रो लागि कस्ता समस्याहरु तयार पारिरहेको छ भन्ने कुरा परमेश्वरलाई पहिले नै थाहा छ, उहाँले ती सबैको समाधान पनि पहिले नै तयार गर्नुभएको छ । त्यसैले तपाईंले साहसपूर्वक हरेक समस्याको सामना गर्न सक्नुहुन्छ ।

६६ वर्षको विश्वासी जीवनमा असंख्य समस्याहरुको सामना गरेपश्चात्, म यसको सत्यताको गवाही दिन सक्छु । मैले अहिलेसम्म कुनै त्यस्तो समस्याको सामना गरेको छैन जसको समाधानको योजना परमेश्वरले बनाउनुभएको थिएन । म मेरो जीवनमा मारामा आउनुभन्दा धेरै वर्ष अगाडि नै उहाँले रुखहरुको लागि बीउ रोप्नुभएको थियो - ताकि पानी मेरो लागि मीठो होस् । हाम्रो अद्भुत, प्रेमिलो पितामाथि विश्वास गरेर हिंड्न म तपाईंलाई पनि आग्रह गर्दछु, जसले सधैं, "प्रेममा हाम्रो लागि चुपचाप योजना बनाइरहनुभएको छ" (सपन्याह ३ः१७ सारांश) - र तपाईंले आफ्ना सबै समस्याहरुलाई निरन्तर पार गर्नसक्नुहुन्छ । फेरि कहिल्यै पनि तपाईंको मुखमा गुनासो, गनगन र रिस पाइने छैन, तर केवल परमेश्वरको प्रशंसा र धन्यवाद मात्र । आमेन ।