परमप्रभुको भय नै ज्ञानको सुरुवात हो; मूर्खहरुले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छन् । (हितोपदेश १ः७)
यो पहिलो हितोपदेश हो । यो पहिलो हितोपदेश हुनुमा धेरै महत्वपूर्ण छ । जब यसले ज्ञानको सुरुवात भन्छ, हामी भन्नसक्छौं कि यसले जगलाई इंगित गर्दैछ । पछि हितोपदेश ९ः१० मा यसले भन्छ, "परमप्रभुको भय बुद्धिको सुरुवात हो ।" ज्ञान र बुद्धि साँच्चै एकअर्कासँग अन्तरनिहित छन्, किनकि ज्ञानको अर्थ बाइबलको ज्ञान होइन । यसको अर्थ परमेश्वरको ज्ञान हो । जब हामीले ज्ञानको बारेमा पढ्छौं, यसको अर्थ बाइबलको शैक्षिक ज्ञान होइन । किनभने शैतानसँग त्यो छ, र उसलाई प्रभुको भय छैन । त्यसैले यो स्पष्ट छ कि हितोपदेश १ः७ ले बाइबलको ज्ञानलाई जनाउँदैन । यहाँ भनिएको ज्ञान परमेश्वरको ज्ञान हो । त्यो बाइबलको ज्ञानभन्दा धेरै फरक छ ।
बाइबलको ज्ञान भएका धेरै मानिसहरुलाई परमेश्वरको बारेमा कुनै ज्ञान छैन । प्रभुको भय ज्ञानको सुरुवात हो । "अनन्त जीवन यही हो, कि तिनीहरुले तपाईं एक मात्र सत्य परमेश्वरलाई र तपाईंले पठाउनु भएको येशू ख्रीष्टलाई चिनून्" (यूहन्ना १७ः३) । परमेश्वर कस्तो हुनुहुन्छ भनेर धेरै भन्दा धेरै मात्रामा जान्नको लागि । पावलले भने कि यो उनको जीवनको धेरै ठूलो चाहना थियोः "....म उहाँलाई चिन्न सकूँ...." (फिलिप्पी ३ः१०) । यसको अर्थ, उनले परमेश्वरलाई धेरै भन्दा धेरै जान्न चाहन्थे । परमेश्वर कस्तो हुनुहुन्छ, परमेश्वरले मानिसहरुलाई कसरी हेर्नुहुन्छ, परमेश्वरले कुराहरुलाई कसरी हेर्नुहुन्छ भन्ने बारे धेरै भन्दा धेरै जान्नको लागि - त्यसपछि पावलले आफ्नो सोंचलाई त्यसरी सोंच्ने तरिकामा परिवर्तन गर्नसक्थे । यहाँ भनिएको ज्ञान यही हो ।
पहिलो हितोपदेशले हामीलाई सिकाउँछ कि परमेश्वरलाई चिन्ने पहिलो चरण भनेको उहाँको भय मान्नु हो; उहाँप्रति श्रद्धा राख्नु हो । पापलाई घृणा गर्नु र धार्मिकतालाई प्रेम गर्नु हो । त्यो हो परमेश्वरको भय मान्नु । अनि त्यसपछि हामी उहाँलाई अझै चिन्न सक्छौं । त्यसैले हामीसँग कति बुद्धि छ भन्ने प्रश्न होइन, बरु हामीसँग कति परमेश्वरको भय छ भन्ने प्रश्न हो जसले हामी आत्मिक ज्ञान र आत्मिक बुद्धिमा कति अगाडि बढ्छौं भनेर निर्धारण गर्छ ।
त्यसैले यो सुरुमै छ - जग, कुनेढुंगो, तपाईं यसलाई जे भन्न चाहनुहुन्छ - प्रभुको भय । यो दौडको सुरुवाती रेखा हो । यदि तपाईं त्यहाँ पुग्नु भएन भने, तपाईं कतै पुग्नुहुन्न । हामी यो पनि भन्नसक्छौं कि यो नै ज्ञानको सार हो । सबै ज्ञानको मुख्य भाग भनेको परमेश्वरको भय हो, र जुन दिन मैले परमेश्वरको भय गुमाउँछु, मैले परमेश्वरको बारेमा थप बुझाई वा बुद्धि पाउन सक्दिन । बुद्धि वृद्धि गर्ने तरिका भनेको परमेश्वरको भयमा वृद्धि हुनु हो । परमेश्वरको ज्ञानमा वृद्धि गर्ने तरिका भनेको प्रभुको भयमा वृद्धि हुनु हो ।
हामी यस पदबाट मूर्ख को हो भनेर पनि बुझ्छौं । जब बाइबलले मूर्खको बारेमा कुरा गर्छ, यसले गणितमा पन्ध्र प्रतिशत र विज्ञानमा दश प्रतिशत प्राप्त गर्ने व्यक्तिको बारेमा कुरा गरिरहेको होइन । यदि उसमा परमेश्वरको भय छ भने ती अंक प्राप्त गर्ने व्यक्ति धर्मशास्त्र अनुसार अझै पनि बुद्धिमान हुनसक्छ । बाइबलले मूर्खको बारेमा कुरा गर्दा आफ्नो पढाईमा खराब रहेको व्यक्तिको बारेमा कुरा गरेको होइन । यो यस्तो व्यक्तिको बारेमा कुरा गरेको हो जसमा प्रभुको भय छैन - एक व्यक्ति जो काम वासनामा महिलाको पछि लाग्न सक्छ र त्यसको लागि शोक गर्दैन, र त्यसको लागि रुँदैन । गणित र विज्ञानमा नब्बे प्रतिशत अंक ल्याउँदा पनि ऊ मूर्ख हो ! ऊ पूर्णतया मूर्ख हो, र ऊ त्यही व्यक्ति हो जसको बारेमा सोलोमनले हितोपदेशको पुस्तकमा छयसट्ठी कुराहरु लेखेका छन् । यो त्यस्तो प्रकारको व्यक्ति हो जसलाई पापको कुरा आउँदा परमेश्वरको भय हुँदैन - जब झुटो बोल्ने, झुटा बयानहरुमा हस्ताक्षर गर्ने वा अन्य सबै प्रकारको पाप गर्ने कुरा आउँछ । जो यस्ता कुराहरुको बारेमा हृदयमा विचलित हुँदैन । सोलोमनले यस्ता मूर्खहरुको बारेमा छयसट्ठी कुराहरु लेखेका छन् ।
मूर्खहरु ती हुन् जसले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छन् । तिनीहरुसँग परमेश्वरको दृष्टिकोणबाट कुराहरु हेर्ने समझ हुँदैन । हामी भन्न सक्छौं कि बुद्धि भनेको, परमेश्वरले मानिसहरु, कुराहरु र सम्पूर्ण संसारलाई जुन तरिकाले हेर्नुहुन्छ त्यही तरिकाले हेर्नु हो । म सँग जति धेरै बुद्धि छ, म मानिसहरुलाई त्यति नै धेरै परमेश्वरले हेर्ने तरिकाले हेर्छु - कोमलता, करुणा, प्रेम र शुद्धताका साथ । यदि मैले मानिसहरुलाई कोमलता, करुणा, प्रेम र शुद्धताले हेर्न सक्दिन भने, मैले बाइबलको ज्ञान जतिसुकै बढाए पनि मैले बुद्धि प्राप्त गरिरहेको छैन (जुन शैतानसँग मेरो भन्दा हरेक तवरले बढी छ) । त्यहीँ हामीले बुझ्नु पर्छ कि बाइबलले भनेको मूर्ख त्यो मूर्ख हो जसमा परमेश्वरको भय छैन, जसको जीवनमा परमेश्वरको श्रद्धा छैन, जसले पापलाई घृणा गर्दैन र जसले धार्मिकतालाई प्रेम गर्दैन ।
यो महत्वपूर्ण छ कि बुद्धिको पुस्तकले जोड दिने सबैभन्दा पहिलो कुरा भनेको परमेश्वरको भय मान्नु हो । जसको सुन्ने कान छ, उसले पवित्र आत्माले के भनिरहनुभएको छ सुनोस् ।